कोरोना संक्रमितको उपचारका लागि सबै तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
चीनबाट फर्किएका थप दुई जना अस्पताल भर्ना
काठमाडौं, १२ माघ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । प्रम ओलीले कोरोना भाइरसको संक्रमणबाट अन्तर्राष्ट्रिय जगतमा पारेको प्रभाव र प्रतिक्रियालाई आफूले गम्भीर ढंगले निहालिरहेको बताउनु भयो । प्रमका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई बालुवाटारमा भेटेर भाइरस संक्रमण नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ । उहाँले कोरोना भाइरसबाट संक्रमितहरूको पहिचान हुनासाथ उच्च सतर्ककासाथ आइसुलेसन कक्षमा पुर्याएर गरिने उपचारका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री ढकालसँग संंक्रमण नियन्त्रणका लागि तत्काल के कस्तो तयारी गरिँदै छ भनी जिज्ञासा राख्नुभएको थियो भने संस्कृति तथा पर्यटन मन्त्री भट्टराईसँग भाइरस संक्रमणका कारण भिजिट नेपाल २०२० को राष्ट्रिय कार्यक्रममाथि कस्तो प्रभाव पार्न सक्छ र त्यसलाई निस्तेज पार्न आफ्नो मन्त्रालयको जनशक्तिलाई कसरी परिचालन गर्नुपर्ला भनि जिज्ञासा राख्नु भएको छ । त्यसै गरि परराष्ट्र मन्त्री ज्ञवालीसँग भाइरस सक्रमणलाई नियन्त्रण गर्न कसरी अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्न सकिन्छ भनि जिज्ञासा राख्नुभएको छ ।
स्वास्थ्य, परराष्ट्र, संस्कृति पर्यटन सचिवहरू समेतको सहभागितामा भएको यस अकस्मिक बैठकमा प्रधानमन्त्री ओली कोरोना भाइरसको बढ्दो प्रकोपका बारेमा अत्यन्त संवेदनशील र गम्भीर रूपमा प्रस्तुत हुनुभएको थियो । सहभागी सबैले आआफ्नो मन्त्रालय अन्तर्गत भइरहेका पूर्वतयारीका कार्यहरूबारे प्रम ओलीलाई वृफिङ गरेको प्रेस सल्लाहकार थापाले हेल्थपाटी डटकमलाई बताउनु भयो ।
चीनबाट फर्किएका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना गरि आइसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको छ । कोरोना भाइरसको शंकामा ती दुई जनालाई टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरि उच्च निगरानीमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
नेपालमा चीनबाट फर्किएका एक नेपालीयुवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । चीनको युवान प्रान्तमा देखिएको कोरोना भाइरसबाट चीनमा ५६ जनाको मृत्यु भइसकेको छ । संक्रमण देखिएका १ हजार २ सय भन्दा बढि मानिसको उपचार भइरहेको छ । अमेरिका, अष्ट्रेलिया, फ्रान्स, मलेसिया, दक्षिण कोरिया, ताइवान, हङकङ, थाइल्याण्ड,क्यानाडा सिंगापुरमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसले रुघाखोकी, सास फेर्न अप्ठेरो हुने र मृत्यु समेत गराउँछ ।

जगन्नाथ ढकाल
हेल्थपाटी
तपाईँको अभिमत