बच्चा अत्तालिएको र आमाबुवा छट्पटाइरहेको देख्दा एकदमै दुःख लाग्याे
कान्ति बाल अस्पतालको आइसोलेसनमा काम गर्ने नर्स के भन्छन्
बाहिरै निस्कन नदिने भन्थे डिस्चार्ज गरिहाल्नुस् भनेर ठूलो ठूलो स्वरमा कुरा गर्थे तर हामी नाजवाफ हुन्थ्यौँ
काठमाडौं, २८ चैत । कोरोना भाइरस रोगको संक्रमण बढ्ने जोखिम देखेर सरकारले देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिए अनुरुप कान्ति बाल अस्पतालले पनि आफूलाई तयारी अवस्थामा राखेको छ । बालबालिकामा कोरोनाको लक्षण देखिए विशेष गरि कान्ति बाल अस्पतालमा उपचार गरिन्छ । छुट्टाछुट्टै क्याबिनको व्यवस्था गरिएको छ । प्रत्येक आइसोलेसन कक्षभित्रै विरामीलाई आवश्यक सम्पूर्ण सुविधा सहित शौचालयको व्यवस्था छ । अस्पतालले १० वटा आइसोलेसनकाे व्यवस्था गरेको छ । हालसम्म यहाँ १४ जना कोरोना आशंकित बालबालिकाहरुको उपचार भइसकेको छ भने सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
यद्यपि रिपोर्ट नआउन्जेल कोरोना पुष्टि भएका र आशंकित बिरामी दुवैलाई उपचार गर्दा अपनाउनु पर्ने सावधानी एकै किसिमको हो । रिपोर्ट नआउन्जेल बिरामीसँगको दुरी कायम राख्नुपर्छ । १४ जना सशंकित बालबालिकाको उपचार गर्दा कान्ति बाल अस्पतालमा अग्रस्थानमा रहेर काम गर्नुभएका नर्स तथा सहयोगीको अनुभव कस्तो रह्यो ।
इन्द्रकुमारी घले, नर्सिङ इन्चार्ज
बालबालिकाको उपचार र स्याहार सुसारमा ३८ वर्ष बिताउनुभएकी नर्स इन्द्रकुमारी घलेको लागि चैत ६ गते जीवनकै तनाव र अत्यासपूर्ण दिन थियो । कोरोना उपचारका लागि तयारी अवस्थामा रहे पनि पहिलो दिन अस्पतालमा कोरोकाको शंकामा बिरामी ल्याइएपछि केहीबेर निकै तनाव भयो । पीपीईको अभावका बाबजुत बिरामीलाई ह्याण्डल गर्नुपर्ने बाध्यता थियो । चैत ६ गते ६ वर्षकी बालिकालाई कोरोना भाइरस रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि ल्याइएको थियो । ती बालिकाले विदेशबाट आएमा व्यक्तिहरुसँग भेटेकाले अभिभावकले पूर्वसावधानी स्वरुप अस्पताल ल्याएका थिए । अहिलेसम्म ल्याइएका बालबालिकाहरुलाई आइसीयू र भेन्टिलेटरमा राख्न परेन । अवस्था सामान्य र रिपोर्ट नेगेटिभ आएपछि सबैजना डिस्चार्ज भइसक्नु भएको छ ।
अञ्जना गिरी, स्टाफ नर्स
१० वर्षदेखि बिरामीको सेवामा समर्पित हुनुभएकी अञ्जना गिरीले बिरामीको उपचार गर्दा पहिलो पटक आफू नै सुरक्षित नभएको महसुस गर्नुभयो । अस्पतालमा १२ जना बालबालिकालाई कोरोनाको शंकामा अस्पताल ल्याइयो । उमेरका कारण बालबालिकालाई आइसोलेसन कक्षमा एक्लै राख्न सकिँदैन । बच्चासँग आमा वा बुवालाई राखिन्थ्यो । तर रिपोर्ट नआउञ्जेल अर्थात् २४ देखि ४८ घण्टा आइसोलेसन कक्षबाट बाहिर निकस्न नपाउँदा बालबालिकाहरु आत्तिन्थे, रुन्थे गिरीले भन्नुभयो ।
