संक्रमित घटे कि संक्रमण दर ! परीक्षण किन घट्यो?
परीक्षण नै महामारीको समग्र अवस्था हेर्ने ऐना !
काठमाडौं । कोरोना संक्रमणको ग्राफ बिस्तारै ओरालो लाग्दै गएको छ । दोस्रो लहरको संक्रमण उच्च विन्दु छुँदा करिब ४५ प्रतिशत पुगेको संक्रमण दर पछिल्ला दिनहरुमा सरदर २० प्रतिशतमा झरेको छ ।
अस्पतालमा रहेका बिरामीको तथ्यांकले पनि संक्रमण घट्दै गएको भन्ने प्रष्ट्याउँछ । संक्रमित बिरामीले अस्पतालमा आइिसयू, भेन्टिलेटर बेड नपायउने समस्या कम हुँदै गएको छ । उपचार नपाएर, अस्पतस्पतालमा बेड नपाएर संक्रमित बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थामा अहिले सुधार भइरहेको छ ।
संक्रमितहरुको उपचारमा सहजता हुँदै आएको छ । तर अझै पनि समुदाय स्तरमा लक्षण भएका/नभएका एवं कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिहरु परीक्षणको दायरामा आउन सकेका छैनन् । अझै संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताउनु भएको छ।
नेपालमा पछिल्लो हप्ता कोभिड संक्रमण दर घटेको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउनुहुन्छ। अस्पतालहरुमा भर्ना हुने दर र मृत्युदरमा कमी आएको छ। महामारी रोकथामका लागि देशभर जारी गरिएको निषेधाज्ञा र पछिल्ला दिनहरुमा व्यवस्थित आइसोलेसनका कारण यसलाई केही हदसम्म रोक्न सकिए पनि सोचे अनुसार र अपेक्षाकृत रुपमा घट्न भने नसकेकोे जनस्वास्थ्यविद् वन्तको भनाइ छ । अहिले सार्क राष्ट्रमध्ये कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित नेपाल नै हो । संक्रमणदर ५ प्रतिशतभन्दा तल नर्झदासम्मको अवस्थालाई महामारी नै मान्ने गरिन्छ ।
नेपालमा भारतको पनि प्रत्यक्ष असर रहने हुनाले भारतमा पछिल्ला दिनमा संक्रमण दरमा कमी आएपछि नेपालमा पनि संक्रमणको दर ओरालो लागिरहेको छ । केही प्रतिशतमा खोप लगाइएको र एन्टिजेन परीक्षणको दायरा अलि फराकिलो बनाउँदा पनि नेपालमा संक्रमण हुने क्रम घटेको विज्ञहरूको भनाइ छ । हाल देशका कुनाकाप्चा सबैतिर संक्रमण फैलिइसकेको अवस्था छ । ती दूरदराजका गाउँमा पनि परीक्षणको लागि पहल र सहजीकरण गरी संक्रमित पत्ता लगाउन सक्यो भने यसको फैलावटलाई खुम्च्याउन सकिने डा.वन्तको बुझाइ छ।
'परीक्षण नै महामारीको समग्र अवस्था हेर्ने साधन हो । परीक्षणलाई महामारी नियन्त्रण गर्ने औजारका रुपमा लिनुपर्छ । परीक्षण बढ्दै या बढाउँदै गएको अवस्थामा संक्रमण दर या पोजिटिभिटी घट्दै जानुपर्छ' जनस्वास्थ्यविद् वन्त भन्नुहुन्छ । महामारीका विभिन्न लहरहरु चलिराख्ने वा दोहोरिरहने हुँदा अहिले घट्यो भन्दै हल्का रुपमा लिनु नहुने वन्त बताउँनुहुन्छ । यसका आउँदा लहरहरु झन् नियन्त्रण गर्न गाह्रो हुने भन्दै त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हिजो सोमबार देशभरमा गरी २९१८ जना संक्रमित थपिए । अस्ति आइतबार २,४०७ संक्रमित भेटिएका थिए । जेठ २३–२९ मा २१ हजार ६७८ जनामा संक्रमण पुष्टि भएको छ, जुन दोस्रो लहरको संक्रमण उत्कर्षमा पुगेको बेलाको एक तिहाइ मात्र हो । यो तथ्यांक हेर्दा संक्रमणको ग्राफ ओरालो लागेको भने पक्कै हो ।
तर यो दर अझै घट्नुपर्ने थियो । किनकि देश डेढ महिनादेखि निषेधाज्ञामा गएको छ । यो बीचमा पनि के कति कमजोरी भए त्यसको ठोस कारणहरु पत्ता लगाउँदै भावी योजना बनाउँदै लैजानु उचित हुने उहाँको तर्क छ ।
तथ्यांक केलाउँदा गएको वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म ६१ हजार ८१४ जनामा संक्रमण पुष्टि भएको थियो । यसलाई दोस्रो लहरको उच्च विन्दु मानिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार त्यसयताका प्रत्येक हप्ताहरुमा संक्रमण ओरालो लाग्दै गएको छ ।
