यी दश खानेकुरा जसले क्यान्सरको जोखिम कम गराउँछन्
खास औषधी खानेकुरा हो । विशेषज्ञहरूका अनुसार खानेकुराले दीर्घरोगहरूको जोखिम बढाउने/घटाउने हुन्छ । मुटुरोग, मधुमेह तथा क्यान्सर जस्ता रोगहरू खानेकुराका कारण पनि लाग्ने गर्छन् ।
क्यान्सर जस्तो दीर्घ रोगमा खानेकुराको प्रभाव धेरै हुन्छ । यस्ता थुप्रै खानेकुरा छन्, जसले क्यान्सर हुने र त्यसको वृद्धिको जोखिमलाई कम गराउँछन् ।
ब्रोकाउली : यसमा एन्टिक्यान्सर तत्व हुन्छ । ‘सल्फराफेन’ ले क्यान्सरको सम्भावनालाई कम गराउँछ । यसले ७५ प्रतिशतसम्म स्तन क्यान्सर हुने सम्भावना कम गर्ने एक अध्ययनले देखाएको छ । त्यस्तै यसले प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने देखिएको छ ।
गाँजर : नियमित रूपमा प्रशस्त गाँजर खाँदा विभिन्न किसिमका क्यान्सरको जोखिम कम हुने देखिएको छ । एक अध्ययनअनुसार २६ प्रतिशतले पेटको क्यान्सर हुने सम्भावना यसले कम गराउँछ । १८ प्रतिशत प्रास्टेट क्यान्सर हुने सम्भावना पनि घटाउने अध्ययनले देखाएको छ । गाँजरले फोक्सोको क्यान्सरको जोखिम पनि घटाउने अध्ययनले देखाएको छ ।
बोडी/कोसा : बोडी वा कोसामा प्रचुर मात्रामा फाइबर पाइन्छ । यसले आन्द्रामा हुने क्यान्सरलाई कम गराउने अध्ययनले देखाएको छ । करिब दुई हजार जना आन्द्राको क्यान्सर भएका व्यक्तिमा गरिएको अध्ययनअनुसार ट्यूमर बढ्ने सम्भावना घटेको देखिएको थियो । त्यस्तै मुसामा गरिएको अध्ययनले पनि तिनमा ७५ प्रतिशत आन्द्राको क्यान्सर हुने जोखिम कम गरेको देखिएको थियो । यी अध्ययनले हरेक साता यस्ता कोसा वा बोडी जातका तरकारी खाँदा क्यान्सरको जोखिमलाई घटाउने देखिन्छ । यद्यपि यसमा व्यापक अध्ययन हुन भने जरुरी छ ।
बाहिर कडा बोक्रा भएका फल : बाहिर कडा बोक्रा हुने फलहरू खाँदा पनि क्यान्सरको जोखिम न्यून हुने देखिएको छ । ओखर तथा काजु जस्ता फल खाँदा क्यान्सरको जोखिम कम हुने अध्ययनले देखाएको छ । करिब २० हजार जनामा गरिएको अध्ययन अनुसार यस्ता फल प्रशस्त खाने व्यक्ति क्यान्सरबाट मृत्युको जोखिम कम भएको थियो । ३० हजार ७०८ जनामा गरिएको अर्को अध्ययनअनुसार नियमित रूपमा यस किसिमका फल खाने व्यक्तिमा आन्द्रा, प्यान्क्रियाटिक र गर्भाशयको क्यान्सर हुने जोखिम कम गरेको देखिएको थियो ।
जैतुनको तेल : जैतुनको तेल स्वास्थ्यवद्र्धक तत्वले भरिपूर्ण छ । यसको सेवनले विभिन्न किसिमका क्यान्सरलाई कम गर्ने अध्ययले देखाएको छ । एक अध्ययनअनुसार जैतुनको तेल सेवन गर्नाले स्तन क्यान्सर र पाचन प्रणालीमा हुने क्यान्सरको जोखिम घटाउँछ । यसले आन्द्राको क्यान्सर हुने सम्भावनालाई पनि कम गराउने अध्ययनले देखाएको छ ।
बेसार : बेसार नेपाली भान्सामा अनिवार्य जस्तै प्रयोग गरिन्छ । यसमा एन्टिअक्सिडेन्ट तथा एन्टिक्यान्सर तत्व हुने अध्ययनले देखाएको छ । पेटको क्यान्सर भएका व्यक्तिहरूमा गरिएको एक अध्ययनले बेसारको नियमित सेवनले क्यान्सर वृद्धिलाई नियन्त्रण गरेको देखिएको थियो । सो अध्ययनले ४० प्रतिशत क्यान्सर वृद्धि हुने सम्भावनालाई कम गरेको देखिएको थियो ।
विभिन्न फलफूल : कागती, अंगुर तथा सुन्तला फलफूलले क्यान्सरको जोखिमलाई कम गराउने देखिएको छ । नियमित रूपमा प्रशस्त यस्ता फलफूल खाने व्यक्तिहरूमा पाचन प्रणालीका अंग तथा माथिल्लो श्वासप्रश्वास प्रणालीका भागमा हुने क्यान्सरको जोखिम कम गरेको देखिन्छ । सातामा तीन पटक फलफूलको उपभोगले २८ प्रतिशतसम्म पेटको क्यान्सर हुने सम्भावना कम हुने अध्ययनले देखाएको छ । यसले हरेक साता फलफूल खान उपयुक्त हुने देखाएको छ ।
गोलभेडा : गोलभेडा नेपाली तरकारीको मसला हो । यसले तरकारीलाई स्वादिष्ट बनाउँछ । अध्ययनअनुसार तरकारीलाई स्वादिलो बनाउने मात्र नभएर गोलभेडाले क्यान्सरको जोखिमलाई पनि कम गर्ने देखिएको छ । यसले प्रोस्टेट क्यान्सरको जोखिम न्यून पार्ने अध्ययनले देखाएको छ ।
लसुन : लसुन पनि नेपाली भान्साको मसला हो । यसले क्यान्सरका सेलहरूलाई मार्ने काम गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । ५ लाख ४३ हजार जनामा गरिएको एक अध्ययनअनुसार लसुन, प्याजलगायत खाने व्यक्तिहरूमा पेटको क्यान्सर कम देखिएको थियो । पुरुषहरूमा हुने प्रोस्टेट क्यान्सरको जोखिम पनि लसुनले कम गराउने अध्ययनमा देखिएको थियो । त्यस्तै लसुन, पहेँलो फलफूल, प्याजलगायतका फलफूल तथा सागसब्जीले आन्द्राको ट्युमर विकासमा पनि बाधा पुर्याउने अध्ययनमा देखिएको थियो । यद्यपि अझै गहन अध्ययन भने यसमा जरुरी रहेको बताइएको छ ।
माछा : हरेक साता माछा खानाले पनि क्यान्सरको जोखिम कम हुने अध्ययनले देखाएको छ । यसको सेवनबाट विशेषगरी पाचन प्रणालीमा हुने क्यान्सरको जोखिमलाई घट्ने देखिएको हो । ४ लाख ७८ हजार जना वयस्क मानिसमा गरिएको अध्ययनअनुसार नियमित माछा खाने व्यक्तिमा आन्द्राको क्यान्सर हुने सम्भावना न्यून रहेको देखिएको थियो । माछामा पनि बोसोयुक्त जस्तै सालमोनलगायतका माछा खान उपयुक्त हुने अध्ययनले देखाएको छ ।
तपाईँको अभिमत