कोरोना विरुद्द खाेप सुरुगर्ने १७ देश

काठमाडौं । गत वर्षको डिसेम्बरदेखि फैलिन सुरु भएको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा आम मानिसलाई दिन थालिइ सकिएको छ । १७ लाख ७५ हजार बढी मानिसको ज्यान लिइसकेको कोभिड–१९ को खोप लगाउने अनुमति कतिपय मुलुकले दिने क्रममा छन् ।
अमेरिकी औषधी उत्पादक कम्पनी फाइजर र जर्मन साझेदारी बायाएनटेकले निर्माण गरेको खोप सबभन्दा पहिले बेलायतले आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो । त्यसपछि अन्य मुलुकले पनि आम मानिसलाई खोप दिने अनुमति दिन थालेका छन् ।
यहाँ हालसम्म आफ्ना आम नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने अनुमति प्रदान गर्ने मुलुकहरूको सूची प्रस्तुत गरिएको छ ।
बेलायत
यसै महिना (डिसेम्बर) को ८ तारिखका दिन ९० वर्षीया मार्गरेट किनानले कोभिड–१९ विरुद्धको खोप लिनुभयो । उहाँ फाइजर र बायाएनटेकले निर्माण गरेको कोरोना खोप लिने सर्वसाधारणमध्ये पहिलो हुनुभयो ।
बेलायतले कोरोना खोप दिने अभियान चलाउँदै गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखा परेको छ । जसकारण उसले लकडाउनकै स्वरूपमा प्रतिबन्धहरू लगाएको छ ।
संयुक्त अरब इमिरेट्स
संयुक्त अरब इमिरेट्स (युएई) ले फाइजर र चिनियाँ खोप सिनोफार्मको खोप लगाउने अनुमति दिएको छ । यससँगै उसले आफ्ना नागरिकलाई खोप दिन थालेको छ ।
युएईले राजधानी अबुधाबीमा रहेकालाई डिसेम्बर १४ देखि खोप दिन थालेको हो ।
अमेरिका
डिसेम्बर १४ देखि नै अमेरिकाले पनि न्यूयोर्कका अस्पतालमा रहेका नर्सलाई फाइजर र बायोएनटेकले निर्माण गरेको खोप प्रदान गरी यसको सुरुवात गरेको छ ।
क्यानडा
८९ वर्षीया महिलालाई फाइजर र बायोएनटेकले निर्माण गरेको खोप डिसेम्बर १४ मा दिइएको थियो ।
उत्तर अमेरिकी मुलुक क्यानडाले मोडर्नाले निर्माण गरेको खोप पनि प्रयोगका लागि अनुमति दिएको छ । यससँगै क्यानडामा कोरोना विरुद्धको खोप तीव्र रूपमा प्रदान गरिने देखिएको छ ।
साउदी अरब
साउदीमा डिसेम्बर १७ देखि आम मानिसलाई फाइजर र बायोएनटेकको कोरोना खोप प्रदान गर्न थालिएको छ । हालसम्म ६ हजार भन्दा धेरै कोरोना संक्रमितको ज्यान गएको छ भने ३ लाख ६० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
इजरायल
डिसेम्बर १९ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कोभिडविरुद्धको खोप लिएर यस अभियानको सुरुवात गर्नुभयो । टेलिभिजन च्यानल मार्फत प्रत्यक्ष प्रशारण गरिएको सो कार्यक्रमा स्वास्थ्यमन्त्रीले समेत खोप लिनुभएको थियो ।
कतार
कतारले डिसेम्बर २२ बाट फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना खोप आम मानिसलाई दिन थालेको छ । सुरुवातमा सात वटा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खोप प्रदान गर्ने कतारको योजना रहेको बताइएको छ ।
यस्तै कतारले मोडर्ना र अस्फोर्ड–एस्ट्राजेनेकाले निर्माण गरेको खोप किन्ने सम्झौता गरिसकेको छ ।
मेक्सिको
डिसेम्बर २४ देखि मेक्सिकोले आम मानिसलाई कोरोना खोप प्रदान गर्ने कार्यक्रम सुरुवात गरेको छ । मेक्सिकोमा अग्रपंक्तिमा काम गर्ने नर्सहरू पहिलो प्राथमिकतामा रहेका छन् ।
फाइजर र बायोएनटेकले निर्माण गरेको ३ हजार डोज खोप बेल्जियम हुँदै मेक्सिको पुगेको हो ।
सर्बिया
सिर्बियाले पनि डिसेम्बर २४ मै कोरोना खोप प्रदान गर्ने कार्यक्रम सुरुवात गरेको छ । प्रधानमन्त्री आन बर्नाबिकले फाइजरको खोप पहिलो पटक लिनुभएको हो ।
कुवेत
कुवेतले पनि कोरोना खोप अभियान सुरु गरेको छ । उसले डिसेम्बर २४ देखि कोरोना खोप अभियान सुरु गरेको हो ।
कुवेतमा फाइजरले निर्माण गरेको १ लाख ५० हजार डोज कोरोना खोप आइपुगेको हो ।
चिली
डिसेम्बर २४ देखि चिलीले पनि कोरोना खोप अभियान सुरु गरेको छ । राष्ट्रपतिको उपस्थितिमा ४२ वर्षीया जुलेमा रिक्वेल्मी नर्सलाई खोप दिएर अभियानको सुरुवात गरिएको हो ।
रुस
रुसले आफ्ना नागरिकलाई सेप्टेम्बरदेखि नै क्उगतलष्प ख् खोप प्रदान गर्दै आएको बताएको छ । अगस्ट १३ मा राष्ट्रपति भ्लादिमिर पुटिनले रुस कोरोना विरुद्धको खोपलाई अनुमति दिने पहिलो राष्ट्र भएको भन्दै आम रुपमा प्रयोगको घोषणा गरेका थिए ।
तर तेस्रो चरणको परीक्षण पुरा नगरीकनै आपतकालिन प्रयोगका लागि अनुमति दिइएको थियो । यसको कतिपय विज्ञले आलोचना गरेका थिए ।
स्वीजरल्यान्ड
स्वीजरल्यान्डले डिसेम्बर २३ देखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । ९० वर्षीया महिलालाई पहिलोपटक कोरोना खोप दिँदै खोप अभियान सुरु भएको हो ।
कोस्टारिका
बुधबार कोस्टारिकाले फाइजर र बायोएनटेकले निर्माण गरेको खोप प्राप्त गरेको छ । उसले डिसेम्बर २४ मा आम नागरिकलाई प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।
हंगेरी
हंगेरी अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीलाई डिसेम्बर २६ देखि दिन थालिएको छ । फाइजर र बायोएनटेकले निर्माण गरेको खोप शनिबार बिहान हंगेरी पु¥याइएको हो ।
जर्मनी
डिसेम्बर २६ देखि जर्मनीको साजोनी अनहाल्ट प्रान्तमा आम मानिसलाई खोप दिने कार्यक्रम सुरु भएको छ । १०१ वर्षीय वृद्धलाई पहिलोपटक खोप दिएर अभियानको सुरुवात गरिएको हो ।
स्लोभाकिया
स्लोभाकियामा पनि डिसेम्बर २६ देखि नै कोरोनाविरुद्धको खोप प्रदान गर्न थालिएको छ । सरकारी महामारी नियन्त्रण आयोगका सदस्यलाई पहिलोपटक फाइजरले निर्माण गरेको खोप प्रदान गरेर खोप कार्यक्रम सुरुवात गरिएको हो ।
तपाईँको अभिमत