राजा त्रिभुवनका प्रिय पात्र दयारामभक्त माथेमाको रोग निदान वृतान्त— काठमाडौँदेखि न्यूयोर्कसम्म
वि.सं. २००७ सालसम्म नेपालको पश्चिमा पद्धतिमा आधारित आधुनिक चिकित्साको अवस्था अत्यन्तै दयनीय थियो । व्यक्तिगत रूपमा मल्लकालदेखि केवुचियन पादरीहरूबाट पश्चिमा पद्धतिको चिकित्सा काठमाडौं उपत्यकामा सुरु भयो। पृथ्वीनारायण शाहले पनि पादरीहरूबाट आज प्रत्यक्ष अप्रत्यक्ष स्वास्थ्य सल्लाह लिएका थिए । नेपाल एकीकरणको समयमा अङ्ग्रेज सैनिकका सन्तानहरूसँग नेपाली सेनाका सन्तानहरूले मितेरी साइनो लगाएरसमेत अङ्ग्रेजहरूबाट पश्चिमा स्वास्थ्य सेवाको उपयोग गरेको ऐतिहासिक भेटिएका प्रमाणहरू छन् ।
वि.सं. १९४७ मा पृथ्वी-वीर अस्पतालको स्थापना र केही नेपालीहरूले आधुनिक चिकित्साको अध्ययन गरेर काठमाडौं आइसकेपछि सर्वसाधारण नेपालीहरूले पनि आफ्नो स्वास्थ्य समस्याहरूको आधुनिक चिकित्साको सहयोग माध्यमबाट उपचार गर्न पाए । केही पहुँचवालाहरू नेपालमा उपलब्ध चिकित्सकहरूको सल्लाह वा उनीहरूको उपचारबाट सन्तुष्ट हुन नसकेर भारत लगायतका मित्र राष्ट्रमा गएर/प्रेषित भएर उपचार गराए । त्यसरी उपचार गराएकाहरूमध्ये एक जना पहुँचवाला कर्मचारीको उपचारको सिलसिलेवार ट्र्याक रेकर्ड पछ्याइयो भने त्यसवेला नेपालका चिकित्सकहरूको सीप, ज्ञान, परामर्श र प्रविधिको स्तरको आभास मिल्छ ।
राजा त्रिभुवनको अनुमति लिएर राजा र प्रधानमन्त्री माहेन शमशेरका निजी चिकित्सक डा. सिद्धिमणि आचार्य दीक्षितलाई देखाए। डा. सिद्धिमणिले जाँचेर उनलाई मुटुको रोग भएको बताए
दयारामभक्त माथेमा, राणाकालमा हिरा जुहारत, सुन, चाँदी, सराफी (बैंकिङ) लगायतको व्यापार र सरकारी/राजदरबारको जागिरमा संलग्न परिवारको सम्मानित व्यक्ति थिए (दयारामभक्त माथेमा, अनुभव र अनुभूति, २०७३ पृ ११) । उनी पनि राजदरबारको जागिरे थिए । वि. सं. १९९५ देखि २०१७ सालसम्म उनले नारायणहिटी राजदरबारमा मीर सुब्बाका रूपमा दरबारको सेवा गरे ।
राजा त्रिभुवनका प्रिय पात्र, दयाराम सरदार हरिभक्त माथेमाका नाती हुन् । उनले वि.सं २००१ देखि २०१८ सम्म राजदरबारमा काम गरे ।
वि.सं. २००५ को सुरूतिर उनी अचानक विरामी परी थलिए । उनको मुख, हात, खुट्टा सुन्निए । राजा त्रिभुवनको अनुमति लिएर राजा र प्रधानमन्त्री माहेन शमशेरका निजी चिकित्सक डा. सिद्धिमणि आचार्य दीक्षितलाई देखाए। डा. सिद्धिमणिले जाँचेर उनलाई मुटुको रोग भएको बताए (माथेमा : २००२ : ९१ ) । अब नुन, चिल्लो, पिरो नखाने, आराम गर्ने, ओछ्यानबाट नउठ्ने, पातलो सुप र जाउलो मात्रै खाने सल्लाह दिए। माथेमाले सोहीअनुसार गरे । डा. सिद्धिमणि दिनहुँ माथेमाको घरमा गएर जाँच गर्थे । महिनौ दिनसम्म उपचार गर्दा पनि उनलाई आराम लागेन । त्यस समय नेपाली एमबीबीएस पास गरेको चिकित्सकले घरमा गएर जाँच गरेको फिस एक पटकको पाँच रूपैयाँ थियो । (सरदार भीमबहादुर पाँडे, त्यस बखतको नेपाल (भाग-३), २०७६, पृ ३६३)
त्यही हिसाबले महिनौ बित्यो । त्यही समयतिर प्रधानमन्त्री माहेन शमशेरको स्वास्थ्य परीक्षणका लागि कलकत्ताबाट बेलायती मुटुरोग विशेषज्ञ डा. रोनाल्डलाई दिनको एक हजार भारतीय रूपैयाँ शुल्क तिरेर नेपाल झिकाइएको थियो । (माथेमा : २०७३ : ९१)
उनलाई आराम नभएपछि राजा र प्रधानमन्त्री दुवैको अनुमति लिएर डा. रोनाल्डसँग पनि जचाए । उनको कार्डियोग्राम लिइयो । डा. रोनाल्डले पनि उनलाई मुटुको रोग भएको निश्चित गरे। भर्याङ नचढ्ने, शारीरिक श्रम नगर्ने र आराम गर्ने सल्लाह दिए। त्यस समय मुटु रोगलाई निको पार्ने अरू उपाय थिएन । उनी निराश र हतोत्साही भए । मुटुको जाँच गर्ने कार्डियोग्राम गर्ने मेसिन डा. रोनाल्डले कलकत्तादेखि नै ल्याएका थिए ।
