बंगलादेशमा रहेका नेपाली विद्यार्थी भन्छन्-हिन्दुलाई निशाना बनाइरहेकाले धेरै त्रासमा छौँ
बंगलादेशको सत्ता परिवर्तनले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई पनि अत्याएको छ। भैरहवाका प्रज्वल सिंह अहिले बंगलादेशको राजशाही शहरमा छन् । उनी त्यहाँको
को इन्टर्न डाक्टर हुन्।
बंलगादेश सरकारको छात्रवृत्तिमा एमबीबीएस पढ्न गएका उनको इन्टर्नसिप सुरु भएको १५ दिन मात्रै भएको छ । करिब ५ महिनापछि इन्टर्नसिप सकेर डाक्टर बनी नेपाल फर्कने तयारीमा थिए सिंह।
बंगलादेशमा सुरुभएको सरकारविरोधी आन्दोलनपछि त्यहाँको माहोल बिग्रियो। आन्दोलनकै बेला थुप्रै विद्यार्थी नेपाल फर्किए पनि उनी भने त्यहीँ रहे । इन्टर्नसिप सुरु भएकाले अस्पतालमा ड्युटी गर्नुपर्थ्यो अन्य विद्यार्थीजस्तो सजिलै आउन मिलेन। सरकारी अस्पताल भएकाले त्यति धेरै सुरक्षा चुनौती पनि महसुस नगरेको उनी बताउँछन्।
हिजो साँझदेखि भने त्यहाँको अवस्था फेरिएको छ। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि अराजकता थप फैलिएको छ।
सिंहका अनुसार त्यहाँको सरकारी कलेजमा राजनीति कडै हुने गर्छ। मेडिकल कलेजको होस्टल सरकारी पक्षका विद्यार्थीको कब्जामा थियो। सत्ता पल्टिनेवित्तिकै सोमबार राति विपक्षी पार्टी समर्थक विद्यार्थी आएर हसिनाको पार्टी पक्षका विद्यार्थीलाई निकालेर होस्टल आफ्नो कब्जामा लिएका छन्।
उनीहरुले चिनेकाले विदेशी विद्यार्थीलाई भने केही गरेनन्। राजशाही मेडिकल कलेजमा ६ जना नेपाली विद्यार्थी रहेको सिंहले दिए। बाहिरका प्रदर्शनकारी आएमा आफूहरुलाई नचिन्ने र उनीहरुको निशानामा पर्नसक्ने त्रासमा अहिले नेपाली विद्यार्थी छन्।
आफूमाथि पनि आक्रमण हुने डरले मेडिकल कलेजका प्रिन्सिपल फोन अफ गरेर भूमिगत भएका छन्। सहायक प्रिन्सिपलसँग सम्पर्क भइरहेपनि उनी समेत अन्योलमा रहेको सिंह बताउँछन्।
त्यहाँ नेपालका अलवा पाकिस्तान, प्यालेस्टाइन र भारतका समेत विद्यार्थी अध्ययन गर्दै आएका छन्। ती देशका दूतावासले आफ्ना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिसकेका छन्।
नेपाली दूतावासले पनि आफूहरुसँग सम्पर्क गरिरहेको सिंहले सुनाए । सिंहका अनुसार हिजो मात्रै पनि राजदूतले आफैँ फोन गरेका थिए। नेपाल फर्कने वातावरण मिलाइने तर केही समय पर्खन भनिएको छ।
शहरमा आगजनी तोडफोड भइरहेको छ। विशेष गरी सत्ताधारी पार्टीका नेताको घर खोजीखोजी आक्रमण गरिरहेका छन्। आन्दोलनकारीले हिन्दु मन्दिरमा समेत आक्रमण, आगजनी गरिरहेकाले बढी डर लागेको सिंहले बताए। ‘हामी पनि हिन्दु, हिन्दुमाथि बढी थ्रेड भएकाले धेरै डर लागिरहेको छ’ सिंहले भने।
नेपाली दूतावासले सुरक्षित महसुस गरेमात्रै अस्पतालमा ड्युटीमा जानु भनेको छ। नेपाली विद्यार्थीहरू अहिले होस्टलबाट बाहिर निस्किएका छैनन्।
बाहिर सडक सेनाको कब्जामा छ। सार्वजनिक सवारी साधन अहिलेसम्म चलेका छैनन्। आफैँ बाहिर निस्किएर नेपाल फर्कने अवस्था नरहेको सिंहले सुनाए।
निकै त्रासमा रहेकाले तत्काल नेपाल फर्कने व्यवस्था मिलाउनु पर्ने माग उनको छ। अन्य देशले आफ्ना विद्यार्थीलाई सुरक्षित ठाउँमा राखिसकेको अवस्थामा नेपाली विद्यार्थी मात्रै त्रासमा बसिरहेको उनको गुनासो छ।
नेपाल फर्काएर बाँकी रहेको इन्टर्नसिप नेपालमै गर्ने व्यवस्था मिलाउन पनि विद्यार्थीहरूले माग गरेका छन् । कतिपयको त इन्टर्नसिप सकिनै लागेको छ। पहिला-पहिला बाहिर पढेर फर्किएका एमबीबीएस विद्यार्थीको नेपालमै इन्टर्नसिप हुन्थ्यो। कोभिडको समयमा चीनबाट फर्किएका विद्यार्थीको पनि यहीँ गर्ने मौका दिइएको थियो। त्यस कारण पनि नेपाल सरकारले चाहेमा त्यो गर्ने कुनै गाह्रो नहुने सिंह बताउँछन्।
तपाईँको अभिमत