गर्भ रोक्ने साधन युट्युब, गुगल हेरेर प्रयोग गर्नु हुँदैन (भिडियो)
चिकित्सकको परामर्शबिना परिवारनियोजनका साधनहरु प्रयोग गर्न नहुने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.सुमित्रा गौतम बताउनुहुन्छ।
हेल्थपाटीसँगको कुराकानीमा डा.गौतमले महिलाले हर्माेनयुक्त अस्थायी साधन प्रयोग गर्दा विशेष ध्यान आग्रह गर्नुभयो ।
साधन प्रयोग गर्नेको उमेर तौल, शरीरको अवस्था, कति समयसम्म गर्भरोक्न खोजेको हो त्यो अनुसार परिवारनियोजनका साधन प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
मिडिया तथा सामाजिक सञ्जालमा आएका कुरा हेरेर साधन प्रयोग गर्ने प्रचलन बढ्दै गएको भन्दै डा.गौतमले यस्तो चलनलाई निरुत्साहित गर्नुपर्नै बताउनुभयो ।
‘साधनका बारेमा युट्युब हेरेर, गुगल, हेरर या मिडिया हेरर औषधि खाने चलन छ यसलाई निरुत्साहित गर्नुपर्छ’ डा.गौतम भन्नुहुन्छ, ‘डाक्टरकोमा गएर मैले खाएको औषधि के हो ? यसले कसरी काम गर्छ । कस्ता–कस्ता असर गर्नसक्छ भनेर जान्यो भने आफैँलाई राम्रो हुन्छ।’
कस्तो अवस्थामा कुन परिवारनियोजनको साधन प्रयोग गर्ने ? कसरस् गर्ने यसबारे स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.सुमित्रा गौतमले दिनुभएको जानकारी
नयाँ दम्पतीका लागि कस्तो साधन उपयुक्त ?
नवदम्पतीका लागि विभिन्न विधि छन् । एउटा औषधियुक्त भए । अर्काे कण्डमहरुको प्रयोग जसलाई बेरिअर मेथड पनि भनिन्छ। जुन आवश्यकता अनुसार प्रयोग गर्न मिल्छ । शरीरमा कुनै किसिमको असर गर्दैन ।
औषधियुक्त साधन भन्दा नव दम्पतीले प्रयोग गर्दा कति समयको लागि प्रयोग गर्ने हो, कति वर्षको लागि गर्भ रोक्न खोजेको हो त्यो अनुसार प्रयोग गर्नुपर्ने हुन्छ ।
यदि केही समयको लागि मात्रै रोक्न खोज्नुभएको हो भने खाने चक्की जसलाई ओसीपी पिल्स भनिन्छ त्यो प्रयोग गर्नु राम्रो हुन्छ।
यो दैनिक प्रयोग गर्नुपर्ने हुन्छ ।कुनै कारणले खान भुल्यो भने बच्चा बस्ने हुन्छ । ध्यान दिएर खानुपर्ने हुन्छ । यसको राम्रो पक्ष के छ भने बच्चा चाहिएको खण्डमा खान छाडेको तुरुन्तै बच्चा बस्न सक्छ ।
अरु साधनमा सुई पनि लगाउन सकिन्छ । ३ महिनो सुई हुन्छ । लगाउनै हुँदैन भन्ने होइन लगाउन हुन्छ । तर यो प्रयोग गरेपछि बच्चा चाहियो भने अलि ढिलो बस्छ भन्ने हुन्छ । ५ वर्ष बच्चा नजन्माउने हो भने इम्प्लान्ट पनि प्रयोग गर्न सकिन्छ । तर त्यसले पनि निकाल्नेवित्तिकै तुरुन्तै बच्चा नबस्न सक्छ ।
औषधिमा पिल्स खानु राम्रो । अझ त्यो भन्दा राम्रो त कण्डम भइहाल्यो ।
जे प्रयोग गर्ने भएपनि पहिला परामर्श लिने अनि आफैँ कन्भिन्स भएर प्रयोग गर्दा राम्रो हुन्छ।
एक महिना औषधि खायो, अर्काे महिना सुई लगायो फेरि अर्काे साधन प्रयोग गर्यो। यो राम्रो हुँदैन। यसो हुँदा ती साधनले काम नगर्ने र शरीरलाई असर गर्ने पनि हुन्छ ।
भर्खर बच्चा जन्मिएपछि रोक्न के गर्ने ?
