‘महिलाहरू स्तन क्यान्सरको दुःख सहन बाध्य छन्’
स्तन क्यान्सर लागेको कसरी थाहा पाउने ?

नेपालमा पछिल्लो समय क्यान्सरका बिरामीहरु बढ्दै गएको तथ्यांकहरुले बताउँछन् । नियमित चेकजाँचमा सजिलै पत्ता लाग्न सक्ने क्यान्सरको सम्पूर्ण उपचार हुने भए पनि क्यान्सर भएपछि निको हुँदैन भन्ने भय र भ्रमले बिरामीहरु उपचार गर्न अस्पताल नजाँदा पछिल्लो समय क्यान्सर बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगबाट बर्सेनि २७ हजारभन्दा बढीको ज्यान जाने गरेको सरकारी तथ्यांक छ । त्यसो त महिलामा बढी हुने क्यान्सर स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर हो । विश्व स्वाथ्य संगठनको एक तथ्याकं अनुसार नेपालमा बर्सेनी ४० हजार क्यान्सरका नयाँ रोगी थपिएको देखाउँछ । तीमध्ये करिब ५ हजार स्तन क्यान्सरका रहेका छन् । स्तन क्यान्सरबारे नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर ललितपुरका वरिष्ठ क्यान्सर सर्जन डा. कपेन्द्रशेखर अमात्यसँग हेल्थपाटीका प्रकाश बस्यालले गर्नुभएको कुराकानी ।
क्यान्सर भनेकोे के हो ?
हाम्रो शरीर स–साना कोषले बनेको हुन्छ । शरीरमा कोष वृद्धि हुने र क्षय हुने स्वचालित प्रक्रिया निरन्तर भइरहन्छ । कहिलेकाहीं कोष अनियन्त्रित तरिकाले विभाजित हुन्छ र बढ्छ, जसलाई ट्युमर भनिन्छ ।
त्यस्तो ट्युमरको वरिपरि र शरीरका अन्य भागमा आक्रमण नगरे वा नफैलिए यसलाई बेनाइजिन ट्युमर भनिन्छ । यस्तो ट्युमर खतरनाक हुँदैन । तर ट्युमर विभिन्न कोषमा असामान्य तवरबाट फैलिएर कोष टुक्र्याउँछ, आक्रमण गर्छ र मार्छ भने त्यसलाई मालिग्नान्ट ट्युमर अथवा क्यान्सर भनिन्छ ।
नेपालमा क्यान्सर बढ्नुको कारण के हो ?
हाम्रो देशमा अझै क्यान्सर पिडित कति छन्, कस्तो अवस्थामा छन् औपचारिक तथ्यांक राख्न सकिएको छैन । यसमा हामी पनि जिम्मेवार छौं । सरकारले पनि डाटा राखेको पाइँदैन । तर अहिले विभिन्न संघसंस्था र स्वयं क्यान्सर पिडितहरु संगठित हुन थालेका छन् । जसका कारण केही आकलन गर्न सकिन्छ ।
जिवनशैलीमा परिवर्तन तथा खानपानका कारण क्यान्सर रोगीको संख्या बढिरहेको छ । महिलामा हुने क्यान्सरको कुरा गर्दा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ भने स्तन क्यान्सर दोस्रो स्थानमा छ । हाल स्तन क्यान्सरसम्बन्धी जागरुकता बढेको पाइन्छ । ग्रामीणभन्दा सहरी क्षेत्रका महिलामा स्तन क्यान्सरसम्बन्धी चेतना बढेको पाइन्छ । तर अझै पनि अधिकांश महिलाले यसमा खासै ध्यान दिन सकेका छैनन् ।
अझै पनि लाज, डर र अज्ञानताका कारण यो रोग लुकाउने र समयमा उपचारका लागि अस्पताल नआउने गरेका छन् । स्तन क्यान्सर प्रौढलाई मात्र होइन, जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुने हुँदा नेपालमा पछिल्लो समय स्तन क्यान्सर बढ्दै गएको छ ।
क्यान्सर कसरी लाग्छ ?
क्यान्सर हुने कारण हालसम्म पनि पत्ता लागेको छैन । तर यसका केही कारकतत्व भने छन्, जसले स्तन क्यान्सरको जोखिम बढाउँछ । कारकतत्वलाई दुई भागमा विभाजन गर्न सकिन्छ । परिवर्तन गर्न सकिने र परिवर्तन गर्न नसकिने । यस्ता धेरै कुरा छन् जसमा ध्यान दिन सके स्तन क्यान्सरबाट बच्न सकिन्छ । जस्तै मोटोपन घटाउने, धुम्रपान र मदिरा सेबन नगर्ने साथै समयमै सन्तान जन्माउने (३० वर्षभन्दा पहिले), नियमित स्तनपान गराए स्तन क्यान्सर हुनबाट बच्न सकिन्छ ।
परिवर्तन गर्न नसकिनेमा महिलाको उमेर, महिनावारी छिटो हुने (१२ वर्षभन्दा पहिले), महिनावारी ५० वर्षभन्दा पछि हुने, वंशाणुगत जस्ता कारणलाई हामी रोक्न सक्दैनौं । तर सजग भए न्यूनीकरण गर्न सकिन्छ । यसमा सचेतना जगाउन आवश्यक छ ।
स्तन क्यान्सर लागेको कसरी थाहा पाउने ?
