स्वास्थ्य बीमाको अनलाइन नवीकरण भुक्तानी वालेट र आइपीएसबाट गर्न सकिने

स्वास्थ्य बीमाको नवीकरण भुक्तानी वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताउनुभयो । नागरिक एपमार्फत लिङ्क गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।
अब मोबाइलमै नवीकरणका लागि खल्ती, इसेवा र आइपीएस कनेक्टबाट भुक्तानी गर्न सकिने भएपछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन गरिरहनु भएको छ । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ ।
अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन । अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेस मल्लले जानकारी दिनुभयो ।
तपाईँको अभिमत