उहाँका अनुसार संक्रमण न्यूनीकरणका लागि सामाजिक दुरी कायम राख्नुपर्ने कारणले आइसोलेसन कक्षमा आकस्मिक बाहेकको अवस्थामा गइँदैनथ्यो तर अभिभावहरुले कुरा बुझ्नु हुन्नथ्यो । बिरामीसँगै डाक्टर, नर्स बस्नुपर्छ भन्दै कराउनुहुन्थ्यो । बाहिर आएर हामीसँग झगडा गर्थे । हामी कोरोना संक्रमित हो र ? बाहिरै निस्कन नदिने भन्थे डिस्चार्ज गरिहाल्नुस् भनेर ठूलो ठूलो स्वरमा कुरा गर्थे तर हामी नाजवाफ हुन्थ्यौँ, बाहिर निस्कन नपाउँदा बच्चालाई भएको इरिटेशनले अभिभावकलाई पीर हुनु त स्वभाविक हो । बच्चाहरु अत्तालिएर रुन्थे, हामी फोन गरेर सोध्थ्यौ । उच्च ज्वरो लगायत बच्चालाई अलि गाह्रो भएमा हामी पीपीइ लगाएर भित्र जाने गथ्र्याैँ । बच्चालाई औषधि खुवाउने समय भएपछि हामीले फोन मार्फत अभिभावकलाई भन्ने गथ्र्याैँ । म अस्पतालको क्वाटरमा बस्छु काम सकिएपछि अस्पतालमा लगाएको कपडा फेरेर मात्र कोठामा पस्छु ।
शिखा राई, स्टाफ नर्स
एकदमै डर लाग्यो । त्यतिबेला आवश्यक मात्रामा पीपीई पनि थिएन । हामी अवस्था हेरेर पीपीईको प्रयोग गर्ने गर्छाै । स्वास्थ्यकर्मी सुरक्षित नभए अरु सुरक्षित नहुने यथार्थलाई आत्मसात गर्दै आफू सुरक्षित हुँदै आशंकित कोरोना बालबालिकाको उपचार गर्यौ । १४ महिनादेखि १३ वर्षसम्मका १२ जना बालबालिकाको उपचार गर्यौ । डाक्टरहरुले भने अनुसार हामी अघि बढ्ने हो । डाक्टरसंग हामी नर्स तथा सहयोगी सबैको समन्वय एकदम राम्रो छ । अहिले पनि हामी तयारी अवस्थामा छौँ । तर बिरामी बच्चा र अत्तालिएको बच्चाका आमाबुवा छट्पटाइरहेको देख्दा एकदमै दुःख लाग्थ्यो ।
हामी पनि आइसोलेसनमा बारम्बार जान हुँदैनथ्यो तर उहाँहरु हामीसँग रिसाउनुहुन्थ्यो । हामी बच्चा लिएर घर जान्छौ भन्दै झगडा गर्न आउनुहुन्थ्यो । हामीले यतिसम्म गर्न पर्यो कि ढोकामा ताल्चा नै लगाउन पर्यो । भित्रै बसिरहन पर्दा बच्चालाई लिएर जालान् र संक्रमण भएमा अरुलाई पनि सार्लान् भन्ने डरले उच्च निगरानीमा राख्न पर्यो ।
अस्पतालमा अभिभावकको रुखो व्यवहारले हामीलाई पनि असहज महसुस हुन्थ्यो । घरमा ममी र बहिनी हुनुहुन्छ । घर जान आफैलाई डर लाग्छ । ममीले मेरो पीर गर्नुहुन्छ । म घर जाँदा अस्पताल हँुदा पहिरिएको कपडा बाहिर नै फेरेर कोठाभित्र जान्छु र नुहाएर ममी र बहिनीको नजिक जान्छु ।
भवानी रायमाझी अधिकारी, सहयोगी
कान्ति बाल अस्पतालमा १६ वर्ष भयो काम गरेको । सिस्टरहरुलाई सघाउनी, बेड मिलाउनी सफा गर्ने लगायत बिरामी कक्ष सरसफाई गर्ने मेरो जिम्मेवारी हो । २६ वर्षदेखि एउटै अस्पतालमा रहेकाले दोर्याएर आउने कतिपय बिरामी र अभिभावकले मलाई चिन्छन् पनि । अरु समयमा पनि टिटानस, दादुरा, चिकनपक्स लगायतका गम्भीर किसिमका रोगबाट ग्रसित बालबालिकाहरु भर्ना हुने भएकाले खासै डर त लागेन । तर सजिलै र तिब्र गतिमा संक्रमण हुने यस्तो अरु रोगका बारेमा पहिला नसुनेकाले काम गर्दा नौलो अनुभव भइरहेको छ ।
संक्रमित व्यक्ति भएमा उसको सम्पर्कमा आएका व्यक्तिहरु उच्च जोखिममा हुने रहेछन् त्यसैले अस्पतालमा भर्ना भएका कोरोना आशंकित बालबालिकाको अभिभावकहरु आइसोलेसनबाट बाहिर आउँदैनन् । अनि मेरै काम हो आवश्यक औषधि, बच्चालाई डाइपर, खाना लगायत अरु आवश्यक सामग्री ल्याइदिने । यो मेरो कामको २६ वर्षको बिल्कुलै नौलो अनुभव हो । यसअघि मैले बेडहरु सफा गर्ने, विरामी कक्ष लगायत परपरका परिसर सफा गर्दै आएकी थिएँ तर यो समयमा मेरो जिम्मेवारी थप भएको छ । म सफा गर्न पीपीई लगाएर बच्चा राखिएको कक्षमा पस्दा बच्चाहरु यताउता हिँडिरहेका हुन्थे, रोइरहेका हुन्थे । एकै ठाउँमा बसिरहँदा बच्चामा देखिएको छटपटीले साह्रै मन दुख्थ्यो ।
तपाईँको अभिमत