नेपालको स्वास्थ्य प्रणाली : भौतिक संरचनामा जोड, गुणस्तर सुधार सुस्त
नेपालको स्वास्थ्य सेवामा अबको मुख्य मुद्दा गुणस्तर कायम गर्नु रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा खेम कार्कीले बताए।
सोलिड नेपाल र स्वास्थ्य पत्रकार मञ्चले नेपालका स्वास्थ्य प्रणालीका वर्तमान मुद्दाहरु विषयमा शुक्रबार काभ्रेमा आयोजना गरेको कार्यक्रममा कार्कीले यस्तो धारणा राखेका हुन् ।
नेपालका तीन तहका अस्पतालमा न्यूनतम सेवा मापदण्डको अवस्थाबारे चर्चा गर्दै डा.कार्कीले अहिले अस्पतालका भवन बन्नुलाई मात्रै ठूलो उपलब्धि मान्ने प्रवृत्ति रहेको बताए ।
जनशक्ति व्यवस्थापन र सेवा सुधारमा सरकारको ध्यान कम गएको डा.कार्कीको आरोप छ ।
डा.कार्कीले प्र्रस्तुत गरेको तथ्यांक अनुसार पछिल्ला वर्षमा विशेष अस्पतालहरुले न्यूनतम सेवा मापदण्डमा धेरै सुधार गरिरहेका छन् । विशिष्टिकृत अस्पतालले आधारभूत अस्पतालको जत्ति पनि सुधार गर्न नसकेको उनले जानकारी दिए ।
सबै सुविधा भएका अस्पताल सन २०१५ मा ११ प्रतिशत रहेकोमा २०२१ मा १७ प्रतिशत पुगेको तथ्य डा.कार्कीले प्रस्तुत गरे ।
नेपालमा अझै पनि बच्चा जन्माउने १ लाख आमामध्ये १५१ जनाको मृत्यु भइरहेको डा.कार्कीले जानकारी दिए । आमा बन्नका लागि यो किसिमको जोखम रहनु दुखद् विषय भएको उनको भनाइ छ ।
जनसांख्यिकी सर्वे २०२२ को रिपोर्ट अनुसार नेपालमा ८० मात्रै पूर्ण गर्भधारण छ रहेको देखिएको डा.कार्कीले स्मरण गराए। अनइच्छित गर्भ धारण १० प्रतिशत छ । मरेको बच्चा जन्मनेदर १ प्रतिशत छ भने गर्भ तुहिने समस्या ९ प्रतिशत छ।
परिवार नियोजनका साधन प्रयोगका सन्दर्भमा हाम्रो समाज सकारात्मक बन्न नसकेको उनको भनाइ छ । कसैले कण्डम, पिल्स बोकेर हिँडेको खण्डमा त्यसलाई राम्रो मान्नु पर्नेमा समाजमा नकारात्मक दृष्टिकोणे हेर्ने प्रहरीले समेत अपराधीको व्यवहार गर्ने गरेका उदाहरण डा.कार्कीले सुनाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले नेपालको स्वास्थ्य प्रणालीमा सुधारको खाँचो रहेको बताए ।
खुसीका साथ सेवा प्रदान गर्ने नागरिकलाई खुसी राख्ने र स्वास्थ्य साक्षरतामा ध्यान दिनु जरुरी रहेको डा.सिंहको भनाइ छ ।
स्वास्थ्य विषयमा हाम्रा पाठ्यक्रममा भएका विषयमा समेत पुनर्विचार गर्न आवश्यक रहेको डा.सिंहले बताए ।
स्वास्थ्य मन्त्रालयसँग कुनै समन्वय समेत नगरी स्कुलबाट स्वास्थ्य विषयमा पाठ्यक्रम हटाउने काम भएको गुनासो डा.सिंहको छ ।
नेपालको स्वास्थ्य प्रणालीमा ८३ प्रतिशत गुणस्तरमा सुधारको खाँचो रहेको उनले बताए ।
डा.सिंहले हाम्रो जस्तै अवस्थामा रहेका देशहरू कोस्टारिका, रुवाण्डा, थाइल्याण्ड, श्रीलंकाले स्वास्थ्य सेवामा अपनाएको मोडल र गरेको प्रगतिबारे जानकारी दिए । नेपालले पनि ती देशबाट अनुसरण गर्न सक्ने तरिकाहरू रहेको उनले बताए । नेपालमा मेडिकल पर्यटनको विकास गर्ने सक्ने विषयमा पनि डा.सिंहले चर्चा गरे ।
यसै कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार प्रविन ढकालले नेपालको स्वास्थ्य प्रणाली कस्तो भन्नेमै अन्योल रहेको बताए।
संविधानमै आधारभूत सेवा निशुल्क र त्यसपछिका सेवा बीमाले समेट्ने भनेपनि यो लागू नभएको ढकालले बताए । नेपालको स्वास्थ्य प्रणाली के हो ? त्यसभित्र केके पर्छ ? कसको भूमिका के हुन्छ भन्ने जानकारी ढकालले दिए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले नेपालको स्वास्थ्य प्रणालीका कमीकमजोरी र सुधारका लागि गर्नुपर्ने प्रयास र सम्भावनाबारे चर्चा गरेका थिए ।
तपाईँको अभिमत