जन्मदिनको केक खाँदा बालिकाको मृत्यु, ३ जना पक्राउ

जन्मदिन मनाउन ल्याइएको केक खाएर एक बालिकाको मृत्यु भएको छ । घटना भारतको पञ्जाबको हो । पञ्जाबको पटियाला शहर निबासी १० वर्षीया बालिकोको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।
इन्डियन एक्सप्रेसमा प्रकाशित खबरअनुसार ५ कक्षामा अन्ययनरत मानवी नामकी बालिकाको २४ मार्चमा जन्मदिन थियो । बालिकाका परिवारले अनलाइन एपमार्फत केक अर्डर गरे । साँझ ७ बजेतिर केक काटिएको थियो । जन्मदिनको केक खाएपछि बालिका सुत्न गइन । मानवीका परिवारले प्रहरीलाई बताएअनुसार बिहान सबेरै उनले पानी मागिन् । पानी खाएर फेरि सुत्न गइन् । सुतेकै अवस्थामा उनी बेहोस् भेटिइन् ।
परिवारले तत्काल अस्पताल लग्यो । अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकले मृत घोषित गरे । मानवीका परिवारका थप ५ जनाले पनि बर्थडे केक खाएका थिए । उनीहरु पनि बिरामी परे ।
केकमा केही खराबी छ कि भनेर बाँकी केक लिएर मानवीको परिवार स्वास्थ्य विभाग गयो । तर त्यहाँका अधिकारीहरुले फिर्ता पठाइदिए। शवको भिसेरा जाँचपछि मानवीको मृत्युको कारण पत्ता लाग्ने स्वास्थ्य अधिकारीहरुले मानवीको परिवारलाई बताए ।
मानवीका आमा काजलले केक विक्री गर्ने पसलविरुद्ध उजुरी दिएकी छिन् । पटियाला प्रहरीले केक निर्माण गर्ने बेकरीका ३ जना कर्मचारीलाई प्रकाउ गरेको छ । गुरमीत सिंह नाम गरेका केक मालिक फरार भएको प्रहरीले जानकारी दिएको छ । पक्राय परेका ३ जनालाई आइतबार नै प्रहरीले अदालतमा पेश गरेको छ ।
जन्मदिन मनाएको भिडियो परिवारले समाजिक सञ्जालमा पोस्ट गरेको थियो । उक्त भिडियोमा मानवी निकै खुसी हुँदै केक खाइरहेको देखिन्छ । अरुले केक खुवाउँदै गरेको पनि देखिन्छ । उनको मृत्यु भएपछि भिडियो भाइरल भएको थियो ।
तपाईँको अभिमत