महिनामा ३० रुपैयाँ खर्च गरे बाथ मुटुरोगबाट बालबालिका जोगिन्छन् (भिडियो)

विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिकामा हुने बाथ मुटुरोग विकासोन्मुख राष्ट्रहरूमा धेरै देखिने गरेको छ । विकासोन्मुख राष्ट्रहरूमा १ लाख बालबालिकामध्ये प्रतिवर्ष करिब १०० लाई यो रोग लाग्ने गरेको छ । जसमध्ये १० जनाको मृत्यु हुने हुन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बाथ मुटुरोग वेवास्ता गरिएको मुटुरोगमा पर्दछ ।
प्रत्येक वर्ष नेपालमा १ लाख बालबालिकामा ३०० देखि ५०० जनालाई यो रोग देखिन्छ। हाल नेपालमा ५ लाख बाथ मुटुका रोगीहरू भएको अनुमान छ।
काठमाडौं उपत्यकाभित्र गरिएको पछिल्लो सर्वेक्षणमा स्कूलमा पढ्ने १ हजार विद्यार्थीमध्ये १.२ जना र गाउँमा १ हजार विद्यार्थीमध्ये १०.२ जनालाई यो रोग लाग्ने गरेको पाइएको रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो रोग विपन्न वर्गका बालबालिकामा बढी हुने गरेको छ । पछिल्लो तथ्यांक अनुसार प्रत्येक वर्ष नेपालमा यो रोगबाट १ हजार बालबालिकाको हुने गरेकाे पनि डा.रेग्मीले बताउनुभयो।
बाथमुटु रोगको उपचार सरकारले निशुल्क गरेको छ । बाथमुटुरोगको उपचारमा सरकारले वार्षिक ५० करोडभन्दा बढी लगानी गरिरहेको रेग्मीको भनाइ छ । तर यो रोग रोकथाम गर्नेतर्फ सरकारको ध्यान नगएकोमा उहाँको चिन्ता छ ।
बालबालिकामा देखिने बाथमुटुरोग, सरकारबाट भइरहेका र अब गर्नैपर्ने कामका बारेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीसँग हेल्थपाटीका लागि तुलसा घिमिरेले गर्नुभएको कुराकानी :
बाथ मुटुरोग भनेको के हो ?
बाथ मुटुरोग एउटा ठूलो समस्या हो । हाम्रो जस्तो मुलक जहाँ गरिबी छ, विपन्नता छ । मानिसहरू अशिक्षित छन्, यस्तो ठाउँमा यो रोग ठूलो चुनौतीका रुपमा रहेको हुन्छ ।
नेपालको कुरा गर्ने हो भने, नेपालमा रहेका बालबालिकामध्ये १ प्रतिशतमा बाथ मुटुरोग छ । प्रत्येक वर्ष नेपालमा ५ देखि १५ वर्ष उमेरका १ हजार बालबालिकाको मृत्यु बाथ मुटुरोगका कारण भइरहेको छ । यो संख्या ठूलो हो तर यतापट्टि कसैको ध्यान गएको छैन ।
यो रोग टन्सिलबाट या घाँटीबाट मुटुमा जाने रोग हो । प्रत्येक बालबालिकालाई वर्षमा १ पटक घाँटीको इन्फेक्सन हुने गर्छ । तर बारम्बार टन्सिल दोहोरिरह्यो, घाँटी दुखिरह्यो, ज्वरो आइरहने भयो भने बाथमुटुरोगको शंका गर्नुपर्छ । यो रोग बढ्दै घाँटीबाट जोर्नी, जोनीेको बाटो हुँदै मुटुलाई बिगार्ने हुन्छ।
बाथ मुटुरोगका लक्षणहरू के-के हुन् ?
