नर्सको समस्या समाधानका लागि संघले अभिभावकत्व बहन गर्नेछ
संघ उहाँहरुका मागका सम्बन्धमा अध्ययन गरि अघि बढ्नेछ
बिरामीको उपचार डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगी सबैको टिम वर्कबाटमात्रै सम्भव छ । त्यो टीमको अभिन्न अंग नर्स हो । बिरामीसँग धेरैसमय बिताउने त नर्स नै हुन् ।
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा हाल ९५ हजारभन्दा बढी नर्स रहेका छन् । पीसीएल पास गरेका नर्स ६० हजार ७९५, अनमी ३३ हजार ७४५ र विदेशी नर्स ८४४ गरि ९५ हजार ३८४ नर्स काउन्सिलमा दर्ता छन् ।
जसमध्ये करिव ४० हजार नर्स बेरोजगार रहेका छन् । जागिरमा रहेकामध्ये धेरैजसो नर्सहरु हाल कोरोना उपचार र रोकथाम व्यवस्थापनमा छन् । २४ सै घण्टा बिरामीसँग रहने नर्सको अवस्था अहिले कस्तो छ ? के–कस्ता समस्याहरु छन् र समाधानका लागि के–कस्ता पहल भइरहेको छ भन्ने सम्बन्धमा तुलसा घिमिरेले नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राईसँग कुरा गर्नुभएको छ ।
कोरोना महामारीमा नर्सको भुमिकालाई नेपाल नर्सिङ संघ(नान)ले कसरी लिएको छ ?
नर्स, डाक्टर, प्रयाेगशालाकर्मी, अन्य स्वास्थ्यकर्मी लगायत अस्पतालमा कार्यरत सहयाेगीहरु अग्रपंक्तिमा खटिएका व्यक्तिहरु हुन्। उहाँहरु नै काेराेनाकाे उच्च जाेखिममा हुनुहुन्छ । त्यसमा पनि अस्पताल पुगेका बिरामीको पहिलो भेटदेखि फिभर क्लिनिक, आकस्मिक, आइसियु र भेन्टिलेटरसम्म बिरामीको हेरचाह र उपचारमा लामो समयसम्म खटिने स्वास्थ्यकर्मी नर्सहरु नै हुन् ।
जस्तोसुकै दुख, पीडा र आत्म सम्मानमासमेत चोट पुग्दा पनि आफ्नो जिम्मेवारीबाट नर्स पछि हट्दैन भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।
वर्तमान समयमा हाम्रा नर्स दिदि बहिनी आफ्ना दुधे बच्चालाई छोडेर, घरपरिवार लाई टाढा राख्दै आफ्नै जीवन दाउमा थापेर निरन्तर बिरामीको सेवामा खटिरहनुभएकाे छ । कर्तव्यबाट कत्तिपनि बिचलित नभई बिरामीकै सेवामा लागेका नर्स दिदिबहिनी, दाजु–भाइलाई नेपाल नर्सिङ संघ उच्च सम्मान गर्दछ । आफ्ना विभिन्न समस्यालाई पाखा लगाउँदै मेरो पहिलो कर्तव्य बिरामीको हेरचाह गर्नु नै हो भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै महामारीको युद्धमा उहाँहरु अग्रस्थानमा हुनुहुन्छ । त्यसैले उहाँहरुको भुमिका अतुलनिय छ । इतिहासले उहाँहरुको कामकाे उच्च मुल्यांकन गर्नेछ ।
हाल देशभर कोरोना उपचारमा अग्र भागमा खटिएका नर्सहरुकाे तथ्यांक राख्नुभएकाे छ ?
एकिन तथ्यांक त छैन । तर देशभरका कोभिड अस्पतालहरुमा पहिलाको भन्दा अहिले नर्सको संख्या धेरै छ । अरु अस्पतालहरुमा पनि २० प्रतिशत बेड कोभिड उपचारमा छुट्याउनपर्ने सरकारको निर्णय भएपश्चात कोरोना संक्रमितको उपचार गर्ने नर्सको संख्या उल्लेख्य रुपमा बढेकाे छ ।
तरपनि नर्सको भुमिकाको अवमुल्यन हुन्छ, केही दिनअघि मात्रै पनि एक डाक्टरको घारणाले नर्सहरु दुखी छन् नि ?
