गुलियो खाना र जंक फुडले डण्डीफोर बढाउछ(भिडियो)
अनुहारमा डण्डीफोर आउने समस्या कुनै न कुनै समय प्राय सबैलाई परेको हुन्छ। डण्डीफोर यौवन अवस्थामा देखिने सामान्य समस्या भएकाले खासै आत्तिनु नपर्ने छाला तथा यौनरोग विशेषज्ञ डा.विकास पौडेल बताउनुहुन्छ।
उहाँका अनुसार डण्डीफोर विभन्न कारणले आउने भएपनि हामीले खाने खानेकुराले पनि यसलाई प्रभाव पारेको हुन्छ। चिल्लो धेरै खादा डण्डीफोर आउँछ भन्ने मान्यता भएपनि अनुसन्धानबाट त्यो गलत साबित भइसकेको डा.पौडेलले जानकारी दिनुभयो।
गुलियो खानेकुरा र मैदाबाट बनेका जंकफुडले डण्डीफोर बढाउन भूमिका खेल्ने उहाँको भनाइ छ।
पाटन अस्पतालमा कार्यरत छाला तथा यौनरोग विशेषज्ञ डा.विकास पौडेलले हेल्थपाटीसँगको कुराकानीमा डण्डीफोरबारे दिनुभएको जानकारी तल प्रस्तुत छ
डण्डीफोर के हो ?
डण्डीफोर एक किसिमको सामान्य समस्या हो। यौवन अवस्थामा सुरु हुन्छ। धेरैजसोमा १२–१३ वर्षको उमेरदेखि २५ वर्षको २५–३० वर्षको उमेरसम्म यो आउँछ। कसै–कसैलाई चाहिँ ३५, ४०, ४५ वर्षको उमेरसम्म पनि डण्डिफोर आउँछ।
एउटा चिल्लो बनाउने ग्रन्थी हुन्छ, जसलाई सेबसियस ग्रन्थी भनिन्छ। समान्यतया त्यसले डण्डीफोर गराउने हुन्छ।
डण्डीफोर हुने मुख्य ४ वटा कारण हुन्छन्।
एउटा– त्यो सेबसियस ग्रन्थीले बढी हर्माेन उत्पादन गर्यो भने आउँछ । यसलाई ओभर सेक्रेसन सेबेसियस ग्लाण्ड भनिन्छ। युवा अवस्थामा हर्माेनको गडबडी हुन्छ।
दोस्रो-चिल्लोपना आउने ग्रन्थीको बाटो केही कारणले ब्लक हुने हुन्छ। यसले पनि डण्डीफोर आउन भूमिका खेल्छ।
तेस्रो-हाम्रो छालामै हुने कीटाणुका कारणले हुन्छ। विभिन्न किसिमका कीटाणु हुन्छन् कीटाणुको संक्रमण भयो भने डण्डीफोर आउने हुन्छ।
चौथो-भनेको ती सबै मिलेर एजर्ली भयो भने पनि आउँछ।
यी बाहेक पनि अन्य विभिन्न कारण छन्। जस्तो वातावरणीय प्रभाव, हामीले खाने खाना, चिन्ताले गर्दा, छालामा कस्ता मेकअपका सामग्री लगाउनुहुन्छ यसले पनि डण्डीफोर आउनमा भूमिका खेल्छ।
अनुहारमा बाहेक छातीमा, पाखुरामा ढाडमा पनि आउँछ। एउटा समस्याले भन्दा पनि सबै कुराको मिश्रित कारणले डण्डीफोर आउँछ।
उपचार कसरी गर्ने ?