- शुरुमा घाँटी दुख्ने र ज्वरो आउने हुन्छ । ज्वरो आएको ५–६ दिनपछि औषधि खाएर वा नखाएरै घाँटी दुख्ने ठिक हुन्छ ।
- घाँटी दुख्ने र ज्वरो आउने ठिक भएको १ देखि ४ हप्ताको बीचमा फेरि ज्वरो बल्झिएर आउँछ । यसपल्ट साथमा पालैपालो घुँडा, कुर्कुच्चा, कुहिना, नाडी आदिका जोर्नीहरू दुख्ने र राक्किएर सुन्निने हुन्छ । यसमा एउटा जोर्नी दुख्न कम हुना साथै अर्को जोर्नीमा दुखाइ सर्छ । यस प्रकार एउटा जोर्नीको दुखाइ ठिक हुँदै जाँदा अर्को जोर्नी दुख्न थाल्दछ ।
एकदेखि अर्को जोर्नीमा सर्दै जाने भएकाले यसलाई सर्ने बाथ पनि भन्ने गरिन्छ। अरु रोगहरूमा हुने बाथमा जोर्नीहरू एकै पटक प्रभावित हुन्छन् भने बाथ ज्वरोमा भने एउटा जोर्नी ठिक भए पछि अर्कोमा दुखाई सर्ने अचम्मको लक्षण देखिन्छ । यो सर्ने बाथ यस रोगको अत्यन्त महत्वपूर्ण लक्षण हो ।
- बाथ ज्वरोको सबैभन्दा नराम्रो पक्ष मुटुमा असर परी मुटु सुन्निनु र भल्भहरू बिग्रनु हो । यस रोगबाट मुटुका ४ भल्भहरू मध्ये कुनै एक वा सो भन्दा बढी भल्भहरू बिग्रेर, साँगुरिने वा खुकुलो हुने हुन्छ । यसको कारणले गर्दा मुटुमा हुने रक्त प्रवाहमा बाधा आउन सक्छ । मुटुका भल्भबाट रगत आउन र जान अप्ठेरो पर्छ । त्यसपछि मुटु सुन्निन्छ । हिड्दा स्याँस्याँ हुने र मुटु फेल हुने अवस्था आउँछ ।
रोग लाग्दा शुरुमा घाँटी दुख्ने हुन्छ । अनि केही दिनभित्र जोर्नीहरू दुख्ने र साथमा ज्वरो आउने हुन्छ । पछि गएर मुटुका भल्भहरू खराब भएर जान्छन् । यो रोग लाग्ना साथ घाँटी दुखी ज्वरो आएको शुरुको अवस्थामा तथा हात खुट्टाका जोर्नीहरू दुख्ने भएको अवस्थामा राम्रोसँग उपचार गर्न सकेमा बाथ मुटुरोग उत्पन्न हुनबाट जोगाउन सकिन्छ । यदि समयमै उपचार हुन सकेन भने मुटुका भल्भहरू खराब हुन्छन् ।
भल्भहरू खराब भएमा भल्भहरू फेर्नुपर्ने हुन्छ । भल्भहरू फेर्नका निमित्त जटिल अप्रेशनहरू गर्नु पर्दछ ।
कुन अवस्थामा बालबालिकाहरू अस्पताल ल्याइन्छ ?
धेरैजसो यो रोगमा सुरुको अवस्थामा लक्षण नै देखिँदैन । लक्षण नदेखिने भएकाले बालबालिकाहरू बेलैमा अस्पताल आउँदैनन् । जब अस्पताल पुग्छन् मुटुले काम नगर्ने अवस्था भइसकेको हुन्छ । मुटु सुन्निएको हुन्छ, रोग अन्तिम अवस्थामा पुगिसकेको हुन्छ ।
उपचार र रोकथाम कसरी गर्ने ?
सरकारले यस रोगमा मुटुको भल्भको अपरेशन निशुल्क गरेको छ । तर रोग नै लाग्न नदिन घाँटी दुखेको बेला ५० रुपैयाँको औषधि किनेर खाए ठिक हुन्छ। साथै रोकथामका लागि महिनामा एकपटक एउटा सुई लगाउन पनि सकिन्छ । त्यो सुईको खर्च मासिक ३० रुपैयाँ पर्न जान्छ । सरकारले महिनामा ३० रुपैयाँ खर्च गरे बालबालिकालाई बाथ मुटुरोगबाट जोगाउन सकिन्छ। साथै यो रोगका कारण हुने अशक्तताबाट युवा पिढीँलाई बचाउन सकिन्छ ।
बाथ ज्वरो र बाथ मुटुरोग नियन्त्रणका लागि आवश्यक पेनिसिलिनको सुई निशुल्क उपलब्ध गराउनेतर्फ सरकार लाग्नु आवश्यक छ।
घाँटी दुखेमा, नुनपानी खाने, बेसार पानी खाने, सिटामोल खाने चलन छ । घाँटी दुख्ने समस्या मामुली समस्याका रुपमा लिने गर्छन् ।
यसलाई टार्ने चलन छ । तर जीवाणुबाट घाँटीको इन्फेक्सन भएको छ भने यसले मुटुमा क्षति पुर्याउँछ। केटाकेटी उमेरमा घाँटी दुख्दा एण्टिबायोटिक औषधि खाएर उपचार गर्नुपर्छ भन्ने सन्देश जनतामाझ पुर्याउनुपर्छ।
बाथ मुटुरोगको सवालमा, सरकारको हालको नीति रोग लागेर आऊ म अप्रेसन गराइदिन्छु भन्ने छ । रोग नै लाग्न नदिनेतर्फ सरकार केन्द्रित भई बाथ मुटुरोगबाट भइरहेको मृत्युलाई रोक्न ढिला गर्नुहुन्न ।
बाथ मुटुरोगबाट जोगाउन स्कुले बालबालिकाको अनिवार्य मुटुको परीक्षण गर्नुपर्छ । त्यो परीक्षण भनेको मुटुको एक्सरे गर्ने हो । यसको रोकथाम एकदम सजिलो र सस्तो छ । तर उपचार कठिन र महँगो छ । यो रोगले च्यापेपछि बालबालिकाको जीवन नै बर्बाद हुन्छ । महिलाको कुरा गर्ने हो भने बाथ मुटुरोग लागेका महिलाहरू कित घरबाट निकालिएका छन्, कित पारालाइसिस भएर अलपत्र भइरहेका छन् ।
के उपचारबाट यो रोग निर्मूल हुक्छ ?