उनी ठूला व्यापारी र दरबारमा पहुँच भएका परिवारका सदस्य भएकोले पुनः राजा र प्रधानमन्त्रीको अनुमति लिएर स्वास्थ्य परीक्षणका लागि कलकत्ता जाने निर्णय गरे । एक जना साथी लिई हेटौंडा, वीरगञ्ज, रक्सौल हुँदै कलकत्ता पुगे ।
डा. महेताले पुन कार्डियोग्राम लिए र केही शारीरिक परीक्षणहरू गरेपछि उनले माथेमालाई कुनै मुटुरोग नभएको सुनाए ।
कलकत्ता पुगुञ्जेलसम्म पनि उनलाई आराम लागेको थिएन । कलकत्ता पुगेपछि उनको परिवारसँग निकटतम सम्बन्ध भएका हिरा जुहारत व्यापारी शान्तिलाल मेहतालाई भेट्न उनको घरमा पुगे । उपचारका लागि उनको सल्लाह लिए । उनकै सल्लाहबमोजिम भरखरै बेलायतबाट आफ्नो पढाइ पूरा गरी बम्बइमा अभ्यास गरेर बसेका मेहताका आफ्नै भाइ मुटुरोग विशेषज्ञ डा. जेके मेहतासँग जचाउन बम्बइ पुगे । डा. मेहता त्यस समयका बम्बइका प्रतिष्ठित मुटुरोग विशेषज्ञ थिए। उनी काश्मीरका राजा, महाराष्ट्रका मुख्यमन्त्रीका पनि निजी चिकित्सक थिए ।
वि.सं. २००६ फागुन/चैततिर बम्बइ पुगेर डा. मेहतालाई नेपालमा जँचाएका रिपोर्ट, सिफारिस र कार्डियोग्राफसहित आफ्नो विवरण बताए । डा. महेताले पुन कार्डियोग्राम लिए र केही शारीरिक परीक्षणहरू गरेपछि उनले माथेमालाई कुनै मुटुरोग नभएको सुनाए । तागत कम भएका कारणले ती लक्षणहरू देखिएको भनेर केही तागतको औषधि लेखिदिँदै 'नेपालमा डाक्टरले नगर्नू भनेको सबै गर्नू र फेरि जचाउन आउनू न, पीर नमान्नू, शारीरिक श्रम पनि गर्नू' भने (माथेमा : २०७३:४९) । मुटुको रोग नभएको सुनेपछि उनले सन्तोषको सास फेरे र केही दिन बम्बइमा नै रही आराम गरे ।
डा. जेके मेहताको उपचार र सल्लाहका कारण उनको स्वास्थ्यमा दिनदिनै सुधार हुन थाल्यो । नेपाल छाडेको तीन महिनापछि खुसी हुँदै नेपाल फर्के । उनका बुवा काजी नारायणभक्त माथेमा र आमा 'भगवानले रक्षा गरे' भन्दै खुसी भए । काठमाडौँ आएको भोलिपल्ट डिठ्ठा दयारामभक्त माथेमाले राजा त्रिभुवनलाई भेटेर विन्ती चढाए । दयारामलाई मुटुरोग नभएको सुनेर राजा पनि खुसी देखिए ।
डा. फकनरले 'पाइलोग्राफी' गरे र निर्णय सुनाए— "तपाईंलाई २००५ तिर मुटुको रोग लागेको नभइ बायाँतिरको मिर्गौला सुन्निएको रहेछ ।
वि.सं. २०१५ सालतिर दयाराम काम विशेषले अमेरिका पुगे । त्यहाँ उनले पुनः आफ्नो शारीरिक परीक्षण गरे । अमेरिकाको न्यूयोर्क अस्पतालमा प्रख्यात मुटुरोग विशेषज्ञ डा. फकनरलाई पाँच सय डलर फिस तिरेर मुटुको परीक्षण गराए । नेपाल र बम्बइमा जचाएका रिपोर्टहरू देखाए । डा. फकनरले 'पाइलोग्राफी' गरे र निर्णय सुनाए— "तपाईंलाई २००५ तिर मुटुको रोग लागेको नभइ बायाँतिरको मिर्गौला सुन्निएको रहेछ । मिर्गौला सुन्निदा पनि मुटुको रोग जस्तै लक्षण देखाउँछ । अहिले सबै ठिक छ । केही भयो भने मेरो ठेगानामा पत्र लेख्नू । मैले सकेको सहयोग गर्नेछु।" (ऐ. माथेमा : २०७३ :२९५)
अमेरिकामा परीक्षण गरेको डाक्टरको फिस जेठी मुमा बडामहारानी कान्ति राज्यलक्ष्मीले तिरिदिनुभएको थियो ।
यसरी २००५ सालमा काठमाडौंमा लागेको रोगको निदान वि.सं. २०१५ सालमा काठमाडौँ-बम्बै हुँदै न्यूयोर्कमा पुगेर भयो । सुरुमा मुटुको रोग, नातागत (कमजोरी) हुँदै मिर्गौलाको समस्या भन्ने पत्ता लाग्यो । त्यसपछि के भयो पढ्न पाइएन ।
यस उदाहरणबाट नेपालको तत्कालिन स्वास्थ्य अवस्थामा रोग निदान र त्यसका जटिलताको अनुमान गर्न सकिन्छ ।
(लेखक डा. गौतम जनस्वास्थ्यविद् हुनुहुन्छ)
डा. झलक गौतम
तपाईँको अभिमत