निर्देशिका संशोधन गरी स्वास्थ्यकर्मीलाई २०० प्रतिशतसम्म भत्ता दिइने
जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ संशोधन हुदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ संशोधन गरी भत्ता वितरण गर्ने भएको छ । निर्देशिकाले सबै स्वास्थ्यकर्मीलाई समेट्न नसकेको र जोखिम भत्ता वितरणमा अन्यौल भएपछि मन्त्रालयले निर्देशिका संशोधन गर्न लागेको हो ।
५० देखि १०० प्रतिशत भत्ताको व्यवस्था रहेकोमा कार्य र खटिएको समयपनि समावेश गरि भत्ता लगायतका व्यवस्था सहित निर्देशिका संशोधन गर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ ।
कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स, प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीको मनोबल बढाई प्रोत्साहन स्वरुप ५० देखि शत प्रतिशतसम्म जोखिम भत्ता दिनेगरि स्वास्थ्य मन्त्रालयले तयार गरेकाे निर्देशिका मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेकाे थियाे ।
तर संक्रमण बढ्दै गएपछि स्वास्थ्यकर्मीले १६ देखि २० घण्टासम्म काम गरिरहेका छन् यस्तो अवस्थामा अतिरिक्त समयमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई समेत सम्बोधन गरी उच्च मनोबलकासाथ सेवामा खटिन प्रोत्साहन गर्न सरकारले अतिरिक्त समयमा काम गरेकाे समय हिसाब गरी भत्ता दिने तयारी गरेको छ । जसअनुसार स्वास्थ्यकर्मीले अब २०० प्रतिशतसम्म भत्ता पाउने मन्त्रायलका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।
८ घण्टा काम गर्नेले १०० प्रतिशत भत्ता पाउँदा अहिलेको व्यवस्थाले १६ देखि २० घण्टा खटिनेलाई सम्बोधन गरेन समय हिसाब गर्दा उनीहरुले २०० प्रतिशतसम्म भत्ता पाउनुपर्ने देखिन्छ त्यसैले सोही अनुसार भत्ता दिने व्यवस्था मिलाउन लागेको उहाँको भनाइ छ ।
'अतिरिक्त समयमा सेवा गरेको हिसाब गरी भत्ता दिइने गरि निर्देशिका संशोधन गरिनेछ' उहाँले भन्नुभयो, 'त्यसका लागि मन्त्रालयकाे सह–सचिवको नेतृत्वमा ३ सदस्यीय प्राविधिक समिति गठन गरिनेछ र कोरोना रोकथाम तथा उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरी सुझाव दिनेछ।' सोही अनुसार निर्देशिका संशोधन गरिने उहाँले बताउनु भयो ।
उहाँले थप्नुभयो, पहिला कोरोना संक्रमण धेरै नभएको अवस्थामा निर्देशिका बनाइएकाले धेरै व्यवहारिक पक्षलाई सम्बोधन गर्न नसकिएको अनुभुति भयो अहिले प्रयोगशालाकर्मी लगायत कोरोना अति प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु १६ देखि २० घण्टा सम्मपनि खटिरहनु भएको छ । यो अवस्थामा वहाँहरुले अतिरिक्त समयमा गर्नुभएको योगदानको राज्यले उचित सम्बोधन गर्न निर्देशिका संशोधनगर्न लागेको हो ।
अब अतिरिक्त समयमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुले सोही अनुसार भत्ता पाउनेछन् । त्यस्तै कोरोना उपचारमा प्रत्यक्ष खटिएको नदेखिएपनि अन्य स्वास्थ्य सेवा तथा व्यवस्थापनमा खटिरहेका सम्पूर्ण कर्मचारीले भत्ता पाउनेछन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत जनशक्तिको हकमा २०७६ साल पुस २८ र अन्यको हकमा चैत ९ गते देखि भत्ता सुविधा पाउनेछन् ।
आर्थिक वर्ष २०७७ / ७८ को बजेटले पनि सेवामा उत्प्रेरित गर्न स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ जसमा कोरोना लगायत अन्य संक्रामक रोग विरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता सहित ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।
तपाईँको अभिमत