जारको पानीमा भेटियो दिसा–पिसाबमा पाइने कीटाणु
जारको पानीमा दिसा–पिसाबमा पाइने कीटाणु भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गतको कृषि तथा पशुपन्छी विभागले विभिन्न ब्रान्डका पानी परीक्षण गर्दा यस्तो फेला पारेको हो ।
विभागले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा २१ वटा ब्राण्डका पानी परीक्षण गर्दा ११ वटामा यस्तो देखिएको हो । पानीमा फिकल कोलिफर्म र एमोनिया भेटिएको विभागले जनाएको छ ।
विभागका वरिष्ठ पशु चिकित्सक अवधेश झाका अनुसार कोलिफर्मको मात्र शून्य हुनुपर्नेमा ३ सयसम्म भेटिएको छ ।
पानीमा कैफियत देखिएपछि ती ब्याचका पानी तत्काल बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको महानगरले जनाएको छ । अब बिक्रीवितरण हुने पानीको प्राविधिक परीक्षण प्रतिवेदन (सरकारी निकायबाट पेस गरेर मात्र) बिक्रीवितरण गर्न पनि भनिएको छ ।
एमोनिया धेरै कुराले हुन्छ । यसमा प्रदूषण मुख्य कारक हो । यो ढल र बाहिरको फोहोर मिश्रण भएको पानी पनि हो । फिकल कोलिफर्म भनेको पनि ढल, दिसा र पिसाब मिश्रण पानी भएको खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले बताउनुभयो ।
दूषित भेटिएका ११ कम्पनीको पानी महानगरले बिक्रीमा रोक लगाउनुका साथै प्रत्येक कम्पनीलाई २ लाख जरिवानासमेत गरेको छ ।
तपाईँको अभिमत