खाद्यपूरक 'औषधि' फार्मेसीबाट बेच्न मिल्दैन, प्रयोग नै गर्न नहुने होइन(भिडियो)
न्यूट्रासिटिकल अर्थात खाद्यपूरक सामग्री बिरामीलाई सिफारिस गर्ने कि नगर्ने भन्ने विषयमा बेला–बेला चर्चा तथा विवाद हुने गरेको छ । काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर, चितवनको भरतपुर अस्पतालले केही दिनअघि यस्ता औषधि बिरामीलाई सिफारिस नगर्न भन्दै सूचना नै जारी गरेको थियो ।
यस खालका खाद्य सामग्री औषधि पसलबाट नबेच्न भन्दै औषधि व्यवस्था विभागले चेतावनी दिँदै आएको छ ।
बिरामीलाई अनावश्यक आर्थिक भार पर्ने गरी डाक्टरले औषधिको रुपमा खाद्यपूरक सामग्री सिफारिस गरिरहेको आरोप लाग्ने गरेको छ ।
न्यूट्रासिटिकल अर्थात फुड सप्लिेमेन्ट के हो ? यो बिरामीका लागि आवश्यक होकि होइन ? कस्ता बिरामीलाई यो चाहिने हो ।
यसबारे हामीले राष्ट्रिय ट्रमा सेन्टरकी डाइटिसियन सुपरभाइजर योगिता सापकोटासँग कुराकानी गरेका छौँ ।
खाद्यपूरक वा आहारपूरक औषधि के हो ?
डाइटरी सप्लिमेन्ट्स या न्यूट्रासिसटिकललाई नेपालीमा खाद्यपूरक वा आहारपूरक पनि भनिन्छ । वास्तविक खानेकुराबाट पोषणयुक्त तत्व निकालेर औषधिको रुपमा तयार गरिएको हुन्छ । यो औषधि जस्तै चक्की, क्याप्सुल र धूलोको रुपमा बनाइएको हुन्छ। तर यो खाद्य पदार्थ हो ।
२०७२ साल भन्दा पहिला यस्ता आहारपूरक सामग्रीको पनि औषधि व्यवस्था विभागबाटै नियमन हुन्थ्यो ।
२०७२ पछाडि यो औषधि नभई खाद्य सामग्री भएको भन्दै यसको नियमनको अधिकार खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई दिइयो।
त्यसका लागि आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि २०७२ नै जारी गरिएको छ । यसको आयात, निर्यात, गुणस्तर मापन, दर्ता प्रक्रिया सबै खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले नै हेर्दै आएको छ ।
अस्पतालहरुले न्यूट्रासिसटिकल्स बेच्न नपाउने, भनेर सूचनाहरु पनि आइरहेका छन् । यो भनेको केहो भने औषधि विक्रि गर्ने पसलले यो बेच्न पाइएन । बिरामीलाई आवश्यक नै छ भने पनि अस्पतालको क्यान्टिन वा अरु कुनै पसलले त्यो बेच्नुपर्यो। त्यो बेच्नै नहुने खानै नहुने भनेको होइन ।
बिरामीलाई यो किन आवश्यक छ ?
अहिले चर्चामा भएको जस्तै अनावश्यक रुपमा बिरामीलाई आर्थिक भार पर्ने गरी सिफारिस भएको पनि पाइन्छ । तर यसको अर्थ यो होइन कि सबै ठाउँमा अनावश्यक प्रयोग गरिन्छ ।
अस्पतालमा बिरामीहरुको रोगको अवस्था, रोग लागेर भर्ना भएको बिरामीको मुखबाट खान सक्ने क्षमता कस्तो हुन्छ भन्ने हुन्छ ।
बिरामी हुँदा खाना नरुच्ने, खानाको गन्ध नै मन नपर्ने जस्ता समस्या भइरहेको हुन्छ । यसो हुँदा छिट्टै तौल घट्ने, सुक्ष्म पोषक तत्वको पनि कमी भइरहेको हुन्छ ।
बिरामीले खान मन नै गरिरहेको हुँदैन । अर्काे अस्पतालमा भर्ना भएको बिरामीलाई घरमा जसरी खाना उपलब्ध गराउन सकिन्छ त्यसरी दिन पनि सकिएको हुँदैन । कतिपय अस्पतालमा क्यान्टिन हुँदैन । पैसा हुनेले पनि किनेर खाने ठाउँ हुँदैन । हुँदा पनि राम्रो खानेकुरा नपाउने, आवश्यक पोषक तत्वका लागि जुन खानेकुरा दिनुपर्ने हो त्यो नपाइने अवस्था पनि हुन्छ ।
त्यस्तो अवस्थामा बिरामीलाई पोषकतत्वको कुनैपनि कमी नहोस भनेर चिकित्सक, आहारविद्, स्वास्थ्यकर्मीहरुले बिरामीलाई खाद्यपूरक औषधि सिफारिस गर्ने हो । यस कारणले गर्दा नकारात्मक पाटोलाई मात्रै हेरेर सबैतिर दुरुपयोग भइरहेको छ भन्न मिल्दैन । भर्ना भएका कतिपय बिरामीलाई चाहिँ यसको आवश्यकता नै पर्छ।
अस्पतालमा बस्दा बिरामीको मुखबाट खाना खाने क्षमता घटेको नै हुन्छ। खाना खान नसक्दा शरीरमा भएको पोषणको ह्रासलाई छिटो पूर्ति गर्नका लागि न्यूट्रासिसटिकल सिफारिस गर्नै पर्ने अवस्था पनि हुन्छ।
बिरामीलाई थाहै नभइकन पनि डाइटरी सप्लिमेन्ट्स सिफारिस गरिएको हुन्छ नि ?
