ती घटना जसले मलाई ‘अधिकारवादी डाक्टर’ बन्न प्रेरित गरे !

२०४३ सालमा म तत्कालीन सोभियत संघमा पर्ने युक्रेनबाट डाक्टरी पास गरेर आएँ र प्रसूतिगृह थापाथलीमा काम शुरू गरेँ । त्यति बेला डाक्टरको संख्या थोरै हुँदा भार निकै धेरै थियो । चार-पाँच जना मात्रै मेडिकल अफिसर थियौँ । कामको चाप र शारीरिक मानसिक तनाब एकदमै थियो । लगातार ४८ घण्टासम्म हामीले त्यति बेला काम गर्नुपर्थ्यो । कामको चापको असर डाक्टरहरूले बिरामीसँग गर्ने व्यवहारमा पनि देखिन थाल्यो ।
हामी बिरामीसँग झर्कोफर्को गर्न थाल्यौँ । काम राम्रोसँग गर्न नसकेको र त्यसको नकारात्मक असर बिरामीमा परेको महसुस भइरहेको थियो । एकदिन मैले रातभरि ड्युटी सकेर बिहान ६ बजे आकस्मिक कक्षमै एक कप चिया र एउटा जेरी खानमात्रै शुरू गरेकी थिएँ, सुत्केरी व्यथा लागेकी एक जना महिलालाई ल्याइयो । ‘इमर्जेन्सीमा ल्याउनै पर्दैन, प्रसूति कक्षमा लैजाउ’ मैले नर्सलाई भनें । जाँदाजाँदै उनले बाटोमै बच्चा जन्माइछन् । बिरामी कुरुवाले आकस्मिक कक्षको पर्दा खोलेर मलाइ हेर्दै ‘ल हेर यहाँ डाक्टर खानमा व्यस्त छ, उता बाटोमै बच्चा जन्मिसक्यो’ भनेपछि मैले थाहा पाएँ । यसरी बाटोमै जन्मिँदा त्यो बच्चालाई केही भइहालेको भए बर्बादै हुन्थ्यो । यसरी ४८ घण्टा काम गरेर हुँदैन, कामको चाप कम हुनैपर्छ जस्तो लाग्यो ।
‘अहिले तपाई नयाँ हुनुहुन्छ, पुरानो हुँदै गएपछि अरूले जस्तै पैसा लिएर गैरकानूनी गर्भपतन गराउनुहुनेछ।’
हामीले यसबारे आवाज उठायौँ, सुनुवाइ भएन । त्यसपछि हामीले पाखुरामा कालो पट्टि बाँधेर अस्पतालमा काम गर्न थाल्यौँ । त्यही मात्रै उपाय थियो । अहिले सामान्य लागे पनि २०४३ सालमा त्यो ठूलै घटना थियो । अस्पतालसँग मेरो एक वर्षको करार थियो । त्यो बेला म गर्भवती थिएँ । धेरैजसो करार नवीकरण हुनेनै प्रचलन थियो । त्यही घटनाले हुनसक्छ, अर्को वर्ष मेरो करार नवीकरण भएन । त्यो समयमा एक वर्षको करार सकिन १० दिन बाँकी थियो । १० दिनसम्म सुत्केरी बिदा दिँदै, ‘अब तपाईको जरुरत छैन’ भनियो । आवाज अरूले उठाए पनि नेतृत्व मैले गरेकी थिएँ । त्यो घटनापछि म मानसिक रूपमा निकै आहत भएँ ।
छोरी जन्मेपछि थापाथलीबाट मैले ४५ दिनको छुट्टि पाउनुको सट्टा ‘सेवाको लागि धन्यवाद’ पत्र पाएँ । छोरी दुई महिनाकी पुगेपछि मैले नेपाल सरकारको परिवार नियोजन विभागमा काम शुरू गरेँ । निकै आहत भए पनि तत्कालीन सिनियर डाक्टर भेट्दा मेरो करार नवीकरण नगरिदिएकोमा मनमनै धन्यवाद दिन्छु, किनभने त्यो बेला मलाई नहटाइएको भए म महिला अधिकारप्रति सचेत हुन्न थिएँ कि ? त्यो मलाई अधिकारको बारेमा सचेत गराउने एउटा प्रमुख घटना थियो ।
