'सिनियरबाट भएको दुर्व्यवहारले रातभर रोएँ' (भिडियो)
खोटाङमा जन्मिएर उदयपुरमा स्कुले जीवन बिताउनुभएकी सस्मिता राई हाल रजिष्टर्ड नर्स हुनुहुन्छ । खोटाङमा खासै स्वास्थ्यकर्मी नपुगेको, त्यहाँका बासिन्दाले धामी, झाँक्रीलाई विश्वास गर्दा स्वास्थ्य झन खराब भएर मृत्युवरण गर्नुपरेको दृश्यले सस्मितालाई एसएलसी पास भएपछि मेडिकल शिक्षामा प्रवेश गर्ने इच्छा जागेको थियो।
२०७० मा एसएलसी पास हुनुभयो र २०७१ मा नर्सिङ शिक्षाको यात्रा सुरु भयो । २०७५ सालमा पिसिएल नर्सिङ पास गर्नुभयो । कोभिडले केही समय उहाँ बेरोजगार बस्नुपर्यो।
नर्सिङ पढाइका बेला र पढिसकेपछि स्वास्थ्य सेवामा समय बिताउँदाका थुप्रै अनुभवहरु छन् उहाँसँग।
'पढ्दा सिद्धान्तमा मात्रै आधारित प्राक्टिल हुने र व्यवहारमा सोही कुरा उतार्दा परिपक्व बनिने रहेछ' सम्मिता सुनाउनुहुन्छ। पढ्दा राम्रो अंक ल्याइ पास हुन प्राक्टिकल गरिन्छ भने नर्सिङ पास भएर लाइसेन्स लिएपछि पेशागत रुपमा काम गर्न अनुभव चाहिने कुरा उहाँले बोध गर्नुभएको छ।
उहाँको बुझाइमा नर्स जिम्मेवारी लिएर हिडेको एक जना परिपक्व स्वास्थ्यकर्मी हो । बच्चादेखि वृद्ध-वृद्धासम्मलाई उनीहरुको व्यवहार अनुसार नर्सले त्यस्तै व्यवहार गर्नुपर्ने सिकाइ उहाँको छ।
बिरामीको हेरचाह र उपचारमा पूर्ण जिम्मेवारीका साथ हिड्नुपर्छ, जस्तोसुकै परिस्थितिलाई ह्याण्डल गर्नसक्ने क्षमता नर्ससँग हुनुपर्छ । यो उहाँको सिकाइ हो।
नर्स बिरामीको उपचारमा रोल मोडल रहेको बुझाइ उहाँको छ । तर कतिपय नर्सले आफ्नो जिम्मेवारीबारे थाहै नभएको जस्तो व्यवहार देखाउने उहाँ बताउनुहुन्छ।
बयोधा अस्पतालमा काम गर्दाको अनुभव सस्मिता सुनाउनुहुन्छ 'आर्थिक अवस्था कमजोर भएर उपचारमा आउनुभएका एक वृद्धको उपचारमा सहयोगको प्रयास गरेपछि उहाँ निकै खुसी हुनुभयो । अँगालो मार्दै नानीको सहयोगले उपचार भयो मेरो चप्पल किन्ने पैसा जोगिएको भनिरहनुभएको थियो। खुसी भएर उहाँले मलाई चकलेट दिनुभयो, ती वृद्धले दिनुभएको मैले अझै जतनले राखेको छु।'
काम गर्दाको पहिलो सुखद क्षण यही रहेको सुस्मिता बताउनुहुन्छ।
कहिलेकाँही स्वास्थ्यकर्मीमाथि हुने व्यवहार अस्पतालको व्यवस्थापन, सिस्टमले पनि फरक पर्ने उहाँको भनाइ छ।
नर्सिङमा पढाइमा र्यागिङको समस्या धेरै छ। सिनियरले जुनियरलाई र्यागिङ गरेर धेरै सताउने गरेको उहाँ बताउनुहुन्छ। यतिसम्म की, आफूले पढेको कलेजमा बसमा यात्रा गर्दा सिट पनि सिनियर-जुनियरलाई भनेर छुट्याइन्थ्यो । पहिलो वर्ष, दोस्रो वर्षका विद्यार्थीलाई भनेर सिट छुट्याइएको हुन्थ्यो।
पहिलो वर्षमा हुँदा दोस्रो, तेस्रो वर्षका सिनियरहरुले हेप्ने गरेको उहाँले स्मरण गर्नुभयो । यदि जुनियरका लागि छुट्याइएको सिट खाली छैन र सिनियरको लागि छुट्याइएको सिट खाली छ भनेपनि त्यो खाली सिटमा बस्न दिइदैनथ्यो, उभिएरै यात्रा गर्नुपर्थ्यो ।
'मलाई थाहा थिएन, नर्सिङ पेशामा सिनियर जुनियर भन्ने चलन त सामान्य रहेछ' सस्मिता भन्नहुन्छ- 'विस्तारै मलाई यस्तो व्यवहारको बानी पर्यो।' तर सस्मिता सधैं यस्तो व्यवहारको प्रतिकार गर्नुहुन्थ्यो । आफूले भोगेको यस्तो नराम्रो चलन अन्य जुनियरहरुले भोग्नु नपरोस् भन्ने चाहना उहाँमा सधैँ रहन्थ्यो।
'यस्तो व्यवहारलाई सहन सक्ने र नसक्ने विद्यार्थीको हातमा हुने रहेछ' सस्मिता भन्नुहुन्छ, 'म त खासै तनाव र संघर्ष नभोगेको व्यक्ति थिँए तर नर्सिङ पढ्दा हेपाइ, गाली धेरै खानुपर्यो।'
दोस्रो वर्षको प्राक्टिलको बेला सिनियरबाट भएको व्यवहार निकै पीडदायी थियो । सिनियरबाट भएको दुर्व्यवहारले सस्मिता मानसिक निकै समय तनावमा रहनुभयो । त्यो घटना सम्झेर रातभर रुनुभयो ।
सस्मिताले नर्सिङ पढ्दै गर्दा र्यागिङका घटनाले केही विद्यार्थी डिप्रेशनमा गएको घटना पनि देख्नुभएको थियो। कतिले बीचैमा पढाइ छोडेको देख्नुभएकी सस्मितालाई पनि कहिलेकाँही लाग्थ्यो बेकारमा नर्सिङ पढेछुँ।
अहिले सस्मिता एक नर्स, जो बिरामीको उपचारमा खटिरहनुभएको छ । पढ्दाखेरिको कठिन परिस्थििति पार गर्दै नर्सिङ पेशामा सक्रीय भइरहँदा उहाँलाई निकै गौरव महसुस हुन्छ । नेपालमा बसेर केही गर्न सकेको छु जस्तो भान उहाँलाई हुन्छ ।
अहिले भइरहेको बेथिति र नराम्रो चलन हटे हुने थियो जस्तो लाग्छ, सस्मितालाई । सिस्टम बसालेर अगाडि बढाइए अरु जसले नर्सिङ पढ्ने सपना बोकेका छन्, उनीहरुले आफूले जस्तो भोग्नु पर्दैन थियो भन्ने उहाँको सोच छ।
उहाँको नर्सिङ यात्रा जारी छ.................. ।
हेल्थपाटी विशेषमा हामीले नर्सिङ शिक्षा र पेशामा हुने गरेको सिनियर/जुनियर चलन, र्यागिङ बारेमा एक नर्सले भोग्नुपरेको दुखबारे कुरा गरेका छौँ । नर्स सस्मिता राईसँग गरिएको कुराकानी हेल्थपाटीको युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ।
तपाईँको अभिमत