गर्भनिरोधक चक्कीले महिलामा घातक असर हुनसक्छ
आफ्नो फोक्सोमा रगत जमेको र त्यसले ठूलो जोखिम पुर्याएको थाहा पाउँदा भ्यानेसा सेन्टेनो स्तब्ध हुनुभयो। त्यसो हुनुको सम्भावित कारण थाहा पाउँदा त उहाँ झन् आश्चर्यचकित हुनुभयो।
सन् २०१९ मा बोस्टन निवासी महिलाले विश्वका अरू लाखौँ महिलाले जस्तै गर्भनिरोधक साधनका रूपमा चक्की प्रयोग गरेका थिए।
तर बहुसङ्ख्यक महिलाभन्दा फरक उहाँलाई उक्त औषधिको दुर्लभ नकारात्मक असर देखा पर्यो। त्यसबाट आफ्नो जीवन नै परिवर्तन भएको उहाँ बताउनुहुन्छ।
'म सिँढीमा हिडिँरहेकी थिएँ र अकस्मात् मैलै आफ्नो चिट्ठीपत्र राख्ने बाकस समाउन पुगेँ। किनभने मैले राम्ररी सास फेर्न सकिनँ', उहाँले भन्नुभयो, 'त्यसरी सास फेर्न नसकेको अनुभव मैले कहिल्यै गरेकी थिइनँ। त्यसैले म सके जति सास भित्र तान्ने प्रयास गरिरहेकी थिएँ।'
सास फेर्न कठिन भए पनि भ्यानेसा काम गर्न जानुभयो । तर गाह्रो भएपछि उहाँ काम नसकी चिकित्सकसँग परामर्श गर्न निस्किनुभयो।
'मलाई हृदयाघात भए जस्तो लाग्यो'
'उनीहरूले मलाई सास फेर्न सजिलो होस् भनेर एउटा नेबुलाइजर दिए। मैले अलिकति सहज महसुस गरेँ' उहाँले भन्नुभयो, 'उनीहरूले थप जाँच गरे र (मेरो फोक्सोमा) छायाजस्तो केही देखिएको र सम्भवतः निमोनियाले त्यस्तो भएको हुनसक्ने बताए।'
तर दोस्रो दिन क्लिनिकमा उहाँलाई निमोनिया नभएको र थप परीक्षण गर्नुपर्ने बताइयो। एक महिनासम्म चिकित्सकलाई जचाउँदा समय प्राप्त नभएपछि उहाँको स्वास्थ्य थप बिग्रियो र उहाँले क्लिनिकको सल्लाहमा दम रोगीले प्रयोग गर्ने पम्प प्रयोग गर्न थाल्नुभयो।
त्यसपछि एक दिन कपडा धुने क्रममा सिँढीमा ओहोरदोहोर गरिरहनुभएकी उहाँलाई गाह्रो भयो।
उहाँ सास फेर्न नसकेर भान्साको भुइँमा लड्नुभयो।
'मेरो शरीर, मेरो पेट, मेरो छाती र मेरो पाखुरा सबै दुखिरहेका थिए। मलाई हृदयाघात भइरहेको जस्तो लाग्यो।'
उहाँले चिकित्सकको कार्यालयमा सम्पर्क गर्नुभयो। 'भोलिपल्ट म चिकित्सकलाई भेट्न गएँ र मैले उनलाई मैले भोगेका सबै लक्षणहरू सुनाएँ। उनले मलाई जाँच गरिन् र सीटी स्क्यान गर्नुपर्ने बताइन्', उहाँले भन्नुभयो, 'त्यही भएर मलाई ठूलो अस्पतालमा पठाइयो।'
त्यसपछि आफ्नो शरीरलाई उपकरणहरूमा जोडिएको र द्रुत रूपमा घटना विकसित हुँदा आफू अलमलमा परेको उहाँ सम्झनुहन्छ।
'त्यसपछि मेरो छातीको वरिपरि ठूलो आकारमा रगत जमेको पाइयो। त्यो फुट्न थालेको थियो र त्यसले मेरो फोक्सोको अधिकांश क्षेत्रमा अवरोध पुर्याउँदै थियो।'
दुई दिन अस्पतालमा बिताएपछि उहाँ घर फर्किनुभयो । तर उहाँले दुई हप्ता ओछ्यानमै बिताउनुपर्यो।
उहाँका अनुसार चिकित्सकहरूले गर्भनिरोधक चक्कीका कारण नै रगत जमेको हुनसक्ने बताएका थिए।
एक दिन पनि ढिला गरेर अस्पताल आएको भए उहाँको उपचार थप कठिन हुने चिकित्सकहरूले भनेको उहाँ बताउनुहुन्छ ।
गर्भनिरोधक औषधिले रगत जम्ने समस्या निम्त्याउने जोखिम कति?
यस्तो जोखिम बिरलै हुन्छ। यूकेको नेशनल हेल्थ सर्भिसका अनुसार एक वर्ष गर्भनिरोधक चक्की प्रयोग गर्ने प्रति १० हजार महिलामा पाँचदेखि १२ जनामा रगत जम्ने समस्या हुनसक्छ।
तुलनात्मक रूपमा विभिन्न किसिमका परिवार नियोजनका उपाय प्रयोग नगर्ने महिलामा प्रत्येक वर्ष प्रति १० हजार जनामा दुई जनामा नसामा रगत जम्ने घटना देखा पर्छ।
एनएचएसले कुनै पनि महिलालाई शङ्का भए चिकित्सकसँग परामर्श गर्न सुझाव दिएको छ।
संसारभरि १५ करोडभन्दा बढी महिला गर्भनिरोधक चक्की प्रयोग गर्छन् र यो युरोप, अस्ट्रेलिया र न्यूजील्यान्डमा परिवार नियोजनको सबैभन्दा लोकप्रिय साधन हो।
गर्भनिरोधक चक्की अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमेरिकामा दोस्रो बढी लोकप्रिय र एशियामा तेस्रो लोकप्रिय परिवार नियोजनको साधन हो।
होर्मोनमा प्रभाव पार्ने परिवार नियोजनका अरू साधनजस्तै चक्कीले महिलाको मनस्थितिमा उतारचढाव निम्त्याउने र तौल थपघट गराउने आदि नकारात्मक असर पारिरहेको हुन्छ।
तर प्रायः नदेखिने रगत जम्ने जस्ता समस्याले प्रयोगकर्ताको जीवन नै जोखिममा पार्न सक्छ।
महिलामा रगत जम्ने जोखिम निम्त्याउन हर्मोन, उमेर, परिवारका सदस्यको स्वास्थ्यको इतिहास र तौल तथा धूमपानजस्ता जीवनशैलीसँग सम्बन्धित विषयले प्रभाव पार्छन्।
लन्डनस्थित गाइज एन्ड सेन्ट टमस हस्पिटलका विशेषज्ञ तथा प्राध्यापक बेभर्ली हन्ट भन्नुहुन्छ: गर्भनिरोधक चक्कीले तिनको प्रकार हेरेर रगत जम्ने जोखिम चारदेखि आठगुणाले बढाउँछन्।
'तर गर्भावस्थामा जोखिम अझ बढी हुन्छ त्यही भएर गर्भ रहन दिनुभन्दा चक्की सेवन गर्नु उपयुक्त हुन्छ', उहाँले थप्नुभयो।
(बीबीसीबाट)
तपाईँको अभिमत