बिरामीको उपचार डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगी सबैको टिम वर्कबाट मात्रै सम्भव छ । त्यो टीमको अभिन्न अंग नर्स हो । बिरामीसँग धेरैसमय बिताउने त नर्स नै हुन् ।
नर्सले आफ्नो दुखलाई बिर्सेर बिरामीको दुखाई र घाउँमा मल्हम लगाउदै बिरमीलाई तनावमुक्त गर्ने प्रयासमा हुन्छन् । यो जगजाहेर यथार्थ हो । डाक्टरको निर्देशनमा बिरामीको हेरचाह र औषधि उपचारमा नर्स खटिनुहुन्छ ,चाहे त्यो अप्रेशन थियटरमा होस् या वार्डमा । कामको हिसावले त नर्सनै अगाडि हुनपर्ने हो तर काम भन्दा पद हेरिन्छ । नर्समा धेरैजसो महिला हुनुहुन्छ । जसरी हाम्रो समाजले महिलालाई संकुचित दृष्टिकोणले हेर्छ, हाम्रो पेशामा पनि त्यस्तै छ भन्दा फरक नपर्ला ।
एकातर्फ समाजले छि–छि दुरदुर गर्ने अर्काेतिर समयमा नै तलव तथा जोखिमभत्ता नपाउने
अब कुरा आयो, डाक्टरकाे अभिव्यक्तिको, उहाँसंग हामीले यस विषयमा कुरा गर्यौ । उहाँले आफुले गलत नियतले त्यसो नभनेको भनेर माफी मागी सक्नुभएको छ । अहिले झगडा र दैष राख्ने समय होइन, एक अर्काबीच मनमुटाव हुँदा असर बिरामीलाई पर्छ । जस्तोसुकै दुख, पीडा र आत्म सम्मानमासमेत चोट पुग्दा पनि नर्स आफ्नो जिम्मेवारीबाट पछि हट्दैन भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।
हामी जस्तोसुकै पीडा हुँदा पनि उच्च मनोबलका साथ काम गर्नसक्छौ भन्ने प्रमाण पनि हो । नर्सको हौसलामा कमी आउन नदिन नर्सिङ संघ सदैव लड्नेछ । ढुक्क हुनुहोस्, नर्सको हक-हितका लागि नर्सिङ संघ सधै तपाईँकाे साथमा छ ।
देशभर हालसम्म कति नर्स संक्रमित भएका छन् ?
संघले ७ वटै प्रदेशमा फोनसम्पर्क गरि बुझ्दा अहिलेसम्म १८५ जना नर्स कोरोना संक्रमणको शिकारमा पर्नुभएको छ । मैले यो तथ्यांक भनिरहँदा संख्या बढिसकेको पनि हुनसक्छ किनकी धेरैको पीसीआर रिपोर्ट आउने क्रम चलिरहेको छ ।
संक्रमित नर्सहरु के भन्नुहुन्छ ?
उहाँहरु निकै तनावमा हुनुहुन्छ । एकातर्फ समाजले छि–छि दुरदुर गर्ने अर्काेतिर समयमा नै तलव तथा जोखिमभत्ता नपाउने । परिवारको दबाबकाबीच जागिर नछोडी अस्पताल धाइरहेका कतिपय नर्सहरुले जोखिमभत्ता नपाएको दुखेसो गर्नुभएको छ । परिवारलाई किनारा लगाउँदै बिरामीको उपचारमा खटिदा संक्रमित हुनुपर्दा परिवार रिसाएको दुखेसो पनि छ ।
नर्सका नीतिगत मुद्धाहरु थुप्रै छन्, अहिले महामारीको बेला भएकाले हामी पनि महामारी नियन्त्रणमै केन्द्रित छौ ।
अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त पीपीई नभएको तथा पीपीई भएका संस्थाहरुका कतिपय नर्सले पीपीई लगाउन नजान्दा संक्रमण भएको हो कि भन्ने कुरा गर्नुभएको छ । उहाँहरु भन्नुहुन्छ,“छिटै निको हुन पाए फेरि बिरामीलाई हेर्न पाइन्थ्यो । हेर्नुस त, पेशाप्रति उहाँहरुको समपर्ण ।” मैले अगाडि पनि भनिँसके, उहाँहरुको जति प्रशंशा गरेपनि कमै हुन्छ ।
हाल नर्सका समस्याहरु के–के छन् र समाधान के–के भए ?
