चौथो ‘सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ न्यौपानेलाई
चौँथो ‘सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ रामप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च र शारदा–सुदर्शन देवकोटा फाउण्डेशनको सहकार्यमा प्रदान गरिँदै आएको पुरस्कार यस पटक न्यौपानेले पाएका हुन् ।
न्यौपानेलाई शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि कोशी प्रदेशका निमर्तमान मुख्य मन्त्री केदार कार्की र फाउण्डेशनकी अध्यक्ष डा.सुधा देवकोटाले न्यौपानैलेलाई पुरस्कार हस्तान्तर गरे।
न्यौपाने विगत डेढ दशकदेखि स्वास्थ्य बिटको पत्रकारितामा सक्रिय छन् । बिगत १४ वर्षदेखि निरन्तर स्वास्थ्य बिटमै पत्रकारिता गरिरहेको र पहिलो पटक पुरस्कार पाएको न्यौपानले बताए ।
स्वास्थ्य पत्रकार मञ्चका पूर्वअध्यक्ष समेत रहेका न्यौपानेले आफ्नै कार्यकालमा यो पुरस्कार सुरु गरेको स्मरण गरे।
त्यो समय कोभिड–१९ को समयमा स्वास्थ्य पत्रकारलाई प्रोत्साहन आवश्यक भएका बेला शारदा–सुदर्शन देवकोटा फाउण्डेशन पुरस्कारको प्रस्ताव ल्याउँदा आफू निकै खुसी भएको उनले सुनाए ।
न्यौपाने बिगत १० वर्षदेखि नेपाली हेल्थ डटकमका सम्पादकका रुपमा कार्यरत छन् ।
कार्यक्रमका प्रमुख अतिथि कार्कीले समुदायमा स्वास्थ्य पत्रकारको भूमिका डाक्टरको भन्दा कम नभएको बताए । डाक्टरले एक पटक औषधि लेख्दा एउटा मान्छेको मात्रै रोग निको हुन्छ, पत्रकारले लेखेको एक वाक्यले धेरैलाई उपचारको काम गर्छ’ ’ कार्कीले भने, ‘डाक्टरले गलत औषधि दिए एक व्यक्तिको ज्यान जान सक्छ तर पत्रकारले गलत सूचना दिए त्यसकै कारण लासको खात लाग्न सक्छ।’
हामीले भौतिक विकास मात्रै नभई मानवीय विकासलाई जोड दिनुपर्ने कार्कीले बताए। राज्यका उच्च निकायमा रहने व्यक्तिले उत्पादक र वितरकको आवश्यकतामा भन्दा पनि जनताको आवश्यकताका ध्यान दिनुपर्ने कार्कीले बताए।
‘जनताको आवश्यकता भन्दा उत्पादक र वितरकको प्राथमिकतामा हिँड्न थाल्यो भने स्वास्थ्य राम्रो हुँदैन, देश दुब्लाउँदै जान्छ, जनता मर्छ’ कार्कीले भने ।
फाउण्डेशनकी अध्यक्ष डा.सुधा देवकोटाले पत्रकार रहेका बुबा सुदर्शन देवकोटाको योगदानको सम्झनाका लागि पुरस्कार स्थापना गरिएको जानकारी दिइन् । बुबा पत्रकार रहेको आफू स्वास्थ्य क्षेत्रमा जोडिएकाले स्वास्थ्य पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको पनि उनले स्पष्ट पारिन । आफूपछिका पुस्ताले पनि यसलाई निरन्तरता दिने डा.देवकोटाले बताइन् । पुरस्कार बाहेकाका अन्य क्षेत्रमा पनि फोउण्डेशनले स्वास्थ्य पत्रकारसँग सहकार्य गर्ने उनले सुनाइन्।
गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राईले पत्रकारहरुकै कारण आफूहरुले विदेशमा रहँदा पनि नेपालका हरेक जानकारी लिन पाइरहेका बताइन्।
विश्वका जुनसुकै कुनामा रहेका नेपालीलाई देशका बारेमा अपडेट गराइरहन पत्रकारको मुख्य भूमिका रहेको राईको भनाइ छ । आफूहरु पनि स्वास्थ्य पत्रकारसँग जोडिएर काम गर्न इच्छुक रहेको राईले बताइन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रा.डा.संगीता भण्डारीले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउन पत्रकारको ठूलो भूमिका रहेको बताइन् ।
स्वास्थ्य पत्रकार मञ्चका सरोज ढुंगेलले शारदा–सुदर्शन देवकोटा फाउण्डेशनले स्थापना गरेकोले स्वास्थ्य पत्रकारलाई प्रोत्साहन मिलेको बताए। अघिल्ला ३ वर्षपनि सक्रिय पत्रकारलाई पुरस्कार प्रदान गरिएको उनले सुनाए ।
यसअघि यो पुरस्कार सुजिता पौडेल(सपना), पवित्रा सुनार र जुनु भट्टराईलाई प्रदान गरिएको थियो ।
तपाईँको अभिमत