एचआइभीबाट मृत्यु भएकाको सम्झनामा दिप प्रज्वलन

काठमाडौं । विश्व एड्स दिवसका अवसरमा आज देशभर विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भए भने एचआइभी संक्रमणबाट मृत्यु भएकाको सम्झनामा दिप प्रज्वलन गरियो । ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतना कार्यक्रम भए ।
जनस्वास्थ्य कार्यालय ललितपुरले पनि नारी चेतना समाज, परिचय समाज,नेपाल यूथ फाउण्डेशन,स्पर्श नेपाल, सल्भासन नेपालको समन्वयमा आज लगनखेल बसपार्कमा दीप प्रज्वलन कार्यक्रम गर्यो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख डा.खगेश्वर गेलालले एचआइभी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदायको सक्रियता आवश्यक पर्ने बताउनुभयो । उहाँले एचआइभीको जोखिम समूह पहिचान गरि परीक्षणलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।
आर्थिक वर्ष ७६/७७ मा ललितपुरमा १९७ नयाँ एचआइभी संक्रमित थपिएको र अहिले २ हजार ६९१ संक्रमितले एन्टीरेट्रो भाइरल औषधि लिइरहेको पनि गेलालले जानकारी दिनुभयो । सन् २००४ मा २५ जनाबाट सुरु गरिएको एआरटी थेरापी सेवामा वृद्धि भएको छ । हाल १८ हजार संक्रमितले एआरटी सेवा लिइरहेका छन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल २९ हजार ५ सय ३ जना एचआईभी संक्रमित छन् । जसमा पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ ।
वि.सं. २०७७ असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना मात्र एआरभी उपचारमा रहेका छन्। सन २०१० को तुलनामा सन २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ ।
यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ । यस्तै एड्सको कारणले मृत्यु हुनेदर ८५ प्रतिशतले घटेको छ ।
तपाईँको अभिमत