किन खुवाइन्छ भिटामिन 'ए' क्याप्सुल ? शहरका बालबालिका बढी जोखिममा (भिडियो)
सरकारको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष कार्तिक १७ र १८ गते देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
६-६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिएको छ । यसपटक देशभर गरी करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिला बिक्रम थापाले जानकारी दिनुभयो ।
प्रत्येक ६ महिनामा भिटामिन ‘ए’ किन खुवाउनुपर्छ भन्ने हेल्थपाटीको जिज्ञासामा पोषण शाखा प्रमुख लिलाबिक्रम थापाले एक पटक खाएको भिटामिन ६ महिनासम्म शरीरमा रहिरहने भएकाले अर्काे ६ महिनापछि फेरि भिटामिन ‘ए’खुवाउनपर्ने आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार यसपटक राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रममा, भिटामिन ‘ए’क्याप्सुल ४० लाख क्याप्सुल, जुकाको औषधि ३५ लाख ट्याब्लेट खपत हुने अनुमान छ ।
६ महिनादेखि ५९ महिना उमेरसम्मका करीब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब २९ लाखलाई जुकाको औषधी खुवाइने लक्ष्य राखिएको थापाले बताउनुभयो ।
शहरमा प्रशोधित खाना धेरै खाइने भएकाले ग्रामीण भेगको भन्दा शहरका बालबालिकाहरू भिटामिन ‘ए’ कमीको जोखिममा रहेको उहाँको भनाइ छ ।
६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइनेछ ।
जुकाको औषधि खुवाँउदा चक्की लाई पिनेर वा धुलो बनाएर मात्र खुवाउनु पर्छ । अघिल्लो वर्ष भिटामिन ‘ए’क्याप्सुल करिव ९० प्रतिशत र जुकाको औषधी करिव ८७ प्रतिशतले खाएका थिए ।
२ चरणको कार्यक्रममा ९ करोड ५१ लाख खर्च हुने अनुमान गरिएको छ । जसमा ४० लाख क्याप्सुलका लागि १ करोड २० लाख र ३५ लाख ट्याब्लेटका लागि १ करोड ३१ लाख २५ हजार खर्च हुनेछ । साथै महिला स्वास्थ्य स्वयम् सेविका परिचालन खर्च ४ करोड १६ लाख र स्वास्थ्यकर्मी परिचालनका लागि ३ करोड खर्च हुनेछ ।
यस कार्यक्रम सञ्चालनका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयम् सेविका र १५ हजार स्वास्थ्यकर्मी खटिनेछन् । नजिकैको विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरूमा भिटामिन ‘ए’र जुकाको औषधि प्राप्त गर्न सकिन्छ । भिटामिन ‘ए’र जुकाको औषधि खुवाउन महिला स्वास्थ्य स्वयम् सेविकाहरू टोलटोलमा पुग्नेछन्।
भिटामिन ‘ए’को कमी भए के हुन्छ?
भिटामिन ‘ए’को कमीका कारण साँझ परेपछि आँखा नदेख्ने, यो समस्या बढ्दा जाँदा आँखा नदेख्ने, कुपोषण, झाडापखाला लाग्ने समस्या देखिन सक्छ । भिटामिन ‘ए’क्याप्सुल खाए यी रोगहरूबाट बच्न सकिने थापाले बताउनुभयो । नेपालमा वि.स. २०५० सालदेखि भिटामिन ‘ए’कार्यक्रम सुरु भएको हो ।
भिटामिन ‘ए’कार्यक्रमले ५ वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदरलाई घटाउन सहयोग गरिरहेको छ । सुरुमा ८ वटा जिल्लाबाट यो कार्यक्रम सुरु गरिएको थियो । साथै जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ वटा जिल्लाबाट सुरु भएको थियो । थापाका अनुसार २०७० सालसम्म भिटामिन ‘ए’कार्यक्रम दातृ निकायको सहयोगबाट सञ्चालन हुँदै आएको थियो ।
१० वर्ष अघिसम्म यूनिसेफ मार्फत क्यानाडाबाट भिटामिन ‘ए’ को क्याप्सुल आउने गर्थ्यो ।
सन् १९९८ मा भएको एक अध्ययनले भिटामिन ‘ए’को कमीले आँखाको सेतो भागमा साबुनको गाजजस्तो समस्या देखिएको थियो र त्यो समस्या जनस्वास्थ्यका रुपमा रहेको थियो । कुपोषण, दादुरा, झाडापखाला, हुँदा भिटामिन ‘ए’को कमी हुनेगर्छ ।
तपाईँको अभिमत