जन्मान्तरका लागि प्रयोग गर्दा कति समयसम्म जन्मान्तर राख्ने भन्ने कुरामा भर पर्छ । जस्तो ५ वर्षको फरक राख्ने हो भने, सुई भए इम्प्लान्ट, कपर्टी जस्ता साधन प्रयोग गर्न सकिन्छ ।
भर्खर बच्चा भएका महिलालाई पिल्स चाहिँ सकेसम्म प्रयोग गर्दैनौँ । त्यसले दूध आउनमा कमी गर्छ भनिन्छ । हुनत दूध राम्रोसँग आइसकेपछि कम त हुँदैन । लामो समय प्रयोग हुने हो भने ३ महिने सुई वा ५ वर्षका लागि इम्प्लान्ट प्रयोग गर्न सकिन्छ । हैन हर्माेनयुक्त प्रयोग गर्दिन भने कपर्टी प्रयोग गर्न सकिन्छ । यो १२ वर्षसम्मका लागि हुन्छ ।
हरेक साधनको फाइदा र बेफाइदा छ । पिल्स चाहिँ दैनिक खानुपर्यो । बिर्सिएला भन्ने पीर हुन्छ । ३ महिनाको सुई लगाइयो हल्का तौल बढ्ने हुन्छ । तर यसलाई अन्य तरिकाबाट सन्तुलन गर्न सकिन्छ । यो छोडिसकेपछि अर्काे बच्चा चाहियो भने २ वर्ष प्रयोग गरेर २ वर्षभित्र अर्काे बच्चा जन्माउन सकिन्छ।
५ वर्षे इम्प्लान्ट जुन छालाको रुपमा राखिन्छ । यो पनि निकालेपछि बच्चा बस्छ भनिन्छ । सुई र यसको प्रजनन् क्षमता फिर्ता हुने समय लगभग उस्तैउस्तै हो ।
अर्काे कपर्टी यो पाठेघरमा राख्ने एउटा साधन हो । जुन तामाको तारले बनेको टी सेपको हुन्छ । यो चाहिँ निकालेपछि बच्चा बस्छ भन्ने हुन्छ। भर्खर सुत्केरी भएको महिलालाई यो प्रयोग गर्न सकिन्छ ।
कपर्टी चाहिँ सुत्केरी हुनेवित्तिकै राख्न पनि सकिन्छ । त्यो बेला राख्न सकिएन भने ६ हप्तापछि पनि राख्न सकिन्छ ।
कस्तो व्यक्तिले कस्तो साधन प्रयोग गर्ने ?
हर्मोन भएका र नभएका सधानहरू छन् । जस्तो औषधिहरू हर्माेयुक्त भए। कण्डम, कपर्टीहरु हर्माेन नभएका हुन् ।
हर्माेन भएको साधन प्रयोग गर्दा जाँच गर्नुपर्ने पनि हुनसक्छ । उमेर, तौल, कुनै दीर्घ रोग छकि छैन हेरिन्छ । परामर्श लिएर जाँच गरेर खानु पर्ने वा लगाउनुपर्ने हुन्छ ।
चक्कीको कुरा गर्दा मुटुरोग, लिभर, स्तन क्यान्सरको सम्भावना भएकालाई प्रयोग गरिँदैन । धेरै तौल भएका महिला छन् भने डिपो सुई र इम्प्लान्टले केही तौल बढाउँछ भनेर सकेसम्म प्रयोग गरिँदैन । कपर्टीतिर जानुहोस् भन्न सकिन्छ ।
श्रीमान नहुँदा पनि पिल्स चक्की छोड्न मिल्दैन
पिल्स खाने धेरै महिलाहरुले के गल्ती गर्नुहुन्छ भने हप्ता-दश दिनका लागि श्रीमान बाहिर गए औषधि खान छाड्नुहुन्छ । औषधि खान छाडेपछि गर्भवती हुने सम्भावना एकदमै धेरै हुन्छ । पिल्सको २८ वटा चक्की हुन्छन् । २१ वटा सेतो र ७ वटा रातो हुन्छन् । लगातार सेतोबाट सुरु गरेर २१ वटा सक्काएपछि रातो खाने हो । रातो औषधि होइन त्यो आइरन चक्की हुन्छ । त्यो छोड्न मिल्दैन । कहिले कँही एउटा छुट्यो भने दुवै एकै पटक खानुपर्ने हुन्छ ।
२ दिन छुट्यो भने २ दिनको एकपटक चाहिँ खाने तर पिल्स खानुको साथसाथै एकसातासम्म यौन सम्बन्ध राख्नुपर्यो भने कण्डमको प्रयोग गर्नुपर्ने हुन्छ ।
आफूखुसी प्रयोग गर्नु हुँदैन
यी सबै साधन प्रयोग गर्दा कुनैपनि जोडीले स्वास्थ्य संस्थामा गएर परामर्श लिएर गर्नुपर्ने हुन्छ । परामर्शमा स्वास्थ्यकर्मीले सबै कुरा भन्नुहुन्छ । कुनले कस्तो काम गर्छ ? कुन कस्तो हो ?
सबै कुरा सुनाएपछि आफैँ कन्भिन्स हुन्छन् । त्यसपछि त्यसप्रतिको डर हट्छ । कुनै–कुनै जोडिलाई चाहिँ परीक्षण गरेर मात्रै प्रयोग गर्नुपर्ने पनि हुनसक्छ ।
साधनका बारेमा युट्युब, हेरेर, गुगल, हेरर या मिडिया हेरर औषधि खाने चलन छ । यसलाई निरुत्साहित गर्नुपर्छ । डाक्टरकोमा गएर मैले खाएको औषधि के हो ? यसले कसरी काम गर्छ । कस्ता–कस्ता असर गर्नसक्छ भनेर भन्यो भने पछि आफैँलाई राम्रो हुन्छ ।
तपाईँको अभिमत