आफूले के उपचार पाइरहेको छु, कस्तो औषधि खाइरहेको छु भन्ने जानकारी बिरामीले पाउनैपर्छ । त्यो बिरामीको अधिकार हो । यो अधिकारीको बारेमा हाम्रो संविधानमै पनि लेखेको छ । बिरामीले जान्न खोज्दा जानकारी दिनुपर्छ त्यो स्वास्थ्यकर्मीको कर्तव्य हो ।
कस्तो खालको बिरामीलाई चाहिँ यो डाइटरी सप्लिमेन्ट्स चाहिन्छ भन्दा, कसैको रोगको अवस्थाले नै शरीरमा पोषकतत्व घट्दै जाने हुन्छ। कुनै औषधि लामो समय प्रयोग गर्नुपर्दा त्यसको कारणले अर्काे पोषकतत्व कमी हुने हुन्छ ।
एउटा उदारण दिनुपर्दा मधुमेहका बिरामी जसले मेटफर्मिन औषधिको प्रयोग गर्नुहुन्छ । अनुसन्धानले के देखाएको छ भने लामो समय मेटफर्मिनको प्रयोग गर्नेलाई भिटामिन बी१२ को कमी हुन्छ ।
भिटामिन बी१२ माछा मासुबाट पाइने पोषकतत्व हो । अब मधुमेहको त्यो बिरामीलाई जति मात्रामा भिटामिन बी१२ पूर्ति गर्नका लागि माछा मासु खान सिफारिस खानुपर्ने हो, त्यो गर्न नमिल्ने अवस्था हुनसक्छ । त्यो बिरामीलाई सँगसँगै मिर्गाैलाको पनि समस्या होला ।
यसरी २–३ वटा रोग भएका बिरामीलाई एउटा रोग निको बनाउन खानेकुरा सिफारिस गर्दा त्यसले अर्काे रोगलाई असर पुर्याइरहेको हुन्छ । यस्तो बेला न्यूट्रासिसटिकल सिफारिस गर्नैपर्ने हुन्छ ।
अस्पताल भर्ना भएको जो बिरामी छ, त्यसलाई जुन-जुन पोषकतत्वको कमी छ, त्यो न्यूट्रासिसटिकल प्रयोग गरेर पूर्ति गर्नुपर्ने कुरा विश्वका विभिन्न खाद्य प्रोटोकलमा पनि उल्लेख छ ।
हामी पोषणविद् भएको नाताले जहिले पनि प्राकृतिक खाद्य पदार्थलाई नै प्राथमिकता दिन्छौँ । तर हरेक बिरामीको हकमा पोषणपूर्तिका लागि प्राकृतिक खानेकुरा मात्रै पर्याप्त नहुनसक्छ ।
हामीले सिफारिस गरेअनुसारका खानेकुरा उपलब्ध नहुने पनि हुनसक्छ । उदाहरणका लागि कुनै बिरामीलाई क्याल्सियम पूर्तिका लागि हामीले दिनको ३ गिलास दूध खान भन्छौँ । बिरामीका पनि आ-आफ्नै समस्या हुन्छन् । कतै दूध उपलब्ध नहुने, कसैलाई दूध खाँदा अन्य स्वास्थ्य समस्या हुने पनि हुन्छ । यस्तो बेला क्याल्सियम पूर्ति गर्न न्यूट्रासिसटिकल नै विकल्प हो।
ओपिडीमा आउने बिरामीलाई पनि चाहिन्छ ?
ओपिडीमा आउने बिरामीलाई डाक्टरले कतिसम्म खानपानको बारेमा परामर्श दिनसक्छ भन्ने हुन्छ । खानाको पनि आफ्नै नियम छ । डाक्टरले नै त्यो पूरा बुझाइराख्न सक्ने अवस्था हुँदैन । एउटै डाक्टरले धेरै बिरामी हेर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आहारविद्लाई सिफारिस गर्नुपर्ने हुन्छ । अस्पतालहरुमा आहारविद्को कमी छ, अझै कतै छँदै छैनन् ।
बिरामीलाई खान सजिलो, बोक्न सजिलो पनि हुने भनेर डाक्टरबाट सिधै न्यूट्रासिसटिकल सिफारिस गरिन्छ ।
यो बिरामीलाई दिनै नहुने भन्ने होइन । यसको दुरुपयोग नगरेर आवश्यक भएका बिरामीलाई मात्रै दिँदा र आवश्यकताका आधारमा प्रयोग गर्दा बिरामीलाई हानि गर्दैन, फाइदै गर्छ ।
तपाईँको अभिमत