विस्तारित 'वीर अस्पताल'को कथा : जग्गा दलालले फाइदा लिए अरूलाई के ? (भिडियो)
कहाँ छ वीर अस्पताल ? काठमाडौंको सुन्धाराभन्दा केही अगाडि, रत्नपार्कभन्दा अलि वर, खुल्ला मञ्चको चौरअगाडि वीर अस्पताल ठिंग उभिएको छ । यो सबैजसोलाई थाहा भएको कुरा हो ।
काठमाडौं उपत्यकाको कुनातिर अनकन्टार ठाउँमा पनि वीर अस्पताल छ, यो चाहिँ निकै कम व्यक्तिलाई मात्रै थाहा छ ।
न्यूरोड महाबाैद्धको वीर अस्पतालबाट करिब १५ किलो मिटरको दूरीमा अर्काे वीर अस्पताल छ । त्यो हो, भक्तपुर चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको ‘वीर अस्पताल’ ।
यहाँ सामुदायिक स्वास्थ्य कार्यक्रमका रूपमा स्वास्थ्य केन्द्र खडा गरिएको छ ।
केन्द्रमा एक जना मेडिकल अफिसर र एक जना रेडियोलोग्राफी निरीक्षक दिनभर बिरामीको प्रतीक्षा गरिरहेका हुन्छन् । तर अस्पतालमा बिरामी छिरेको बिरलै देखिन्छ ।
बिरामीविहीन यो अस्पतालको कथासँग वीर अस्पताल विस्तार गर्ने एक महत्वाकांक्षी योजना जोडिएको छ ।
कसरी प्राप्त भयो जग्गा ?
वीर अस्पताल विस्तार गर्न भनेर यही ठाउँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले ५०० रोपनीभन्दा बढी जग्गा पाएको छ ।
जग्गा प्राप्तिको पहल २०७३ सालमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गर्नुभएको थियो । सबैखाले विशेषज्ञ सेवा दिने, चिकित्सा शिक्षाका सबैजसो विषय पढाउने मेडिकल कलेज खोल्न मिल्ने गरी जग्गा चाहियो भनेर खोजी गरिएको थियो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपति डा.भूपेन्द्र कुमार बस्नेतका अनुसार ७ ठाउँको जग्गा रिफारिस गरिएकोमा दुवाकोटको यो जग्गा पाउन सफल भएको हो ।
त्यस समयको स्वास्थ्य मन्त्री, अर्थ मन्त्री, अर्थ सचिव, न्याम्सका सबै पदाधिकारीहरू बसेर जग्गा प्राप्तिबारे पटक–पटक छलफल भएको थियो ।
जग्गा खोजेर प्रतिवेदन बुझाउन लागि न्याम्सका तत्कालीन उपकूलपति प्रा.डा गणेश गुरुङसहितको कमिटी बनेको थियो । कमिटीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका जग्गाबारे अध्ययन गर्यो।
७ ठाउँको जग्गा हेरेर प्रतिवेदन बनाइएको थियो। खुमलटामा रहेको रेडियो नेपालको जग्गा, चोभार सिमेन्ट कारखानाको जग्गा, भक्तपुरको नेपाल ट्रस्टको जग्गाका साथै दुवाकोटको अहिले प्राप्त भएको जग्गा पनि थियो ।
त्यही प्रतिवेदनकै आधारमा तत्कालीन मन्त्रिपरिषद्ले दुवाकोटको जग्गा न्याम्सलाई दिने निर्णय गरेको थियो।
सरकारले जग्गा खोजी रहेको थाहा पाएपछि स्थानीय अगुवाहरू मिलेर यो जग्गा वीर अस्पताललाई दिन पहल गरेको स्थानीय मनोहर खानालले जानकारी दिनुभयो।
वीर अस्पताललाई जग्गा उपलब्ध गराउन आफ्नै अगुवाइमा पहल गरेको बताउने खनालका अनुसार तत्कालीन दुवाकोट गाविसको ३२४ रोपनी, चाँगुनारायण गाविसको १७४ रोपनी र यी जग्गासँग जोडिएका थप केही जग्गा गरी करिब ५१८ रोपनी वीर अस्पताललाई उपलब्ध गराइएको हो ।
तत्कालीन दुवाकोट गाविस वडा नम्बर छ मा पर्ने ३२४ रोपनी जग्गा परोपकार संस्थाले भोगचलन गर्दै आएको थियो । तत्कालीन चाँगुनारायण गाविस ८ र ९ मा पर्ने १७४ रोपनी नेपाल इन्जिनियरिङ कलेजले भोग चलन गर्दै आएको थियो ।