अहिले नर्सका सबैभन्दा धेरै गुनासो लामो समयसम्म ड्युटी गर्न परेको र समयमा तलव र जोखिम भत्तता नदिएको भन्नेछ । हामीले थाहा पाएका र सम्पर्कमा आएकाहरुका समस्याको समाधान गरिरहेका छाैं । जागिरबाट हटाइएका भरोसा अस्पतालका २ जना नर्स , मानव अंग प्रत्यारोपणका ३६ जना नर्सलाई पुर्नस्थापित गरेका छौ । मानव अंग प्रत्यारोपणका एक जना बहिनीले आफुले नियुक्ती नलिइ हाजिर गर्नुभएको छैन ।यस्तै बीएण्डबी अस्पतालको पनि समस्या समाधान भएको छ ।
विभिन्न अस्पतालमा तलव नदिएको भन्ने गुनासो आएको थियो, हामीले तुरुन्तै अस्पताल प्रमुखहरुलाई फोन गरि समस्याको सम्वोधन गरिरहेका छौ, धेरैकाे समस्या समाधान भइसकेकाे छ । संघको देशभर २१ वटा शाखा छन् । हामीले अहिले ती शाखालाई सक्रिय बनाएका छौ ताकि जहाँ समस्या छ त्यहीबाट समाधान गर्न सहज होस् । अहिलेको अवस्थामा जुन स्थानमा समस्या छ त्यहाँ जान सक्ने अवस्था छैन, त्यसैले संघमा गुनासा आउने बित्तिकै हामीले सम्वन्धित निकाय र व्यक्तिलाई फोनसम्पर्क गरि समाधान गरिरहेका छौ ।
हामीले नर्स तथा स्वास्थ्यकर्मीको बीमाको सम्वन्धमा पनि पहल गर्यौ । अस्पतालमा काम गर्ने नर्समात्रै बीमा भइरहेकोमा नर्सिङ अध्यापन गराउनेलाई पनि हामीले अस्पताल तथा कलेजहरुमा पत्राचार गरिसकेका छौ । हामी वेवीनार मार्फत पनि आफ्ना समस्याहरु बुझ्ने काम भइरहेको छ र नर्सलाई कुनैपनि समस्या भए संघलाई खवर गर्नु भनेका छौ । संघले समाधानका लागि पहल गर्नेछ ।
संघ उहाँहरुका मागका सम्बन्धमा अध्ययन गरि सोही अनुसार अघि बढ्नेछ । म के भन्छु भने संघ हाल नेपालमा रहेका करिव १ लाख नर्सको अभिभावक हो । संघले अभिभावकत्व बहन गर्नेछ ।
नर्सको हक/हितका लागि संघले प्रस्तुत गरेका नीतिगत मुद्धाहरु के–के हुन् ?
नर्सका नीतिगत मुद्धाहरु थुप्रै छन् । सरकारको तोकेको न्यूनतन तलवको कुरा देखि एक चिकित्सक/स्वास्थ्यकर्मी,एक संस्थासम्मको । तर अहिले महामारीको बेला भएकाले हामी पनि महामारी नियन्त्रणमै केन्द्रित छौ । पर्याप्त पीपीई तथा जोखिमभत्ताको विषय उठान भएको छ । त्यस्तै यदि नर्स तथा स्वास्थ्यकर्मी अन्य बिरामी वा संक्रमित भई उच्चस्तरीय उपचार आवश्यक परेको खण्डमा यातायात तथा उपचारको व्यवस्था मिलाउन संघले पहल गरेको छ ।
सरकारको निर्देशनअनुसार स्वास्थ्य संस्थाहरुमा काम भएको/नभएको सम्वन्धमा अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उच्च स्तरीय कमिटि बनेको छ । सो कमिटिमा संघकाे पनि प्रतिनिधित्व छ, हामीले आफ्ना मुद्धाहरु त्यहाँ पनि उठाइरहेका छाै ।
नर्सहरु आन्दोलित भएका छन् नी ?
आफ्नो हक/हितको माग गर्न पाउनु सबैको अधिकार हो । उहाँहरु पनि आफ्नो हक-हितका लागि आन्दोलित हुनुभएको छ । उहाँहरुले उठाउनु भएका धेरै मागहरु नर्सिङ संघको एजेण्डामा नै पर्दछ । म के अनुरोध गर्दछु भने यो समय आन्दोलन गर्ने बेला होइन, बिरामीको उपचार गरि राज्यलाई सहयोग गर्ने समय हो, अवस्था हेरेर अघि बढ्नुपर्छ ।
संघ उहाँहरुका मागका सम्बन्धमा अध्ययन गरि सोही अनुसार अघि बढ्नेछ । म के भन्छु भने संघ हाल नेपालमा रहेका करिव १ लाख नर्सको अभिभावक पनि हाे, धेरै मागहरु संघ भन्दा पनि काउन्सिल तथा विभाग सँग सम्वन्धित छन्, संघले अभिभावकत्व बहन गर्दै उहाँहरुकाे समस्या समाधान गर्न पहल गर्नेछ ।
तपाईँको अभिमत