एक मात्रा लगाए पुग्ने १५ लाख डोज जोनसनकाे खोप आज आउँदै
काठमाडौं । एक मात्रा लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकी खोप आज नेपाल आउँदैछ । जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप कतार एयरबाट बिहान साढे ९ बजे ल्याइने तालिका रहेको छ । जोनसन एन्ड जोनसनकाे ‘जेनसेन’ खोप एक मात्रा लगाए पुग्छ । एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ।
उक्त खोप कसलाई र कुन उमेर समूहलाई लगाउने भन्ने विषय टुंगो लागिसकेको छैन । यद्यपी विभिन्न कामले विदेश जान पर्ने व्यक्ति तथा शिक्षकहरुलाई दिनेकी भन्ने विषयमा छलफल चलिरहेको छ । खोप विना वैदेशिक रोजजारीमा जान नमिल्ने अवस्था आइरहेकाले उक्त खोप विदेशमा जानेहरुलाई पनि दिन सक्नेबारे छलफल चलिरहेको बताइएको छ ।
जोन्सनको ‘जेन्सेन एडी २६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।
यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । अहिले नेपालमा कोभिशिल्ड र भेरोसिल खोपको प्रयोग भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिउँसो २ बजे अधावधिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना खोप अभियान सुरु भएदेखि हालसम्म ३६ लाख ५३ हजार १७३ जनाले खोप पाएका छन् जसमा २६ लाख ११ हजार ८०७ ले पहिलो र १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्रा पाएका छन् । कोभिशिल्ड २२ लाख ८९ हजार २१६ जनाले पाएकोमा करीब १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्राको पर्खाइमा छन् ।
हालसम्म नेपालमा ल्याइको कोरोना विरुद्धको खोप
कोभिशिल्ड
भारत सरकारबाट १० लाख कोभिशिल्ड उपहार स्वरुप पाएको थियो भने १० लाख मात्रा किनेको थियो । साथै कोभ्याक्स सुविधा मार्फत ३ लाख ४८ हजार, भारतीय सेनाले सहयोग स्वरुप नेपाली सेनालाई प्रदान गरेको १ लाख मात्रा गरि जम्मा २४ लाख ४८ हजार मात्रा कोभिशिल्ड नेपाल भित्रिएको थियो ।
जसमा १ लाख नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो भने बाँकी २३ लाख ४८ हजार मात्रा खोप, जोखिमका आधारमा प्राथमिकता निर्धारण गरि दुई चरणमा दिइएको थियो ।
भेरोेसेल
अहिले चलिरहेको अभियानमा भेरोसेलको प्रयोग भइरहेको छ । चीनले अनुदानमा दिएको १८ लाख, चीनसँग खरीद गरिएको मध्ये ८ लाख गरी २६ लाख डोज भेरोसेल नेपाल ल्याइएको छ । कोभिशिल्ड र भेरोसेल गरि ५० लाख ४८ हजार डोज खोप नेपाल आएको छ।
तपाईँको अभिमत