नेपालमा हरेक वर्ष ०.०५२ डिग्री सेल्सियसले बढ्दै छ तापक्रम, के हुन्छ खतरा ?

नेपालमा भइरहेको जलवायु परिवर्तनले भयावह किसिमका मौसमी प्रणाली विकास हुने खतरा देखिएको मौसमविद् शान्ति कँडेलले बताइन्।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण विभागले बिहीबार आयोजना गरेको 'लु' को प्रभाव र पूर्वतयारी बारे संवाद कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन् ।
जल तथा मौसम विज्ञान विभागमा कार्यरत कँडेलका अनुसार नेपालमा अहिले प्रतिवर्ष ०.०५२ डिग्री सेल्सियसका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको छ । यो भनेको करिब २० वर्षमा एक डिग्री सेल्सियस तापक्रम वृद्धि हुनु हो । न्यूनतम तापक्रम ०.००२ डिग्रीका दरले बढिरहेको उनले जानकारी दिइन् ।
तापक्रम वृद्धिको असरले विषस मौसमी घटना छिटोछिटो विकास हुने र पूर्वानूमान गर्न पनि गाह्रो हुने अवस्था सिर्जना भइरहेको कँडेलको भनाइ छ । यसले हिमालयको हिउँ पग्लिने, पानीका मुहान सुक्ने समस्या बढिरहेको छ ।
कँडेलका अनुसार विगत केही वषर्नअगाडि सम्म विभागले लुबारे धेरै चासो राखेको थिएन । लुबारे बुलेटिन पनि प्रकाशन गर्दैनथ्यो । यसले निरन्तरको तापक्रम वृद्धिसँगै यसले दैनिक जनजीवन नराम्रोसँग प्रभावित हुने र विभिन्न स्वास्थ्य समस्या देखापर्ने व्यक्तिको मृत्यु समेत हुने समस्या हुन्छ । अहिले जल तथा मौसम विज्ञान विभागले यसमा विशेष चासो राखेर नियमित बुलेटिन सार्वजनिक गरिरहेको कँडेलले जानकारी दिइन् ।
तपाईँको अभिमत