महिला स्वास्थ्यबारे मेरो अधिकारमुखी लेखनको शुरूवात प्रसूतिगृहमा काम गर्दा देखेका घटनाकै कारण भयो । त्यहाँ काम गर्न थालेपछि देखेका केही घटनाले मलाई झकझकाए । त्यति बेला सुत्केरी हुन आउने महिलाले निकै धेरै बच्चा जन्माएको देख्दा म छक्क पर्थें, दिक्क पनि लाग्थ्यो र म उनीहरूलाई गालीसमेत गर्थें । मलाई त्यति बेला नेपाली महिलाको प्रजनन अधिकार उनीहरूमा छैन भन्ने हेक्का थिएन । यो कुरा सम्झँदा मलाई निकै ग्लानी हुन्छ ।
त्यसमध्येको एउटा विशेष घटना मलाई सम्झना छ । सन् १९८६ सेप्टेम्बर ९ भदौ– असोज २०४३ को कुनै शनिबार थियो । म प्रसूतिगृहको आकस्मिक सेवामा थिएँ । एकजना महिलालाई उनका श्रीमानले उपचार गराउन लिएर आए । ती महिलाको अनुहार पुरै सेतो थियो । के भएको भनेर खुट्ट्याउनै सकिनँ र म भन्दा अग्रज डाक्टरलाई बोलाएँ ।
ती महिलाले असुरक्षित गर्भपतन गराएको र अत्यधिक रक्तश्रावले उनको स्वास्थ्य नाजुक भएको अग्रज डाक्टरले बताउनुभयो । नयाँ-नयाँ डाक्टर बनेर आएकी मलाई के आत्मविश्वास थियो भने अस्पतालमा आएपछि जस्तोसुकै बिरामीलाई उपचार गरेर बचाउन सकिन्छ । मेरा अग्रज डाक्टरले अपरेसनको तयारी थाल्नुभयो, उनकाे श्रीमानलाई हामीले रगत लिन पठायौँ । तयारी गर्दागर्दै उक्त महिलाले हाम्रो आँखै अगाडि प्राण त्यागिन् । एकैछिनमा उनका श्रीमान् रगत लिएर आए । श्रीमतीलाई देखेपछि हातमा लिएको रगतको पोकोसँगै थचक्क बसे र अत्यन्त नराम्रो सँग रोए ।
ती महिलाले लगाएको हरियो सारी, हरियो चोलो, आधा फाटेको चप्पल र उनका श्रीमानको रुवाइ देखेर मलाई भएको पीडा ताजै छ । हामी डाक्टरले जस्तोसुकै बिरामीलाई पनि बचाउन सकिहाल्छौँ नि ! भन्ने मेरो आत्मविश्वास त्यही घटनाले चकनाचूर पारिदियो । एकछिन पछि मैले मृतकको श्रीमानलाई कसरी त्यस्तो भयो भनेर सोधेँ । उनीहरूका पाँचजना बच्चा पहिल्यै रहेछन् । छैठौँ बच्चा नजन्माउने निधो गरेपछि श्रीमतीलाई गाउँकै एक सुडेनीले आफूले परम्परागत रूपमा प्रयोग गर्ने गर्भपतनको औषधि दिइछन् र योनीमा राख्न अर्को औषधि दिइछन् । २४ घण्टापछि उनको शरीरबाट भ्रूण त निस्किएछ तर रगत बग्न रोकिएनछ र हनहनी ज्वरोसमेत आएछ ।
दुई दिनसम्म यस्तै हालतमा घरैमा राखेपछि छिमेकीले पैसा उठाएर ट्याक्सीमा प्रसूति गृहसम्म ल्याइपुर्याउँदा ३ घण्टा लागेको रहेछ । त्यो घटना घटेको साँझ मैले आफ्ना अग्रजहरूसँग ‘यसरी ज्यानै जानेगरी असुरक्षित गर्भपतन गराउँदा रहेछन्, बरु सुरक्षित गर्भपतनको लागि कानूनी प्रावधान होस् भनेर आवाज उठाउनु पर्छ’ भनेँ । मेराे कुरा सुनेर सबै जना हाँसे । उनीहरूले मलाई भने, ‘तिमी भर्खरै नयाँ आएकी छौ, शुरू-शुरूमा आउँदा सबैले यस्तै कुरा गर्छन् । यहाँ त एक महिनामा नै तीन-चार ओटा यस्ता बिरामी आउँछन् तिमीले कतिलाई बचाउन सक्छौ ?’
