'डाक्टर भएको १० वर्षपछि थाहा भयो करिअर भन्दा जीवन ठूलो रहेछ'

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलको दोस्रो पुस्तक प्रकाशित भएको छ। डा.अनिलको ‘जीवन्त सम्बन्ध’पुस्तक बजारमा आउने तयारीमा छ।
शुक्रबार एक कार्यक्रमका बीच पुस्तकको कभर सार्वजनिक भएको हो। आगामी असोज ५ गते औपचारिक कार्यक्रम गरी पुस्तक बिमोचन गर्ने लेखक डा.अनिलले जानकारी दिनुभयो।
पुस्तकमा आफ्नो जीवनको ४ दशकका सुख, दुःख, सफलता, असफलता समेटिएको डा.अनिलले बताउनुभयो।
डाक्टरको रुपमा काम गर्दा आफूले जीवन के हो ? मान्छेको भूमिका केहो ? भन्नेबारे जान्ने अवसर पाएकाले पुस्तक लेख्न प्रेरणा मिलेको उहाँको भनाइ छ।
पेशामा प्रवेश गर्दै गर्दा करिअर नै सबैभन्दा ठूलो हो, स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण हो भन्ने लागेको तर सत्य त्यो नरहेको आफूले थाहा पाएको डा.अनिलले सुनाउनुभयो।
‘ठूलै संघर्ष गरेर २०१३ मा नामको अगाडि डाक्टर लेखाउँदा निकै खुसी लागेको थियो। डाक्टर हुनु सबैभन्दा ठूलो कुरा लागेको थियो। स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो भन्ने सोच थियो। डाक्टर भएर स्वास्थ्यमा १० वर्ष काम गरेपछि मलाई थाहा भयो। स्वास्थ्य भन्दा ठूलो कुरा जीवन रहेछ। जीवनका लागि सम्बन्ध चाहिन्छ। सुख दुखःमा सम्बन्ध काम लाग्दो रहेछ’ डा.अनिलले भन्नुभयो।
धेरै कुरा पाएर, आफूसँग भएर मात्रै मान्छेमा खुसी नमिल्ने रहेछ भन्ने कुरा आफूले अवगत गरेको उहाँले सुनाउनुभयो।
‘मान्छेलाई रोगले च्यापेको हुन्छ। ऊ एक महिना मात्रै बाच्छ भन्ने थाहा पाउँदा पनि खुसी भइरहेको देखिन्छ’ डा.अनिल भन्नुहुन्छ ‘तर कोही ८० वर्षसम्म स्वस्थ भएर रहँदा पनि त्यति खुसी हुन नसकेको देखिन्छ।’
आफू डाक्टर मात्रै नभएर एक छोरा, श्रीमान्, बुबा, साथी, समाजको एक नागरिक पनि रहेको उहाँ बताउनुहुन्छ। ‘पेशा मात्रै ठूलो हो भन्ने लाग्थ्यो पेशाबाहेक पनि जीवनमा अरु कुरा महत्वपूर्ण रहेछ। १० वर्षमा मैले धेरै बिरामीको ज्यान बचाएँ तर आफ्नै बुबालाई बचाउन सकिन’ डा.अनिल भन्नुहुन्छ।
जसले यो पुस्तक पढ्छ त्यसले एक पटक आटनो मनलाई प्रश्न उठाउने विश्वास उहाँको छ।
पुस्तकले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने, सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेशागत जिम्मेवारीलाई निर्वाह गर्न सहयोग गर्ने दावी लेखकको छ। करिअर र जीवनमा के फरक छ ? भन्ने कुरा पनि पुस्तकमा रहेको उहाँले जानकारी दिनुभयो ।
५३ वटा संस्मरणात्मक आलेख रहेको पुस्तक २४० पृष्ठको रहेको ओम फाउन्डेसनले जनाएको छ।
समीक्षा पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य ६०० रुपैयाँ राखिएको छ। लेखकको हस्ताक्षरसहित हार्डकभर र गिफ्ट ब्यागसहितको पुस्तकलाई भने १००० तिर्नुपर्ने जानकारी वितरकले दिएका छन्।
वितरकका अनुसार यो पुस्तक आजैबाट अनलाइन अर्डर गर्न सकिने छ। इ-सेवा, दराजबाट पनि पुस्तक अर्डर गर्न सकिन्छ। डा.ओम मूर्ति अनिलको फेसबुक तथा वेबसाइटबाट पनि पुस्तकको अर्डर गर्न सकिन्छ।
पुस्तक बिक्रीबाट आएको नाफा डा.ओम फाउण्डेसनमा रहेन र यो रकम असहाय तथा वृद्धवृद्धाका लागि खर्च गरिने डा.ओममूर्तिले जानकारी दिनुभएको छ।
तपाईँको अभिमत