यसै महिनाभित्र कोरोनाका धेरै खोपलाई अनुमति दिने विश्व स्वास्थ्य संगठनको तयारी
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले यसै महिनाभित्र कोरोना विरुद्धको धेरै खोपहरुलाई आपत्कालिन प्रयोगको लागि अनुमति दिने तयारी गरेको छ । डब्ल्यूएचओले गरिब राष्ट्रहरुलाई दु्रत गतिमा खोप उपलव्ध गराउने उद्धेश्यले यसै हप्ता र महिनामा धेरै खोपहरुलाई प्रयोगको अनुमति दिने योजना बनाएको छ ।
डब्ल्यूएचओले पश्चिमा तथा चिनियाँ उत्पादक कम्पनीले निर्माण गरेको खोपहरुलाई प्रयोगका लागि स्विकृति दिने योजना बनाएको रोयटर्सलाई उद्रत गर्दै अलजजीराले समाचार लेखेको छ । डब्लुएचओले हालसम्म फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको एउटा खोपलाई मात्रै आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
हाल विश्वमा ५० भन्दा बढी खोपको परीक्षण चलिरहेको छ । कोभ्यासक्स सुविधा जसको नेतृत्व डब्ल्यूएचओले गरेको छ, उसले यसै वर्षभित्र विश्वलाई २ अर्ब मात्रा कोरोनाको खोप उपलव्ध गराउने लक्ष्य राखेको छ ।
२ अर्ब मात्रामध्ये १ अर्ब ३० करोड मात्रा गरिब राष्ट्रलाई दिने योजना कोभ्यासको छ । तर कोभ्याक्सले रकम अभावको सामना गर्नुपरेकाले धनी तथा सम्पन्न राष्ट्रहरुले खोप थुपारीरहेका छन् जसले गरिब राष्ट्र खोपको पहुँचमा आउन सकेका छैनन् । डब्ल्यूएचओ अनुसार लाखौ मात्रा खाेप धनी राष्ट्रले बुकिङ गरिरहदा अहिलेसम्म २५ मात्रा मात्र खोप गरिब राष्ट्रले पाएको छ ।
कोभ्याक्सले अक्सफोर्ड यूनिभर्सिटि र एस्ट्रेजेनेकाले निर्माण गरेको खोपका लागि कम्पनीसँग सम्झौता गरिसकेको छ तर उक्त खोपको प्रयोगका लागि डब्ल्यूएचओ अनुमति दिएको छैन । एस्ट्रजेनेकासँग ४० करोड मात्रा खोपको सम्झौता कोभ्याक्सले गरेको जनाइएको छ ।
तपाईँको अभिमत