मेरो कुरालाई कसैले गम्भीरतापूर्वक लिएनन् । एकछिनपछि एकजना नर्सले मलाई भनिन्, ‘अहिले तपाई नयाँ हुनुहुन्छ, पुरानो हुँदै गएपछि अरूले जस्तै पैसा लिएर गैरकानूनी गर्भपतन गराउनुहुनेछ।’ मलाई ती महिलाको मृत्युले घोचिरहेकै थियो, नर्सको कुराले नराम्ररी बिझायो। उक्त घटना देखेको चार महिनापछि सन् १९८७ जनवरीमा मैले दृष्टि साप्ताहिकमा यसबारे छोटो लेख लेखेँ । ‘हामीले गर्भपतनलाई कानूनी मान्यता दिएको भए यसरी एकजना महिलाको अनाहकमा ज्यान जाँदैनथ्यो कि ?’ भन्ने तर्क दिएँ । यो सुरक्षित गर्भपतनको अधिकारबारे मैले गरेको पहिलाे पैरवी थियो ।
पत्रिकाकाे तत्कालीन सम्पादक रघु पन्तले मलाई आफ्नो लेखबारे आएका प्रतिक्रियाहरू देखाउनु भयो । ‘नेपाल जस्तो देशमा गर्भपतन गर्न पाउनुपर्छ भन्ने कस्ती डाक्टर ?’ भनिएका प्रतिक्रियाहरू थिए । ‘म यसको जवाफ दिउँ ?’ भनेर सम्पादकलाई सोधें, उहाँले ‘पर्दैन, छोड्दिनुस्’ भन्नुभयो । मैले गर्भपतनबारे लगातार लेखिरहेँ र प्रतिक्रिया दिनेहरू आफै सेलाए । लगभग तीन वर्षपछि २०४६ सालको आन्दोलन र प्रजातन्त्र पुनर्बहाली भयो ।
आन्दोलनकै क्रममा त्यति बेलाका महिला अधिकारकर्मीसँग भेटघाट र चिनजान भयो । त्यसपछि पत्रपत्रिका पनि धेरै प्रकाशन हुन थाले, बोल्न र लेख्न पहिलाभन्दा सजिलो हुँदै गयो । गर्भपतनले कानूनी मान्यता नपाए पनि त्यति बेला मैले कतिपय डाक्टरको नाम नलिइकन ‘यी-यी डाक्टरले सुरक्षित गर्भपतन गराउँछन्’ भनेर संकेत गरेँ । उनीहरूसँगको कुराकानी उदृत गरेर पत्रपत्रिकामा लेखेँ ।
बिस्तारै यसबारे अरूले पनि आवाज उठाउन थाले । त्यतिञ्जेल मेरो अधिवक्ता सपना प्रधान मल्ल र शान्ता थपलिया (हाल दिवंगत) सँग व्यक्तिगत चिनजान थिएन तर उहाँहरूले यसबारे बोलेको मलाई याद छ । शान्ता थपलियाले त यसबारे अनुसन्धान नै गर्नुभएको थियो । उहाँको संस्था (ल्याक लिगल एड एण्ड कन्सल्टेन्सी सेन्टर) ले सन् १९९५–१९९६ तिर हुनसक्छ विभिन्न जिल्लामा गएर ११ हजार जना महिला पुरुषको अन्तर्वार्ता लियो । यस अनुसन्धानमा ९० प्रतिशतभन्दा बढी महिला र पुरुषले गर्भपतनलाई कानूनी मान्यता दिनुपर्छ भनेका थिए । उक्त अनुसन्धानलाई मैले विभिन्न ठाउँमा कोट गर्थें ।
अधिकारवादी स्वास्थ्यकर्मीको रूपमा मेरो लेखनको शुरुवात चाहिँ दृष्टि साप्ताहिकमा सुरक्षित गर्भपतनको अधिकारबारे पैरवी गरेर भयो ।
तपाईँको अभिमत