राजधानीमा दुई दिने ‘वन हेल्थ सम्मेलन’ हुँदै

राजधानी काठमाडौंमा दुई दिने ‘वन हेल्थ सम्मेलन’ हुन लागेको छ । सोमबार (भोलि)देखि दुई दिने सम्मेलन हुन लागेको हो ।
आइतबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो ।
नेपालिज एसोसिएसन अफ क्लिनिकल माइक्रोबायोलजिस्ट्स (एनएसीएम)को आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मलेनमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) को चुनौती बारे विभिन्न मुलुकका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने तथा प्यानल छलफल हुने एनएसीएमका महासचिव प्रा.डा. बिजेन्द्रराज रघुवंशीले जानकारी दिनुभयो ।
‘यो सम्मेलनको मुख्य उद्देश्य चाहिँ एन्टिमाइक्रोबियल रेजिस्टेन्स वृद्धिलाई कम गर्ने उपायको खोजी गर्ने हो’, प्रा.डा. रघुवंशीले भन्नुभयो, ‘वन हेल्थ नै गर्नुको कारण चाहिँ एएमआर मानवबाट मात्र नभएर पंक्षी, जनावर, खानेकुरा तथा वातावरणबाट पनि हुने गरेकाले गरिएको हो । यसमा सबै क्षेत्रको सहभागिता हुनेछ ।’
सम्मेलनमा बंगलादेश, कम्बोडिया, भारत तथा अस्ट्रेलियाबाट विज्ञहरू सहभागी हुने उहाँले जानकारी दिनुभयो । सहभागीहरू भौतिक रूपमा साथै भर्चुअल माध्यमबाट पनि सहभागी हुने उहाँको भनाइ छ ।
सम्मेलनमा ३० जनाभन्दा बढी वक्ताहरू रहनुभएको छ भने पोस्टर प्रस्तुतिसहित १९ वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।
हाल विश्वमा १२ लाख ७० हजार मानिसको मृत्यु एएमआरका कारण हुने गरेको छ । त्यस्तै अप्रत्यक्ष रूपमा ४५ लाख बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा यो सङ्ख्या दोब्बर हुने अनुमान गरेको छ ।
तपाईँको अभिमत