काठमाडौ । पाँचथरको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका– १ च्याङथापूमा सोमबार आठ जनामा कोभिड– १९ को सङ्क्रमण पुष्टि भयो ।
यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो ।
निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस– १ नाम्रेक आएका थिए ।
याङवरक गाउँपालिका– १ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुसीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । यहाँ पूजाको आयोजना गरेका स्थानीय र झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो ।
उहाँहरू तल झापा झरेर परीक्षण गराउँदा कोभिड– १९ को रिपोर्ट पोजेटिभ देखियो,ु वडाध्यक्ष ढुङ्गेलले भन्नुभयो, पाहुना आएकाहरूमा सङ्क्रमण देखिएपछि यहाँका आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ । हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भयो ।
सङ्क्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेशनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेलले बताउनुभयो । ुगाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निक्र्यौल गर्छौँ उहाँले भन्नुभयो । चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या बढी भएको पाइएको वडाध्यक्ष ढुङ्गेलले बताउनुभयो ।
पूजा लगाउने व्यक्तिले श्वास फेर्न समस्या भएको बताउनुभएकाले अस्पताल लैजाने तयारी गरेको छौँ ढुंगेलले भन्नुभयो ।
सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड– १९ सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।
अस्ति आइतबार फिदिममै एक कर्मचारी र एक सैनिकमा सङ्क्रमण भेटिएको थियो । आज बिहानसम्म जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ११ पुगेको सुवेदीको भनाइ छ । जिल्लाका अरु पनि सङ्क्रमित भए पनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरुको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले बताउनुभयो ।
रासस
तपाईँको अभिमत