नेपालमा एचआइभीको नयाँ संक्रमण ६४ प्रतिशतले घट्यो
काठमाडौं । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस । ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतना कार्यक्रम हुदैछन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल २९ हजार ५ सय ३ जना एचआईभी संक्रमित छन् । जसमा पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ ।
केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेको जानकारी दिनुभयो । नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ ।
तथ्याङ्क अनुसार वि.सं. २०७७ असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना मात्र एआरभी उपचारमा रहेका छन्। सन २०१० को तुलनामा सन २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ । यस्तै एड्सको कारणले मृत्यु हुनेदर ८५ प्रतिशतले घटेको छ ।
हाल एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको छ ।
यसैबीच नेपालमा महामारी सुरु भएयता ३० एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको केन्द्रले जनाएको छ । ३० जनानै कोरोनामुक्त भइसकेका छन् ।
तपाईँको अभिमत