दुई महामारी, दुई विश्वयुद्ध झेलेकी विश्वकै वृद्ध व्यक्तिको मृत्यु
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको मृत्यु भएको छ । विश्वकै सबैभन्दा धेरै उमेरकी मानिएकी स्पेनकी ११७ वर्षीया वृद्धाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन् ।
दी गार्जियन्सले दिएको खबरअनुसार मारिया ब्रान्यास मोरेरा नामकी यी महिला सन १९०७ मा अमेरिकामा जन्मिएकी थिइन् । २ वटा विश्व युद्ध र २ झेलेकी उनको मृत्यु भएको परिवारले पुष्टि गरेका छन् ।
उनका परिवारले सामाजिक सञ्जाल ‘एक्स’ मा उनले संसार छाडेको भनी मंगलबार पोस्ट गरेका थिए ।
मारिया ब्रान्यास विगत २ दशकदेखि स्पेनको उत्तरपूर्वी शहर ओलोटमा रहेको सान्ता मारिया डेल टुरा नर्सिङ होममा बस्दै आएकी थिइन् ।
उनले केही समयअगाडि सामाजिक सञ्जालमा आफू कमजोर भइरहेको, संसार छाड्ने समय नजिक आएको भन्दै पोस्ट गरेकी थिइन् । आफू जहाँ रहनेछु खुसी हुनेछु भन्दै आफ्ना लागि आँसु नझार्न आग्रह गरेकी थिइन् ।
मारिया ब्रान्यासको जन्म सन फ्रान्सिस्को शहरमा ४ मार्च १९०७ मा भएको थियो । त्यो भन्दा केही समयअघि मात्रै उनको परिवार मेक्सिकोबाट अमेरिका पुगेको थियो ।
उनको परिवार टेक्सास र न्यू अर्लिन्समा पनि बसेको थियो । पहिलो विश्वयुद्ध चलिरहेका बेला सन १९१५ मा उनको परिवार स्पेन फर्किएको थियो ।
आन्ध्र महासागर हुँदै स्पेन फर्कने क्रममा उनीहरुले दुखःदायी घटना व्यहोर्नुपर्यो । यात्रा सकिनै लाग्दा उनका बुबाको क्षयरोगबाट जहाजमै मृत्युभयो । बाकसमा हालेर शव समुँद्रमा फालिएको थियो ।
फर्किएर मारिया र उनकी आमा बार्सिलोनामा बसे । १९३१ मा उनको एक डाक्टरसँग विहे भएको थियो । ७२ वर्षको उमेरमा उनका पतिको मृत्युभयो । उनीहरूका ३ सन्तान थिए । एक जनाको मृत्यु भइसकेको छ ।
मारियाले पहिलो र दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्ध(१९३६–१९३९) झेलिन् । दुई ठूला महामारी सन १९१८ को फ्लू महामारी र २०२० मा सुरु भएको कोभिड–१९ महामारी समेत उनले पार गरिन् ।
बार्सिलोना विश्वविद्यालयका एक अनुसन्धानकर्ताले मारियाको दीर्घजीवनको कारणबारे अध्ययन गरेका थिए । उनको डीएनए समेत परीक्षण गरिएको थियो । अनुसन्धाकर्ताले एक वर्षअगाडि एक स्पेनिस पत्रिकासँगको कुराकानीमा मारियाको स्वास्थ्य चकित पार्ने खालको रहेको बताएका थिए ।
उनमा पूर्ण स्मरणशक्ति रहेको अनुसन्धाकर्ताले भनेका थिए । मारियाले आफू ४ वर्ष हुँदादेखिका कुरा स्पष्ट सुनाउन सक्ने बताएका थिए । हिँडहुड गर्न कठिन हुने र सुनाइमा केही कमी बाहेक अन्य रोग नरहेको अध्ययनकर्ताले सुनाएका थिए ।
यूएस जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार मारिया ब्रान्यासको मृत्यु भएपछि अब प्रमाणित रुपमा विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिमा जापानकी तोमिको इतुका रहेकी छिन् । उनको जन्म २३ मे १९०८ मा भएको थियो ।
तपाईँको अभिमत