खोटाङमा बृहत् स्वास्थ्य शिविर गरिँदै

खोटाङ सेवा समाज युकेले खोटाङमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु गरेको छ । शुक्रबार (चैत १६) देखि शिविर सञ्चालन भएको हो ।
बेलायतस्थित खोटाङ सेवा समाजले गरेको शिविर २३ गतेसम्म सञ्चालन हुनेछ ।
समाजले ‘मातृभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नारासहित स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा निःशुल्क जाँचसँगै प्रत्येक शिविर स्थलमा करिब ४ लाख बराबरको औषधि पनि वितरण गरिएको छ ।
शिविरमा डाक्टर, नर्स, हेल्पर गरी ७२ जना चिकित्सक खटिने कार्यक्रमका संयोजक प्रसाद राईले जानकारी दिनुभएको छ ।
खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईले मातृभूमिलाई योगदान गर्ने निरन्तरताको रुपमै स्वास्थ्य शिविर सञ्चालन गरिएको बतानुभयो । संस्था स्थापना भएदेखि नै मातृभूमिका लागि कामहरु गर्दै आएको र त्यसकै निरन्तरता स्वरूप स्वास्थ्य शिविर गरिएको बताउनुभयो ।
खोटाङ सेवा समाज युकेले यसअघि खोटाङका जनताका लागि ७ वटा एम्बुलेन्स प्रदान गरेको थियो भने कोभिड १९ को महामारीमा २४ लाख बढीको सामग्री सहयोग गरेको थियो ।
पहिलो शिविरमा २५६० को स्वास्थ्य परीक्षण
अध्यक्ष डा. राईका अनुसार चैत १६ र १७ गते आयोजना भएको स्वास्थ्य शिविरमा २५६० सेवाग्राहीको स्वास्थ्य जाँच गरिएको छ ।
साकेला गाउँपालिकाको आधारभूत अस्पतालमा ५१२, जन्तेढुङ्गाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा ४९९ र रावावेशी स्वास्थ्य चौकीमा ५६० जनाले स्वास्थ्य जाँच गराएका हुन् । त्यस्तै खोटेहाङ गाउँपालिकाको खोटाङ बजार स्वास्थ्य चौकीमा ७०३ जनाले सहभागिता जनाएका छन् ।
तपाईँको अभिमत