आजबाट १३ गतेसम्म देशभर वर्षा तथा हावाहुरी समेतको जोखिम, सतर्क रहन आग्रह
आज दिउँसोदेखि १३ गतेसम्म विशेष सतर्क रहन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सुुझाव दिएको छ ।
महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको देखिएको छ । यसका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू(भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू-भाग, कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
भोलिबाट देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
असोज १२ गते शनिबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
१३ गते पनि विशेष गरी देशका पश्चिमी क्षेत्रमा मुसलधारे वर्षा हुने मौसमविदले जानकारी दिएका छन् ।
यसबाट कृषि क्षेत्रमा प्रभाव पर्ने, भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने समेत भएकाले सचेत रहन विभागले आग्रह गरेको छ ।
तपाईँको अभिमत