अस्पतालमा पोषण एवम् आहारविद्ले गर्नुपर्ने काम के-के हुन्छन् ? (भिडियो)
डाइटिसियन अर्थात पोषणविद् भनेपछि कुन खानेकुरा खाने, कुन नखाने भनेर सिकाउने मात्रै बुझाइ गलत भएकाे पोषण तथा आहारविद् योगिता सापकोटा बताउनुहुन्छ । हेल्थपाटीसँग कुराकानी गर्दै सापकोटाले बिरामीको उपचारमा डाक्टर, नर्सको जस्तै डाइटिसियनको भूमिका महत्वपूर्ण रहने जानकारी दिनुभयो ।
अस्पतालमा डाइटिसियन राख्ने विषयमा पहिलेदेखि कुरा भएपनि अहिलेसम्म कार्यान्वयनमा नआएको सापकोटाले बताउनुभयो ।
अस्पतालमा डाइटिसियन राख्नुपर्छ भन्ने महसुस गरेर सरकारको नीतिमा राखेर विभिन्न अस्तपालमा दरबन्दी पनि राखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यो दरबन्दी पूर्तिका लागि लोकसेवा खुलाउने लगायतका काम भने भएका छैनन् ।
डाइटिसियन स्वास्थ्यकर्मी हो भनेर बुझाउन गाह्रो भइरहेको सापकोटाले सुनाउनुभयो ।
हेल्थपाटीका लागि तुलसा घिमिरेसँग कुराकानी गर्ने क्रममा सापकोटाले अस्पतालमा डाइटिसियनको आवश्यकता किन छ भन्ने बारेमा दिनुभएको जानकारी :
अस्पतालमा बिरामीको उपचार गर्दा डाइटिसियन किन चाहिन्छ ?
डाइटिसियन भन्ने बित्तिकै के खान हुन्छ, के खान हुँदैन सिकाउने मात्रै काम होइन । जसरी एउटा बिरामी आइसकेपछि डाक्टरले उसको उपचार गर्ने प्रक्रिया हुन्छ, त्यस्तै पोषणको हकमा पनि आफ्नै प्रक्रिया हुन्छन् । जसलाई 'न्यूट्रिसियन केयर प्रोसेस' भनिन्छ ।
बिरामी आइसकेपछि सबैभन्दा पहिला उसलाई कसरी डायग्नोसिस गर्ने भन्ने हुन्छ ? त्यसपछि त्यही अनुसार योजना बनाउने गर्नुपर्छ ।
कहिले कहीँ खानेकुराको योजना दिनुपर्ने हुन्छ । कसैलाई खानेकुरा सबै ठिक भएको हुन्छ तर परामर्शको आवश्यकता हुन्छ ।
बिरामीलाई जसरी डाक्टरले फलोअपमा बोलाउँछन् त्यसैगरी पोषण तथा आहारको अवस्था बुझ्नका लागि पनि फलोअपमा बोलाउनुपर्ने हुन्छ ।
म आफैँ पनि राष्ट्रिय ट्रमा सेन्टरको डाइटिसियन सुपर भाइजर हुँ। ट्रमा भन्नेवित्तिकै सामान्य हातखुट्टा भाँच्चिएको बिरामी मात्रै हुने होइन । गम्भीर बिरामी, अप्रेसनपछि लामो समय अस्पताल बस्नुपर्ने बिरामीहरु पनि आउँछन् । बिरामी बेहोस् अवस्थामा पनि हुन्छन् ।
सबैजना मुखबाट खानसक्ने पनि हुँदैनन् । मुखबाट खान सक्दैन भनेपछि नाकबाट पाइप राख्ने होकि, मुखबाट राख्ने होकि त्यो गर्नुपर्ने हुन्छ। एन्जी फिडिङ, ओडी फिडिङ भन्ने हुन्छ । विभिन्न प्रक्रियाबाट पाइप जोडिएको हुन्छ । जुन पाइप सबैले बुझ्ने भाषामा भन्दा डट्पेनको सुइरो भन्दा पनि सानो हुन्छ ।
त्यस्तो पाइपबाट बिरामीलाई दिनभरमा चाहिने सबै पौष्टिक तत्व पूर्ति हुनेगरी खुवाउनुपर्छ । जसले गर्दा रोगसँग लड्ने क्षमता विकास होस्, घाउ, चोटपटक छिटो निको होस् । अप्रेसन गरेको भए त्यो घाउ छिटो निको होस् । रगतहरू धेरै बगेको भए छिटो त्यसको पूर्ति होस् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि कुन कुरा कति दिनुपर्छ कति समयमा दिनुपर्छ जस्ता विषय निर्क्यौल गर्न डाइटिसियन चाहिन्छ ।
बिरामीमा उच्च रक्तचाप हुनसक्छ, मधुमेह हुनसक्छ । यी सबै कुरालाई ध्यानमा राखेर कति समयमा कति खानेकुरा दिँदा खेरी उसलाई थप हानि गर्दैन भन्ने जस्तो कुरामा डाइटिसियनको ठूलो भूमिका हुन्छ ?
सामान्य बिरामी पनि डाक्टरसँग जचाएर औषधि लिइसकेपछि उसको मुख्य सरोकार के-के खाने के-के नखाने भन्नेमा हुन्छ । यस्तो अवस्थामा पनि सही सल्लाह दिनका लागि डाइटिसियन आवश्यकता हुन्छ।
भिडियो :
तपाईँको अभिमत