दुवै स्तनको आकारमा परिवर्तन भए वा दुवै अथवा एउटा स्तनको रङ परिवर्तन भए, स्तनको मुन्टोबाट तरल पदार्थ बगे, काखी सुन्निए, स्तनको छाला परिवर्तन वा रातो भए, स्तन अथवा काखी दुखिरहे, स्तनमा गाँठागुठी आए वा डिम्पल परे वा यीबाहेक स्तनमा कुनै पनि परिवर्तन आए चिकित्सकसँग जाँच गराउनु पर्छ । माथि उल्लेखित लक्षण सुरुवाती अवस्थामा देखिने लक्षण हुन् ।
तर कतिपय अवस्थामा कुनै लक्षणबिनै पनि स्तन क्यान्सर देखिन सक्छ । स्तन क्यान्सर यस्तो क्यान्सर हो, जति छिटो थाहा पायो उपचार राम्रो हुनुको साथै थोरै खर्चमा उपचार गर्न सकिन्छ । जति ढिलो थाहा पायो उपचार गर्न गाह्रो हुनुका साथै खर्च पनि धेरै लाग्छ । सुरुमै थाहा पाए ९५ प्रतिशतको जीवन बचाउन सकिन्छ । स्तन क्यान्सरका बिरामीहरू मध्ये पनि बचाउन सकिने सम्भावना यस्तो छ ।
रोगको पहिलो चरणमा रहेकामध्ये ८५ प्रतिशत, दोस्रो चरणमध्येका ७५ प्रतिशत, तेस्रो चरणमध्येका ५० प्रतिशत र चौथो चरणमा पुगेकामध्ये १०–१५ प्रतिशतको मात्र जीवन बचाउन सकिन्छ । स्तन क्यान्सरबाट बच्नु भनेको जतिसक्दो छिटो पत्ता लगाउनु नै हो ।
क्यान्सरकाे उपचार कसरी गरिन्छ ?
स्तन क्यान्सरको उपचार तीन विधिबाट गरिन्छ । शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी । शल्यक्रियामा पहिलेभन्दा अहिले धेरै विकास भएको छ । पहिला स्तन पूरै काटेर फालिन्थ्यो र कुरूप समेत देखिन्थ्यो ।
तर अहिले स्तन बचाएर क्यान्सर भएको भागमा मात्र शल्यक्रिया गरिन्छ । केमोथेरापी पनि पहिलेको तुलनामा धेरै सुधार भएको छ । पहिला उपचारका साइड इफेक्ट धेरै थिए भने अहिले घटेको छ । सबैमा एउटै औषधिको प्रयोग गरिन्थ्यो भने हिजोआज क्यान्सरको अवस्था र प्रकार हेरेर फरक फरक औषधि प्रयोग गरिन्छ । नेपालमा पनि पछिल्लो समय क्यान्सरको उपचार प्रविधिले निकै फड्को मारिसकेको छ ।
केमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया सबै उपचार प्रविधि नेपालमै उपलब्ध छ । क्यान्सर लागेपछि १०÷१५ वर्षअघि जस्तो भारत वा अन्यत्र जानुपर्ने बाध्यता अहिले छैन ।

क्यान्सर लाग्नबाट बच्न केमा ध्यान दिनुपर्छ ?
हाम्रो खानपान र जीवनशैलीमा ध्यान दियौं र नियमित व्यायाम गर्यौं भने क्यान्सर लाग्ने सम्भावना ३३ प्रतिशत त घट्छ । हामीले खानपानमा ध्यान दिन जरुरी छ । पानी टन्न पिउने, खाना समयमै खानु पर्छ मसलादार, पोलेको खानेकुरा थोरै खाने र कसरत गर्यो भने क्यान्सर रोग घट्छ ।
क्यान्सर लागिसकेकाले रोगको प्रतिरोध गर्न पनि पोषिलो भोजन गर्न जरुरी छ । त्यसैले खानामा विषेश ध्यान दिनुपर्छ । अर्को कुरा सूर्तिजन्य पदार्थबाट टाढा बस्नुपर्छ, चुरोट एक मात्र त्यस्तो कुुरा हो जसको सेवनले क्यान्सर लाग्ने निश्चित छ ।
महिलालाई के सल्लाह दिनुहुुन्छ ?
जानकारी नपाएर महिलाहरू स्तन क्यान्सरको दुःख सहन बाध्य छन् । त्यसैले बर्सेनि आफ्नो स्वाथ्य परीक्षण गर्न सल्लाह दिन्छु । अर्को कुरा क्यान्सर भन्नासाथ अधिकांशले मरिहालिन्छ भन्ने गरेको पाउँछौं । हामी बिरामीलाई क्यान्सर लाग्दैमा मरिँदैन, समयमै यसको उपचार गरे निको हुन्छ भनेर सधैं सम्झाइरहेका छौं । बिरामीको मनोबल बढाए, हौसला दिए क्यान्सर पराजित गर्न सहयोग पुग्छ ।
त्यसैले बिरामीको मनोबल बढाउन सहयोग गरिदिन समेत सबैसँग आग्रह गर्छु । अनि अर्को कुरा नेपालमा उपचारै नहुने, धेरै नै खर्च लाग्ने, पत्ता लगाउन नै गाह्रो हुने रोग नभएकाले स्तनमा सामान्य परिर्वतन आउने वितिकै चिकित्सकहरुको सल्लाह लिने गर्नुपर्छ ।
तपाईँको अभिमत