अन्तरजातीय विवाह गर्ने १० जोडीले पाए १० लाख

भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ। आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन्।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अम्मिका कार्की, भरतपुर–१६ सुशील परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन्।
त्यसैगरी भरतपुर–२५ का अविनास सुनार र मीना भुजेल, भरतपुर-१४ विवस महतो र प्रतिभा सुनार, पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर-१५ का विनोद परियार र अरुणा राई, भरतपुर-६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन्।
यी जोडीलाई जोडीलाई नगद एक–एक लाख रुपैयाँसहित सम्मान गरेको गरिएको महानगरले जानकारी दिएको छ। कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको जानकारी दिइन्।भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको दाहालले बताइन्।
जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालको भनाइ छ।संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको दाहालले बताइन्।
जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको भन्दै प्रमुख दाहालले पहिलाको अवस्था निकै काहाली लाग्दो रहेको सुनाइन्।
जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाइ छ।
भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यका लागि सम्मान कार्यक्रम गरिएको बताए।
नेपालका ७५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीको भनाइ छ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले छुवाछुत समाजिक अन्धविश्वास रहेकाले यसको उन्मुलनका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ। महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जोडीलाई सम्मान गरिसकेको छ।
तपाईँको अभिमत