स्थानीय नरेन्द्रप्रसाद न्यौपानेका अनुसार त्यो जग्गा राणाहरूले उहाँका हजुरबाहरूलाई गाई चराउनका लागि भनेर दिएका थिए । २०४० सालतिर वनले लिएर वृक्षारोपण समेत गरेको थियो । २०५१ सालमा परोपकार संस्थालाई दिइएको थियो ।
न्याम्सका तत्कालीन उपकूलपति गणेश गुरुङले यसबारे कुरा राखेपछि जग्गाको नक्सा बनाएर स्थानीय अगुवाहरू अर्थमन्त्रीलाई ब्रिफिङ गर्न पुगेका थिए । अर्थमन्त्री सकारात्मक भएपछि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको थियो।
फुटबल मैदानको बीचमा सिडियो कार्यालयल नापी कार्यालय, वन कार्यालयको उपस्थितिमा बसेर मुचुल्का तयार गरी वीर अस्पतालाई दिइएको थियो ।
जग्गा प्राप्ति भएपछि त्यस ठाउँमा अतिविशिष्ट किसिमका सेवा दिने एक हजारदेखि १५ सय शय्याको अस्पताल बनाउने योजना वीर अस्पतालको थियो।
सबै विषय पढाइ हुने मेडिकल कलेज बनाउने र आवासलगायत अन्य सुविधासहितको अस्पताल, मेडिकल कलेजको योजना बनेको थियो।
यस योजनाका लागि चीन सरकारसँग सहयोग मागिएको थियो । एक पटक चीनको टोली आएर निरीक्षण पनि गरेको पनि थियो । चीनले तत्काल लगानी गर्न चासो दिएन। बीचमा कोभिडसमेत आएकाले कुनै प्रगति हुन सकेन ।
यसै वर्षबाट काम हुने दावी
बीचमा त्यत्तिकै रहेको योजना आफू उपकूलपति भएर आएपछि पुन अगाडि बढाउन पहल गरेको न्याम्सका उपकूलपति बस्नेतको भनाइ छ।
यसबारे स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीलाई समेत भेटेर छलफल गरिएको बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा पनि यो एजेण्डा राख्न भनेर कोसिस गरिएको थियो तर त्यो हुन सकेन ।
सबै योजना एकै पटक अघि बढ्न नसक्ने भए पनि अहिले उक्त मास्टर प्लानलाई तीन चरणमा बाँडेर काम अगाडि बढाउने योजना अघि सारिएको बस्नेतले जानकारी दिनुभयो ।
अहिले सुरुमा ५०० शय्याको अस्पताल बनाउने र मेडिकल कलेजका लागि संरचना बनाउने गरी ५ अर्ब ५० करोडको जतिको योजना बनाइएको छ ।
उक्त जग्गाको केही भागमा अस्थायी प्रकृतिका भवन बनाएर भए पनि एमबीबीएस पढाउन शुरु गर्ने तत्कालको योजना रहेको उपकूलपति बस्नेत सुनाउनुभयो । पहिलो चरणका यी योजना स्वास्थ्य मन्त्रालयमा बुझाइसकिएको छ ।
बजेट व्यवस्था भए प्रिफ्याबको भवन बनाएर भए पनि आगामी शैक्षिक शत्रबाट न्याम्सले एमबीबीएस कक्षा सञ्चालन गर्ने दावी बस्नेतको छ।
बिरामी नै आउँदैनन्
जग्गा प्राप्तिपछि स्थानीयलाई सेवा दिने उद्देश्यले २०७५ साल असोजबाट वीर अस्पतालले सामुदायिक स्वास्थ्य कार्यक्रमको नामबाट स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ ।
शुरुमा विशेषज्ञ चिकित्सकसहितको ओपीडी सञ्चालन गरेको भए पनि केही समयमा नै बन्द भयो । अहिले एक्सरे, ल्याबसहित स्थापना गरिएको भए पनि त्यो नाम मात्रैको छ । पुरानो खालको सामान्य एक्सरे मेसिन राखिएको छ भने ल्याब चलाउन कर्मचारी नै छैनन् ।
अघिल्लो वर्ष असोजमा कोभिड करार कर्मचारी हटाएदेखि यहाँ ल्याबमा काम गर्ने कर्मचारीको पनि जागिर गयो । त्यसपछि सेवा पूरै बन्द छ ।
कुनै पनि सुविधा नभएका ‘वीर अस्पताल’ मा सेवाग्राही शून्य जस्तै हुन्छन् ।
साह्रै दुर्गम भनेर अरु चिकित्सक आउन नमान्दा आफूले ४ वर्ष अघिदेखि आएर निकै दु:ख गरेको यहाँ कार्यरत डाक्टर डिबी लामा बताउनुहुन्छ ।
