आज वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना, कहाँ के हुन्छ ?

आज (आइतबार) को मौसम मुख्यतया सफा रहे पनि केही स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो दुई प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।
‘सदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ’, महाशाखाले भनेको छ । यस्तै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ ।
अपरान्हको समयमा कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
राति भने देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
वर्षा, हावाहुरी तथा हिमपातका कारण सामान्य जनजीवनमा असर पर्नसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
तपाईँको अभिमत