बाथ मुटुको रोग एकपटक लागिसकेपछि उपचारले पूर्ण ठिक पार्न सकिंदैन किनकी यसले मुटुको भल्भलाई स्थायी रुपमा बिगार्छ । यस रोगमा उपचार रोग निर्मूल पार्नेतर्फ नभई रोगका लक्षणहरूलाई कम गर्ने तथा रोगलाई बढ्न नदिने तर्फ केन्द्रित रहन्छ ।
बाथ ज्वरो उपचारपछि पनि पटक-पटक फर्कन सक्दछ । जति-जति पटक यसले आक्रमण गर्दछ उति-उति मुटुका भल्भहरू बिग्रने क्रम जारी रहन्छ । यस कारण बाथ ज्वरो पटक पटक नफर्कोस भन्नाका लागि लामो समयसम्म पेनिसिलिनको सूई लिई राख्नु पर्दछ ।
बाथ मुटुका रोगीहरूमा देखिने लक्षणहरू जस्तै दम बढ्ने, मुटु हल्लिने, खुट्टाहरू सुन्निने, छाती दुख्ने, कफमा रगत देखिने आदि कम गर्न विभिन्न औषधिहरू प्रयोग गरिन्छ ।
औषधिहरूको सेवनबाट रोगीको कष्टलाई कम गर्ने, जीवन यापन गर्न सजिलो पार्ने तथा वाथ मुटुको रोगबाट उत्पन्न हुनसक्ने गम्भीर खतराहरू जस्तै हार्ट फेल, पक्षघात, भल्भको इन्फेक्सन आदि हुनबाट रोगीलाई सुरक्षित राख्ने प्रयास गरिन्छ । यदि रोगले मुटुमा असर पारेको छैन भने केही वर्ष उपचार गरे पुग्छ । मुटुमा असर परेपछि जिन्दगीभर औषधी गर्नुपर्ने हुन्छ ।
यो रोग बालबालिकाहरूलाई नै किन लाग्दछ ?
यो रोग शुक्ष्म किटाणुको कारणबाट हुने गर्दछ । यो किटाणुको नाम बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस ग्रुप 'ए' हो । यो किटाणु हाम्रो शरीरमा प्रवेश गरिसकेपछि घाँटी दुख्ने, ज्वरो आउने हुन्छ । तर ५–७ दिनमा घाँटी दुखेको ठिक पनि हुन्छ । यसको १ देखि ४ हप्तामा फेरि ज्वरो फर्कने तर यसपल्ट साथमा घुडाँ, कुर्कुच्चा, कुहिना आदिका जोर्नीहरू दुख्ने सम्भावना रहन्छ ।
जोर्नीहरू दुख्ने हुनाले यस रोगलाई बाथ ज्वरो भनिएको हो । यो रोग ३ देखि १५ वर्ष सम्मका बालबालिकाहरूलाई लाग्ने सम्भावना धेरै हुन्छ । २ वर्ष भन्दा कम र २५ वर्ष भन्दा बढी उमेरका मानिसलाई यो ज्वरोले कमै मात्रामा आक्रमण गर्दछ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुन्छ तर घाँटीको इन्फेक्सन भने ठूलो मान्छेको तुलनामा बढी हुन्छ । यसकारण केटाकेटीलाई यो रोगले बढी आक्रमण गर्दछ।
तपाईँको अभिमत