डण्डीफोर आत्तिहाल्नु पर्ने खालको समस्या होइन। आत्तिनु हुँदैन। कसरी समाधान गर्ने भन्नेमा हामी लाग्नुपर्छ। डण्डीफोर विभिन्न प्रकारको हुन्छ। विभिन्न तहमा हुन्छ। सामान्य खालको माइइलड किसिमको कमिडोनल एक्मी भन्ने समान्य खालको हुन्छ। यस्तो
सामान्य खालको फेसवासले पनि ठिक हुन्छ।
मध्यम किसिमको डण्डीफोर छ भने त्यसका लागि लगाउने औषधि हुन्छ। खाने विभिन्न एन्टीबायोटिक औषधि हुन्छ। विभिन्न भिटामिनहरु हुन्छन्। जस्तो बेञ्जोल पेरोसाइट्स भन्ने औषधि हुन्छ। त्यसले पनि फाइदा गर्छ।
मध्यम किसिमको डण्डीफोरमा कहिले कहीँ हामीले खाने औषधि पनि राख्छौँ।
कडा किसिमको डण्डीफोरमा खाने, लगाउने, कहिले कहीँ विभिन्न किसिमको अप्रेसन नै गर्नुपर्ने हुन्छ।
कुन उमेरमा आएको डण्डीफोरबाट सचेत हुने ?
यौनव अवस्थामा आउने डण्डीफोरबाट आत्तिनु हुँदैन। कडा किसिमको आएको छ भने चिकित्सकको परामर्शमा औषधि उपचार गर्नुपर्छ। ३० उमेरपछि डण्डीफोर आउँदा भने कुनै हर्माेको गडबडीले, कुनै संक्रमणले होकि, आफूले खाइरहेको कुनै कुराले होकि वा आफ्नो पेसाका कारण हो भनेर सचेत हुनुपर्छ।
यदि महिनावारी सुक्ने बेलातिर डण्डीफोर आइरहेको छ भने त्यो बेलामा सचेत हुनुपर्छ। यौवन अवस्थामा आएको डण्डीफोरमा खासै आत्तिनु पर्दैन। खत बनाउन सक्ने भएको कारणले उपचारमा लाग्नुपर्छ।
अरुले प्रयोग गरेको औषधि कुनैपनि रोगमा चिकित्सकको सल्लाहबिना प्रयोग गर्नु उपयुक्त होइन। डण्डीफोरको कुरा गर्दा साथीलाई आएको डण्डीफोर कुन किसिमको हो। उसको उमेर, उसको छालाको किसिम, उसको तौल आदिमा निर्भर गर्छ। सबै मान्छेमा एउटै किसिमको औषधि प्रयोग गर्नुहुँदैन। त्यसैले पनि अरुले प्रयोग गरिरहेको औषधि उसै प्रयोग गर्नुहुँदैन।
डण्डीफोरबाट बच्न खानपिनमा कसरी सजग हुने ?
खानेकुराको डण्डीफोरमा के असर छ भनेर लामो समयदेखि अनुसन्धानहरु भइरहेको छ। पहिला–पहिला चिल्लो बढाउने खानेकुरा जस्तो घिउहरु, कुनैपनि चिल्लोजन्य खानेकुराले डण्डीफोर बढाउछ भन्ने मान्यता थियो। आजकाल त्यो कुरा होइन भन्ने प्रमाणित भइसकेको छ।
कुनैपनि चिनीजन्य खानेकुराले डण्डीफोर बढाउँछ भनिएको छ। जस्तो, चलेट, आइसक्रिम, कोल्डड्रिंक्स लगायत अनावश्यकरुपमा गुलियोपना मिसाइएको खानेकुरा छ भने त्यसले डण्डीफोर बढाउँछ।
त्यस्तै गरेर जंकफुड, जंकफुडले डण्डिफोर बढाउँछ। पिज्जा, बर्गर, खानुभयो जुन मैदाबाट बनेको छ। तिनीहरुले झन् बढाउँछ।
के कुराले कम गराउँछ भन्दा प्रशस्त मात्रामा झोल कुरा खाने, सागसब्जी, फलफुल, काँचो खानेकुरा खादा फाइदा पुग्छ।
तपाईँको अभिमत