अप्रेसन गरिएकी सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाव

नुवाकोटको त्रिशुली अस्पतालमा शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । विदुर नगरपालिका–५ पिपलटारकी २४ वर्षीया सुत्केरी सरिता न्यौपानेको मृत्यु भएको हो ।
सरिताका परिवार र आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् ।
सरिताका आफन्तले बताएअनुसार सोमबार साँझ सरिताको शल्यक्रिया भएको थियो। सबै अवस्था सामान्य रहेको चिकित्सकले बताएका थिए।
राति नै सरितालाई श्वास–प्रश्वासमा समस्या देखिएपछि नर्सलाई खबर गरियो । तर ड्यिूटीमा रहेका नर्सहरुले अप्रेसन गरेको बिरामीलाई गाह्रो हुनु सामान्य भएको भन्दै बेवास्ता गरेको आफन्तको आरोप छ ।
सरितालाई धेरै गाह्रो भएर पटक–पटक आफन्तले आग्रह गरेपछि मात्रै बिहान ५बजे आएर चिकित्सक आए । चिकित्सकले जाँच गरेपछि तपाईको बिरामीलाई निमोनिया भएछ आइसीयूमा राख्नुपर्छ भनेर आइसीयूमा राखेको आफन्तले जानकारी दिएका छन् ।
त्यसपछि बिरामीका श्रीमानले एक चिनजानका चिकित्सकलाई बोलाएर देखाएपछि बिरामी तुरुन्त काठमाडौँ लैजान भनेको सरिताका एक आफन्तको भनाइ छ ।
सिनियर डाक्टर आएर बिरामी हेरिदिनु प¥यो । यो बिरामी तुरुन्त काठमाडौं लैजानुहोस् भनेपछि मात्रै काठमाडौं पठाइएको हो ।
त्यहाँबाट काठमाडौंको मनमोहन अस्पताल लगिएको थियो । बुधबार उपचारका क्रममा सरिताको मृत्यु भयो ।
बिहीबार शव अस्पतालमा ल्याएर परिवार र आफन्तले प्रदर्शन गरेका थिए। सरिताका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सकलाई गर्नुपर्ने माग गरेका छन्। चिकित्सकविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी दिने तयारी समेत गरेका छन् ।
घटनापछि बिहीबार नै प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति गठन गरेको छ।
मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति स्वरुप पाँच लाख रुपैयाँ उपलब्ध गराउने, दुई जना बच्चालाई अध्ययन र स्वास्थ्यका लागि नुवाकोटका स्थानीय तहहरूको तर्फबाट प्रबन्ध गर्ने र छानबिन समितिले का एक साताभित्र छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सहमति पनि भएको छ ।
सम्बन्धित चिकित्सक दोषी भएमा विभागीय कारवाही गरिने सहमति भएको छ।
तपाईँको अभिमत