दुवाकोटको ‘विस्तारित वीर अस्पताल’मा फेरि सुरु भयो ल्याब सेवा, के-के हुन्छ परीक्षण?
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले भक्तपुरको दुवाकोटमा सञ्चालन गरिरहेको सामुदायिक स्वास्थ्य केन्द्रमा ल्याब सेवा सुचारु भएको छ।
बिस्तारित वीर अस्पतालका रुपमा स्थापना गरिएको केन्द्रमा कर्मचारी नहुँदा ल्याब १० महिनादेखि बन्द अवस्थामा थियो । वीर अस्पतालले प्रयोगशाला प्राविधिक पठाएसँगै बिहीबारबाट ल्याब सञ्चालनमा आएको छ ।
अब त्यहीँ वीर अस्पतालकै शुल्कमा रगत, दिसा, पिसाब परीक्षण हुने ल्याब सञ्चालनका लागि केन्द्रमा पुग्नुभएका प्रयोगशाला प्राविधिक हरिशंकर रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार केन्द्रमा सुगर, पिसाबमा क्रियाटिनन्, लिपिड प्रोफाइल, लिभर फक्सन, युरिक एसिड र सिबीसी परीक्षण हुनेछ । यसका साथै दिसा, पिसाबका अन्य परीक्षण पनि हुने रेग्मीले बताउनुभयो ।
परीक्षणका लागि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नमुना संकलन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
ल्याब सेवा सुचारु भएपछि परीक्षण गर्ने आउने बिरामी पनि बढ्न थालेका छन् । लामो समय सेवा बन्द भएका कारण तत्काल धेरै बिरामीहरु नआउने सम्भावना पनि छ । परीक्षण गर्ने व्यक्ति कम भएमा रिएजेन्ट मिति गुज्रिएर खेर जानसक्ने चिन्ता रहेको रेग्मीले बताउनुभयो ।
केन्द्रमा छाती र हातखुट्टाको एक्सरे गर्न मिल्ने सामान्य मेसिन छ । यो भन्दा राम्रो मेसिनको आवश्यकता रहेको केन्द्रका रेडियोलोजी निरीक्षक ठाकुरप्रसाद लम्सालले बताउनुभयो । अहिले विद्युत गएको अवस्थामा वैकल्पिक व्यवस्था छैन । बत्ति गएको खण्डमा हुँदा प्रयोगशाला र एक्सरेको सेवा बन्द नै गर्नुपर्ने अवस्था रहेको गुनासो लम्सालले गर्नुभयो ।
वैकल्पिक व्यवस्थाका लागि माथिल्लो निकायसँग माग गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । अहिले यस केन्द्रबाट मेडिकल अफिसरबाट जनरल स्वास्थ्य परीक्षण हुँदै आएको छ । विशेषज्ञ चिकित्सकको सेवा समेत ल्याउने प्रयास भइरहेको पनि लम्सालले बताउनुभयो ।
गत वर्ष असोजमा कोभिड करारका कर्मचारी हटाइएपछि यहाँ ल्याब सेवा बन्द भएको थियो । बिस्ताररित वीर अस्पतालका रुपमा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा कुनै सेवा नभएको भन्दै स्थानीयको गुनासो थियो ।
तपाईँको अभिमत