‘खाद्यपूरक आहारालाई पनि औषधि सरह कर छुट दिनुपर्छ’
हाम्रो खाना शुद्धिकरणका लागि हामीले अर्गानिक खाना खानुपर्छ । अर्गानिक खानेकुरामा हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू पूर्ण रूपमा हुन्छन् । क्यालोरी, भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट लगायतका तत्त्वहरू हुन्छन् । तर पछिल्लो समय हामीले भोक मेटाउनका लागि खाइरहेको खानामा ती तत्त्वहरूको अभाव भएकाले अब आहार पूरक (फुड सप्लिमेन्ट्री) को जरुरत परेको हो । फुड सप्लिमेन्ट्रीले नियमित खाने खानामा नभएका तत्त्वहरूको परिपूर्ति गर्छ ।
फुड सप्लिमेन्ट्री के हो ?
फुड सप्लिमेन्ट्री भनेको कुनै पनि प्राकृतिक खानाबाट त्यसको पौष्टिक तत्त्वहरू वा भनौँ सारतत्त्व निकालेर तयार पारिएको आहार पूरक खानेकुरा हो । यसको ‘आरडी भ्यालू’ भनिन्छ, जसलाई विभिन्न औषधि जस्तै गरी मात्राका आधारमा खाने गरिन्छ । एमजी, ग्राम जस्ता मात्रमा खाइन्छ । बोक्न र राख्न सजिलोका लागि यसलाई ट्याबलेट, क्याप्सुललगायत विभिन्न रूपमा बनाइन्छ । यसरी हेर्दा यो औषधि जस्तो देखिए पनि खासमा औषधि भने होइन । यो आहार अन्तर्गत नै पर्छ ।
फुड सप्लिमेन्ट्री भोक मार्नका लागि होइन । यसले खानेबित्तिकै इनर्जी आइहाल्यो भन्ने हुँदैन । इनर्जी भनेको त कार्बोहाइड्रेट हो । मानौँ चामलको भात । यो खानेबित्तिकै तुरुन्तै इनर्जी प्राप्त हुन्छ । फुड सप्लिमेन्ट्रीले त्यसो हुँदैन । यसले खाना खाँदा प्राप्त हुन नसकेका पौष्टिक तत्त्वको परिपूर्ति गर्ने र पौष्टिक तत्त्वको अभावबाट हुन सक्ने नकारात्मक असरलाई रोक्ने काम गर्छ । यदि असर देखिइसकेको छ भने पनि त्यसलाई नियन्त्रण गर्न सहयोग गर्छ ।
औषधि र फुड सप्लिमेन्ट्रीमा फरक
औषधि र फुड सप्लिमेन्ट्रीमा धेरै फरक छ । औषधिले खानेबित्तिकै तुरुन्त काम गर्छ । तर फुड सप्लिमेन्ट्रीको असर लामो समयपछि मात्र देखिन्छ । उदाहरणका लागि सिटामोललाई लिऔँ । सिटामोल खाएको निश्चित समयभित्र त्यसको असर देखिन सुरु भएर निश्चित समयसम्म त्यसले काम गर्छ । सप्लिमेन्टहरू त्यस्तो हुँदैनन् । जुनसुकै सप्लिमेन्ट खाँदा पनि कम्तिमा तीन महिना चाहिँ खानैपर्छ । तीन महिनापछि मात्र सप्लिमेन्ट खाएको नतिजा महसुस गर्न सकिन्छ ।
किन महङ्गो छ ?
फुड सप्लिमेन्ट्री आजको दिनमा अपरिहार्य छ । तर हामी नेपालीहरूको क्रय शक्ति अझै कमजोर छ । फुड सप्लिमेन्ट्री निश्चय नै सामान्य खानेकुरा भन्दा महङ्गो हुन्छ । महङ्गो हुनुका दुई वटा कारण छन् । एक प्राकृतिक खानेकुराको सारतत्त्व मात्र निकालेर थोरै मात्रामा बनाउनुपर्ने भएकाले यो महङ्गो हुन्छ । अर्को सरकारले यसलाई भ्याट लगाइदिएको छ । औषधिमा भ्याट छुट छ । तर खाद्यपूरकमा अन्य सामान सरह नै सरकारले भ्याट लगाइदिएको छ ।
उदाहरणका लागि आलसलाई लिऔँ । आलसमा ओमेगा ३, ओमेगा ६ जस्ता तत्त्व पाइन्छ भन्ने अनुसन्धानले देखाएको छ । यो अचारका रूपमा खाइने गरिन्थ्यो । अहिले यो सबैले खाने गरेको पाइन्न । नखाने व्यक्तिलाई पनि यसमा पाइने पौष्टिक तत्त्व पु¥याउनुप¥यो । जसका लागि यसको सारतत्त्व निकाल्नु पर्छ । यसरी १०० केजी आलसको सारतत्त्व निकाल्दा १० केजी बराबर मात्र बन्छ । ९० केजी त खेर गयो । अब १०० केजीको मूल्यभार १० केजीले उठाउनुपर्छ । यसो हुँदा फुड सप्लिमेन्ट्री सामान्य खानेकुरा भन्दा महङ्गो हुन्छ ।