जेठ २ देखि ८ गतेसम्म ५७ हजार ८६९ संक्रमित थपिए । ९ देखि १५ गतेसम्म ४७ हजार ७७९ पत्ता लागे । १६–२२ गतेकाबीचमा संक्रमितको संख्या घटेर ३१ हजार ६७८ मा आइपुगेको थियो । प्रवक्ता पौडेलका अनुसार दोस्रो लहरमा संक्रमण उत्कर्षमा पुग्दा पुष्टि भएका संक्रमितको संख्याको तुलनामा यो हप्ता संक्रमित संख्यामा एक तिहाइले कमी आएको छ ।
पछिल्ला दिनमा परीक्षण पनि घटेको छ । मन्त्रालयको तथ्यांक अनुसार परीक्षण गर्ने कुल क्षमताभन्दा आधा मात्रै परीक्षण भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा.पौडेलका अनुसार विविध कारणले परीक्षण दर घट्दै गएको देखिन्छ । कोरोनाका लक्षण देखिएका व्यक्तिहरु पनि परीक्षण गर्न हिच्किचाउने गरेका कारण परीक्षण दर घट्दै गएको हो । परीक्षण गर्दा पोजेटिभ देखियो भने अझै पनि छरछिमेकले के भन्लान् वा हेयको दृष्टिले हेर्लान् भन्ने मानसिकता आममानिसमा कायमै छ । त्यसकारण पनि लुकाएर घरभित्रै बस्दा झन् समस्या विकराल बन्न सक्छ ।
सरकारी स्वास्थ्य संस्थामा लक्षण भएका व्यक्तिको परीक्षण निःशुल्क गरिने व्यवस्था रहेको हुँदा लक्षण देखिने बित्तिकै र ट्रेसिङमा परेपछि अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्छ । समुदायस्तरमा परीक्षण गर्न एन्टिजेन किटको व्यवस्था गरिएको हुँदा शंका लाग्ने बित्तिकै जाँच गराउनुपर्छ ।
भाइरोलोजिष्ट डा. वासुदेव पाण्डे हाल नेपालमा कोरोना संक्रमण प्रतिशतमा मात्र घटेको देखिएको दाबी गर्नुहुन्छ । ३÷४ हजारमा संक्रमण देखिनु भनेको त्यसको दश गुणा बढी संक्रमित समुदायमा रहनु हो । यसको मतलब परीक्षणको संख्या र मात्रा बढाउँदा दैनिक संक्रमितको संख्या १४ हजारभन्दा माथि जान्छ ।
सरकारले कोरोना संक्रमणको हर्टस्पर्ट पत्ता लगाउने काममा नै बढी ध्यान केन्द्रित गर्नुपर्छ । कन्ट्याक्ट टे«सिङ गर्नुपर्छ । गएको साल ट्रेसिङमा ध्यान दिएपनि हाल यो शब्द नै बिर्सिएजस्तै बन्नु पुगेको छ । हामी एन्टीजेन, त्यो पनि दिनको ३ हजारमा खुम्चिएको अवस्थामा छौँ । एक दिनमा कम्तीमा पनि ३ लाख जनामा एन्टीजेन टेष्ट हुनुपथ्र्यो । एन्टीजेनभन्दा छिटो र भरपर्दो परीक्षणका साधन विश्वमा विकसित भइसकेको हुँदा सरकारले त्यतातर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
आम सर्वसाधरणले के कुरा बुझ्नु पर्छ भने कोभिडका लक्षण देखिने बित्तिकै जाँच गराउनुपर्छ । बिरामी भएर घरैमा बस्दा एक्कासी अक्सिजनको लेभल झर्न सक्छ जसलाई माथि उठाउनै मुश्किल हुन्छ र ज्यानै जाने जोखिम बढ्छ ।
कोभिडविरुद्धको भ्याक्सिन नै पेन्डामिकको औषधी हो । त्यसकारण भ्याक्सिनको लागि सक्दो प्रयास गर्ने हो । सरकारले छिटोभन्दा छिटो भ्याक्सिन किन्नुपर्छ । यो उमेर समूह र त्यो उमेर समूह भनेर अल्मलिनुभन्दा सबैका लागि भ्याक्सिन दिनुपर्छ । हाल विकसित देशहरुमा बुस्टर खोपको चर्चा चलिरहँदा नेपाल जस्तो सानो देशमा भ्याक्सिन उपलब्ध नहुनु दुखद् हो । यद्यपि कोरोनाविरुद्धका खोपको प्रभाव कस्तो देखिएला त्यो त भविष्यले बताउँछ, उहाँ भन्नुहुन्छ ।
पछिल्लो समयमा कोरोनाका विभिन्न भेरियन्ट र तिनको खोपको कुरा त अझ परको कुरा हो । त्यसकारण जतिसक्दो परीक्षणको दायरा बढाउने र खोपको पहुँचमा जाने नै अहिलेको आवश्यकता हो । त्योभन्दा पनि बढी महत्वपूर्ण कुरा त सचेतना नै हो, स्वास्थ्य मापदण्ड पालना गर्नु नै हो ।
तपाईँको अभिमत