डा.लामाले दिनको १०–१५ जनासम्म बिरामी जाँचका लागि आउने गरेको बताए पनि दिनमा एक–दुई जना बिरामी समेत नछिर्ने गरेको वरपरका स्थानीय बताउँछन् । ल्याब सञ्चालन गर्ने र केही सेवा थपिएको खण्डमा सेवाग्राही आउने उहाँको दाबी छ ।
बन्द रहेको ल्याब सञ्चालनमा ल्याउनुपर्ने र ल्याबका केही सेवा थप्ने र नयाँ एक्सरे मेसिन राख्ने जस्ता सेवा हुनुपर्ने माग स्थानीयले गरिरहेको त्यहाँ कार्यरत रेडियोग्राफी निरीक्षक ठाकुर प्रसाद लम्सालको छ ।
पुग्नै मुस्किल
यो ठाउँमा पुग्न बाटोको पनि निकै असुविधा छ। पानी परेका बेला यो ठाउँमा कुनै सवारी लिएर आउन निकै कठिन छ।
खानेपानीको पनि कुनै स्रोत छैन। वीर अस्पताल ढल निकासको समेत व्यवस्था छैन । वीर अस्पतालका लागि प्राप्त भएको अधिकांश जग्गा पूरै डाँडाकाँडा र बालुवाका ढिस्काको रूपमा छन् ।
लगानीका लागि भन्दै चीनको टोली आएर हेर्दा पनि यहाँ बाटो पानीलगायतको राम्रो व्यवस्था नभएको भन्दै तत्काल लगानी नगर्ने बताएको थियो ।
बाटोको व्यवस्था हुँदै गरेको भए पनि पानी र निकासको कसरी व्यवस्थापन गर्ने टुंगो नभएको स्थानीय मनोहर खनालको भनाइ छ ।
यहाँको जग्गा वीर अस्पताललाई दिएपछि सबैभन्दा धेरै फाइदा जग्गा व्यापारीलाई भएको देखिन्छ । वीर अस्पतालले यो जग्गा लिने भयो भन्नेबित्तिकै यो क्षेत्रका जग्गाको मूल्य दोब्बर बढेको स्थानीय बताउँछन् ।
डाँडापाखाहरू भस्याएर प्लटिङ गर्ने काम तीव्र गतिमा भएको थियो । रोचक त के छ भने जग्गाको मूल्य बढाउनकै लागि जग्गा दलालले वीर अस्पतालको जग्गाको चारैतिर ‘वीर अस्पताल निर्माणस्थल भनेर होडिङ बोर्डसमेत राखेको स्थानीयले बताएका छन् । अक्षर मेटिए पनि उनीहरूले राखेका ती बोर्डहरू अहिले पनि देख्न सकिन्छ ।
‘वीर अस्पताल छिट्टै वीर अस्पताल बन्छ, यो त पछिको न्यूरोड हो, महाबाैद्ध हो भन्दै जग्गा दलालहरूले बार्गेनिङ गर्थे’ परिचय खुलाउन नचाहने एक स्थानीयले सुनाए।
विश्वास दिलाउनका लागि ऊ वीर अस्पतालले बोर्ड नै राखिसक्यो भन्दै प्लटिङवालाहरूले राखेको बोर्ड देखाइन्थ्यो ।
यत्रो जग्जा बेवािरसे त हुँदैन ?
वीर अस्पताल बन्यो भने राम्रो विकास हुने, केही रोजगारी सिर्जना हुन्थ्यो कि भन्ने आश स्थानीयको छ ।
वीर अस्पतालले जग्गा लिँदा उत्साहित भएका स्थानीय अहिले निराश हुने अवस्था आएको स्थानीय मनोहर खनाल बताउनुहुन्छ।
वीर अस्पतालले स्थापना गरेको स्वास्थ्य केन्द्रले स्थानीयलाई कुनै लाभ दिन नसकेको उहाँको भनाइ छ।
परोपकार संस्था र नेपाल इन्जिनियरिङ कलेजले आफ्ना योजनालाई थाती राखेर वीर अस्पताललाई दिएको जग्गा बेवारिसे बनाएको उहाँको आरोप छ ।
अस्पताल निर्माणका लागि आवश्यक पूर्वाधारका लागि अस्पताल आफैँ कुनै पहल नगरेको उहाँको गुनासो छ ।
३ पटक बजेट छुट्याउँदा पनि कुनै काम सुरु नभएको र यसलाई देखाउने ठाउँ मात्रै बनाएको खनालको आरोप छ ।
स्थानीयको आक्रोश भइरहँदा यसै वर्षदेखि दुवाकोटमा न्याम्सले आफ्नो परियोजना शुरु गर्ने दाबी उपकूलपछि डा. बस्नेतको छ ।
बस्नेतको दाबी अनुसार बजेटको व्यवस्था हुन्छ/ हुँदैन। बेवारिसे अवस्थामा रहेको जग्गाको उपयोग न्याम्सले गर्छ कि गर्दैन ? त्यो समयले देखाउनेछ।
वीर अस्पताल बन्ने हल्ला फिजाएर जग्गा व्यापारीले त प्रशस्तै फाइदा लिए। यो जग्गाबाट स्थानीय र आम नेपालीले कहिले फाइदा पाउँछन् त ? यो अहिलेको मुख्य प्रश्न हो ।
तपाईँको अभिमत