वातावरण र कच्चा पदार्थ
नेपाल जस्तो हावापानी भएको मुलुकमा विभिन्न जडिबुटी र खानेकुरा पाइन्छ । यस्तो हावापानीमा हुने खानेकुरामा पौष्टिक तत्त्व भरपुर पाइन्छ भन्ने अध्ययनहरूले देखाएका छन् । त्यसैले फुड सप्लिमेन्ट्रीका लागि कच्चा पदार्थ नेपालमै प्रशस्त पाइन्छ । तर नेपालको कानुन, भौगोलिक अवस्था, उद्योगहरूको क्षमता लगायतका विभिन्न समस्याका कारण यहाँ भएका सबै कच्चा पदार्थको समुचित प्रयोग गर्न सकिएको छैन । यसले गर्दा कतिपय वस्तु आयात गर्नु परेको छ ।
भटमास, कोदो, अमला लगायतका खाद्य पदार्थमा पनि थुप्रै पौष्टिक तत्त्व पाइन्छ । भारतमा कोदोको मूल्य नै निर्धारण गरिएको छ । त्यो नेपालमा गर्न सकिएको छैन । त्यस्तै हिमाली र पहाडी क्षेत्रमा पाइने थुप्रै खाद्य पदार्थ फुड सप्लिमेन्ट्री निर्माणका लागि निकै उपयुक्त छन् ।
नेपालमा रहेका उद्योगहरूको क्षमता
नेपालमा भर्खरै मात्र फुड सप्लिमेन्ट्रीका लागि उद्योगहरू आधिकारिक रूपमा सुरु भएका छन् । यसमा लगानी अझै सानै छ । यस हिसाबले उद्योगहरूको क्षमता ठूलो छैन । नेपालको माग पनि यहाँका उद्योगहरूले धान्न सकेका छैनन् ।
यहाँका उद्योगहरूले कोदो, मकै जस्ता खाद्य पदार्थबाट पौष्टिक तत्त्व एब्स्ट्रयाक्ट गर्ने क्षमता राखेका छैनन् । कतिपय खाद्य पदार्थको सारतत्त्व निकाल्न विशेष प्रविधिको आवश्यकता पर्छ । त्यस्ता कतिपय प्रविधि नेपालमा छैन । त्यसरी नेपालमा निकाल्न नसकिएका वस्तुहरू आयात गर्ने गरिएको छ । आयात गरेकोमा पूर्ण पौष्टिक तत्त्व छ कि छैन भनेर जाँच गरिन्छ । अनि मात्र क्याप्सुल वा ट्याब्लेट विभिन्न रूपमा प्याकेजिङ गरिन्छ ।
नीतिगत तथा कानुनी समस्या र अड्चनहरू
वास्तवमा फुड सप्लिमेन्ट खाद्य पदार्थ नै हो । तर फेरि सामान्य खाद्य पदार्थ जस्तो होइन । यो ‘स्पेशल डाइट थेरापी फर्म’मा हुन्छ । यो हिसाबले यसलाई औषधि जस्तै कर छुट दिनुपर्छ । भन्सार, भ्याटलगायतका करमा छुट दिनुपर्छ भन्ने हाम्रो माग छ । कर छुट भएमा यसको मूल्य केही कम हुने थियो । सेवन गर्ने नेपालीको सङ्ख्या बढ्ने थियो ।
औद्योगिकरण गर्ने प्रयत्न भइरहेका छन् । यसका लागि केही कानून बनेका छन् । तर पर्याप्त छैनन् । हामी खाद्यान्नसँग सम्बन्धित भएकाले भ्याटमा दर्ता छौँ । हामी किसानसँग कच्चा पदार्थहरू खरिद गर्छौँ । किसानसँग भ्याट बिल हुँदैन । हामीले किसानबाट बिल पाउँदैनौँ । हामीसँग बिक्री गरेको भ्याट बिल मात्र हुन्छ । त्यसलाई हरेक महिना २५ गते अपडेट गराउनुपर्छ । जसले गर्दा हामी मारमा छौँ ।
नेपाली उद्योगलाई प्रतिस्पर्धा गर्न सक्ने बनाएर आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्छ । खाद्य पूरक आहाराको आयातलाई प्रतिस्थापन गर्न सके मुलुकबाट पैसा बाहिर जान पाउँदैन । व्यापार घाटालाई पनि न्यूनीकरण गरिन्छ । यसो किन भनिरहेको हो भने अहिले अरबौँ रुपैयाँको पूर्ण तयारी भएको फुड सप्लिमेन्ट भित्रिइरहेको छ । साथै यसको कच्चा पदार्थ करोडौँको आइरहेको छ । यसलाई कम गर्न राज्यले प्रोत्साहनको व्यवस्था गर्नुपर्छ ।
(१८ वर्षदेखि आहार पूरक क्षेत्रमा काम गर्दै आउनुभएका समिल राई आहार पूरक उत्पादन गर्ने उद्योगी हुनुहुन्छ ।)
प्रस्तुति : सन्तोष निरा राई
तपाईँको अभिमत