जाडो महिनामा स्कुले बालबालिकालाई देखिन्छ यस्तो रोग (भिडियो)
यस वर्षको जाडो समय भर्खरै सुरु हुँदैछ। जाडो महिनामा लाग्नेवित्तिकै छाला सम्बन्धि स्वास्थ्य समस्याहरू बढ्ने गर्छन्। जाडोको मौसममा प्रायगरी देखिने रोगहरू कुन-कुन हुन् त ?
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डर्माटोलोजिस्ट सहप्राध्यापक डा.सुदीप पराजुलीले हेल्थपाटीसँगको कुराकानीमा जाडोमा देखिने रोगका बारेमा दिनुभएको जानकारी यसप्रकार छ।
चिलब्लेयन्स
जाडो महिनामा छालाको केही समस्या अन्य रोगको तुलनामा बढी देखिने गर्छ। सबैभन्दा धेरैलाई देखिने भनेको 'चिलब्लेयन्स' हो यसलाई 'पार्नियोसिस' पनि भन्छौँ।
यो भनेको के हाे त भन्दा जाडो लागेपछि हात खुट्टा सुन्निएर आउँछ। स्कुल जाने बालबालिकामा चिसो हावा र पानी परेर उनीहरुको हात, गोडा सुन्निने हुन्छ । यो जाडो महिनामा मात्रै देखिन्छ। यसमा जोगिने भनेको चिसो पानी र हावाबाट बच्नु हो।
सकेसम्म तातोपानी चलाउने, पञ्जा बाक्लो मोजा लगाएर मात्रै स्कुल गयो समस्या समाधान हुन्छ।
त्यतिले ठिक भएन भने औषधिहरु पनि दिन मिल्छ। औषधिका लागि स्वास्थ्य संस्थामै जानुपर्ने हुन्छ। आफूखुसी औषधि लिन मिल्दैन।
अर्काे भनेको छाला सुख्खा भएर चिलाउने हुन्छ। चिलाएपछि अनेकथरी समस्या हुन्छन्।
जाडोमा जनै खटिरा, ठेउलाजस्ता रोगका भाइरस पनि धेरै सक्रिय हुन्छन्।
जाडोमा आउने अर्काे समस्या लुतो हो। जाडोमा नुहाउने प्रवृत्ति कम हुन्छ यसले लुतो आउन सहयोग गर्छ।
लुतोमा जिउ पूरै चिलाउने हुन्छ। रातिमा धेरै चिलाउँछ। लुतोको किटाणु मान्छेबाटै सर्ने हो आफैँ आउने होइन। लुतो हुँदा औषधि लगायो भने सजिलोसँग ठिक हुन्छ।
घामको एलर्जी
जाडोमा घाम तापिने भएकाले घामबाट बल्झिने समस्या पनि हुन्छन्। यसले अनुहारमा कालोपोतो बढाउने हुन्छ।
घामबाट हुने एजर्ली हुन्छ। घाममा बस्दा एजर्ली देखिँदैन ६–७ घण्टापछि देखिन्छ। एजर्लीमा हातमा, जिउमा स-साना फोकाहरु देखिने हुन्छ। यस्तो भयो भने घाममा बस्दा पूरा बाहुला भएको लुगा लगाएर बस्नुपर्यो ।
साह्रै नै दुखः दियो भने औषधिकै प्रयोग गर्नुपर्ने हुन्छ।
छालाको दम
छालाको दम भन्ने हुन्छ। यसलाई वैज्ञानिक भाषामा ‘एटोपिक डर्माटाइटिस’ भनिन्छ।
छालाको दम पनि फोक्सोको दमसँग सम्बन्धित हुन्छ। फोक्सोको दम श्वास फेर्न गाह्रो हुनेभयो। छालाको दम चाहिँ अलिकति जाडो बढी छाला चिलाउने, कापहरुमा दाद आउने हुन्छ।
त्यो पनि वंशाणुगत नै हुन्छ। जाडोमा बढ्ने हुन्छ।
ठेउला
यो ठेउला परम्परादेखि नै आएको रोग हो। हामीले अनुमान गर्दा अहिले जसरी हामीलाई कोभिडले दुखि दियो त्यसरी नै पहिला यसले दुख दिएको थियो होला। अहिले चाहिँ सीमित व्यक्तिमा देखिन्छ। भेरोसेला भन्ने भाइरसले ठेउला गराउँछ।
संकेत भनेको ज्वरो आउने, छालामा पानी जस्तो समस्या आउने, जीउ दुख्ने हुन्छ।
यसमा बच्चालाई चाहिँ आफै निको हुन्छ। ठूलो वयस्क मान्छेलाई औषधि खानुपर्ने हुन्छ। ठूलो मान्छे पनि कस्तोलाई आउँछ भने बच्चामा ठेउला नभएको र अहिले संक्रमण भएमा आउने गर्छ । औषधि छिटो खायो भने ठेउलाको कोर्सलाई बढ्न दिँदैन, बल्झिएर ठूलो समस्या निम्तिन दिँदैन।
यसको सर्न दर चाँहि ८० प्रतिशत हुन्छ भनिन्छ। यो भनेको एक ठेउला लागेको व्यक्ति १०० जनाको सम्पर्कमा गयो भने ८० जनालाई सर्छ। त्यो भाइसर श्वास–प्रश्वासबाट सर्ने हुन्छ। यसले जुनसुकै अंगमा पनि असर गर्छ। प्रायगरी आफैँ ठिक हुन्छ। सन्चो भइसकेपछि पनि यो भाइसर मेरुदण्डमा गएर निस्क्रिय भएर बसेको हुन्छ। के हुन्छ भने बच्चा बेलामा आएको ठेउलाको किटाणु मेरुदण्डमा बसेको भएमा वयस्क हुँदा त्यो सक्रिय भएर जनै खटिराको रुपमा देखापर्छ।
जनै खटिरा
जनै खटिरा आउनु एकदमै पीडादायी अवस्था हो। भोगेको मान्छेलाई मात्रै थाहा हुन्छ यसको दुखाइ कति हुन्छ भनेर। जनै खटिराविरुद्ध खोप पनि हुन्छ। सुरुमै यो पत्ता लगाउन सकियो, छिटो उपचार सुरु गर्न सकियो भने जटिलताहरू एकदमै कम भएर जान्छ। जनै खटिरा ठ्याक्कै जनैको आकारमा आउँछ। दुख्छ अनि त्यसको केहीदिनपछि खटिरा आउँछ। यसमा पानीको फोका देखिन्छ।
एक भागमा आउँछ। पहिला–पहिला के भनिन्थ्यो भने जसको दुवै भागमा जनै खटिरा आउँछ ऊ बाच्दैन भनिन्थ्यो। दुई भागमा आउँदैमा मृत्यु नै हुन्छ भन्ने त होइन। रोगसँग लड्ने क्षमता एकदमै कम हुनेलाई दुई भागमा आउने हो। यस्तो हुँदा खतरा चाँहि धेरै हुन्छ।
यो आफैँ सन्चो हुने भएपनि नसामा असर गरेर लामो समयसँग दुख्छ। जनै खटिरा ठेउला जस्तो श्वास–प्रश्वासबाट सर्दैन। त्यसको घाउमा रहेको पानीबाट सर्न सक्छ। त्यसैले २–४ दिनसम्म अरुले घाउमा नछुनुनै ठिक हुन्छ।
तपाईँको अभिमत