रक्तसञ्चार सेवा सुरक्षाका लागि हेमोभिजिलेन्स कार्यक्रम, १६ अस्पतालमा लागू
रक्तसञ्चार सेवा सुरक्षामा सुधार ल्याउन ५ वर्ष अगाडि लागू गरिएको हेमोभिजिलेन्स कार्यक्रम १६ वटा अस्पतालमा प्रयोगमा आएको छ ।
रगत माथि निगरानी बढाउन सन् २०१७ मा २ सरकारी र २ वटा निजी अस्पतालबाट हेमोभिजिलेन्स कार्यक्रम सुरु गरिएको हो । यो कार्यक्रम रक्तसञ्चार सेवाको गुणस्तरको लागि आवश्यकता भएपनि अस्पतालहरुले यसलाई प्रयोगमा ल्याउन रुची देखाइरहेका छैनन् ।
यद्यपी सुरुका वर्षमा १ हजार ब्लड ट्रान्फयुजनको तथ्यांक प्राप्त भएकोमा हालसम्म आइपुग्दा यसको संख्या १८ हजार ६९६ पुगेको छ ।
हेमोभिजिलेन्समा रगतको संकलन, रक्ततत्व तयारी देखि बिरामीलाई रगत चढाउँदा सम्ममा निगरानी गर्ने तथा वितरण गरिएको रगतबाट बिरामीमा कुनै कारणवश देखापर्ने असरको बारेमा अध्ययन गरिन्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले हेमोभिजिलेन्स कार्यक्रमको एक वर्षको (सन् २०२१ )को वार्षिक विवरण प्रस्तुत गर्दै १८ हजार ६९६ ब्लड ट्रान्फयुजन भएकाेमा अत्यन्तै कम मात्रामा असर देखिएको बताउनुभयो । उहाँका अनुसार वितरित रगतमा ०.१८ प्रतिशत ज्वरो, ०.०००३ प्रतिशतलाई चिसोपना तथा ०.०२ प्रतिशतलाई उच्च रत्तचापको असर देखिएको छ ।
एक व्यक्तिको रगत अर्काे व्यक्तिमा चढाउँदा उक्त रगतको गुणस्तर र सुरक्षाका निम्त हेमोभिजिलेन्स कार्यक्रम महत्वपुर्ण रहेकाले धेरैभन्दा धेरै अस्पतालहरुले यो प्रणाली लागू गर्न पर्ने आवश्यकता रहेको डा. झाको भनाई छ । उहाँले हाल काठमाडौं उपत्यकाभित्र मात्रै यो प्रणाली प्रयोगमा आएकोमा अब बाहिरका अस्पतालहरुमा पनि प्रयोगका लागि अनुरोध गरिने जानकारी दिनुभयो ।
उहाँले हेमोभिजिलेन्स प्रणालीबाट रगतको गुणस्तर पत्ता लाग्ने, क्रस म्याचिङका लागि संकलित रगतको गुणस्तर कायम गरि धेरै भन्दा धेरै अतिआवश्यक व्यक्तिलाई उक्त रगतको प्रयोग गराउने भन्ने सम्बन्धमा सहयोग पुग्ने बताउनुभयो । यद्यपी हेमोभिजिलेन्सलाई धेरै अस्पतालहरुमा समेट्न नसक्नु र रगतमाथि गरिएको निगरानीको रिपोर्टिङ नहुनु मुख्य चुनौती रहेको उहाँले बताउनुभयो ।
वितरण गरिएको रगतबाट बिरामीमा देखापर्ने असर तथा प्रतिक्रियाका कारण पत्ता लगाई आगामी दिनमा दोहोरिन नदिन यो प्रणाली अति आवश्यक रहेको झाले बताउनुभयो । हेमोभिजिलेन्स प्रणाली गंगालाल अस्पताल, प्रसुती अस्पताल तथा निजीमा ओम र नेपाल क्यान्सर अस्पतालबाट सुरु गरिएकाे गरेको थियो । तर गंगालाल अस्पतालले हेमोभिजिलेन्स कार्यक्रम सुरु गरेपछिका वर्ष रिपोर्टिङ गरेन ।
हेमोभिजिलेन्स भोलेन्टिएर कार्यक्रम हाे।
हाल हेमोभिजिलेन्स कार्यक्रम लागू भएका अस्पतालहरु:
-प्रसुती अस्पताल
-नेपाल क्यान्सर हस्पिटल
-नेपाल मेडिकल कलेज
-किस्ट मेडिकल कलेज
-नेपाल मेडिसिटि हस्पिटल
-हिमाल हस्पिटल
-नोबेल हस्पिटल
-कान्तिपुर हस्पिटल
-वीर अस्पताल
-सशस्त्र प्रहरी अस्पताल
-नेपाल प्रहरी अस्पताल
-करुणा हस्पिटल
तपाईँको अभिमत