उपचार गर्ने डाक्टरको दायित्व र बिरामीको अधिकारबारे कानुनमा के छ ?(भिडियो)
उपचारको विषयलाई लिएर चिकित्सक, स्वास्थ्यकर्मीमाथि पटक-पटक कुटपिट र दुर्व्यवहार भइरहेका छन्। उपचारका क्रममा बिरामीको मृत्यु हुँदा कतिपय अवस्थामा परिवारका आफन्त स्वास्थ्यकर्मीमाथि खनिन्छन् र उनीहरुलाई हातपात गर्छन् । हेटौँडामा हालै यस्तै घटना भयो ।
बिरामीको मृत्यु भएको एक महिना पछाडि हेडौँडामा ड्युटीमै खटिएका डाक्टरमाथि कुटपिट भयो। कुटपिटमा संलग्न मृतकका श्रीमतीसहित ४ जना प्रहरी नियन्त्रणमा छन्। कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलित छन् ।
मृतकका परिवारले सञ्चो अस्पतालले उपचारमा लापरवाही गरेको, सही उपचार नगरेको, परीक्षण नै नभएको दिनको रिपोर्ट बनाएको लगायतका आरोप लगाइरहेका छन् ।
बारम्बार यस्ता घटना भइरहेका छन् । उपचारका क्रममा बिरामीको अधिकार र डाक्टरको कर्तव्य के हो भन्ने विषयमा धेरै नागरिक अनविज्ञ छन् ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले मेडिकल काउन्सिल नियमावली २०२४ मा चिकित्सकको आचारसंहिताबारे उल्लेख गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार नागरिकले स्वास्थ्य संस्थामा उपचार गराइरहँदा चित्त बुझेन भने आफ्नो अधिकार जस्तै : रिफर गर्न चाहने, डाक्टर परिवर्तन गर्छु भन्ने, उपचार पद्धति छनौट गर्ने-लगायतका विषयमा निर्णय गर्न पाउँछन् ।
तर यस्ता विषय नागरिकलाई थाहै छैन । जसका कारण पनि आवेगमा आएर उनीहरू आक्रमणमा उत्रिरहेका छन्, जुन दण्डनीय हो र कारबाहीको भागिदार पनि बनिन्छ ।
बिरामीको अधिकार र डाक्टरको कर्तव्यका सम्बन्धमा हेल्थपाटीले मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीसँग कुराकानी गरेको छ।
भिडियो
नेपाल मेडिकल काउन्सिल नियमावली २०२४, परिच्छेद ४ को नियम २२ २३ र २४ मा भएको चिकित्सकको आचार संहिताको व्यवस्था गरेको छ ।
जसअनुसार,
क. आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म उचित निदान गरी रोगको उपचार गर्ने,
ख. आफ्नो उचित पारिश्रमिक, औषधि र सामान तथा उपकरणहरूको लाग्दो खर्च बाहेक अनुचित तरीकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अरु आर्थिक लाभ नउठाउने,
ग.आफूले आफ्नो शक्ति, ज्ञान, शिप र अनुभवले कुनै रोगको उपचार गर्न नसक्ने जस्तो लागेमा उपलब्ध हुन सकेसम्म कुनै विशेषज्ञसँग सल्लाह लिई गर्ने र अवस्था हेरी रोगीको उपचार हुन सकेसम्म विशेषज्ञबाट गराउनु पर्छ भन्ने कुराको सल्लाह स्पष्ट रूपमा उपचार गराउने। रोगी वा रोगीका परिवारका भरपर्दो सदस्यहरूलाई दिने अथवा अस्पताल जस्ता संस्थामा सिफारिस गर्ने,
घ. रोगीलाई वा निजका परिवारका सदस्यलाई उचित देखिएमा रोगको कडाईको सूचना दिने, तर आर्थिक वा अन्य कुनै किसिमको उद्देश्य राखी मामूली रोगलाई कडा बनाउने छैन ।
निम्नलिखित अवस्थामा बाहेक आफूले उपचार गरेको रोगीलाई आफ्नो उपचारबाट वञ्चित गराउन पाइदैन ।
१.पारिश्रमिक दिन अस्वीकार गरेमा,
२. आफूले भनेको औषधि नगरेमा,
३.आवश्यक नपरेका औषधिहरू लेख्न चिकित्सकलाई दबाब दिएमा वा लेख्न बाध्य बनाएमा ।
स्वास्थ्यकर्मी माथी हुने गरेका यस्ता आपराधिक गतिविधीलाई रोक्न एवं चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल वा स्वास्थ्य संस्थाहरुको पूर्ण सुरक्षाको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पनि रहेको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनमा भएका व्यवस्था
ऐनको दफा ३ मा भनिएको छ, कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन : (क) स्वास्थ्य संस्थामा आगजनी गर्न,
(ख) स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुऱ्याउन,
(ग) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुऱ्याउन,
(घ)स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न,
(ङ)स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुऱ्याउन, वा
(च) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार
गर्न ।
कसूर र सजाय
कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ ।
दफा ३ को खण्ड (क) अर्थात् कसैले स्वास्थ्य संस्थामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरीवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
दफा ३ को खण्ड (ख) वा (ग) अर्थात् स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पर्याए र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याए तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुनसक्छ ।
दफा ३ को खण्ड (घ), (ङ) वा (च) अर्थात् स्वास्थ्य संस्थामा तालाबन्दी गरे वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याए , स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।
तपाईँको अभिमत