निजी मेडिकल कलेजले घाटा लाग्यो भन्नु चिकित्सा शिक्षा आयोगको सफलता !
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले निजी मेडिकल कलेज आयोगको विरोध गर्नु स्वभाविक भएको बताउनुभयो।
चिकित्सा शिक्षा आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै गिरीले यस्तो धारणा राख्नुभएको हो ।
धेरै घाटा लागेको भन्दै निजी मेडिकल कलेज सञ्चालकहरू चिकित्सा शिक्षा आयोग खारेजीको पक्षमा छन् त ? भन्ने प्रश्नमा गिरीले आयोगका कारण निजी मेडिकल कलेजलाई घाटा लाग्नु स्वभाविक भएको तर्क राख्नुभयो।
निजी मेडिकल कलेजले घाटा लाग्यो भन्नु एक किसिमले चिकित्सा शिक्षा आयोगको सफलता भएको आशय प्रा.डा.गिरीको छ।
‘चिकित्सा शिक्षामा मनलाग्दी शुल्क लिन पाइँदैन भनेर नियमनका लागि आयोग बनेको हो’ गिरीले भन्नुभयो, ‘मनलाग्दी शुल्क उठाउन नपाएपछि पहिलेको अनुसार आम्दानी नहुनु स्वभाविक हो।’
निजी मेडिकल कलेज सञ्चालक सुरुदेखि नै आयोग गठनको विपक्षमा रहेको प्रा.डा.गिरीले सुनाउनुभयो। आयोगले तोकेको शुल्कमा पढाउन नसक्ने भनेर निजी मेडिकल कलेज सञ्चालकले ठूलै विरोध गरेको उहाँले स्मरण गराउनुभयो ।
‘उहाँहरुले गर्नुसम्म विरोध गर्नुभयो नि । मेडिकल कलेजको चाबी नै हामीलाई बुझाउनु भयो’ गिरीले भन्नुभयो ।
मनलाग्दी शुल्क उठाउने प्रवृत्ति नियन्त्रण गर्नु आयोगको उद्देश्य भएकाले निजी मेडिकल कलेजले पहिलेजस्तो नाफा भएन भन्नु आयोगले काम गरेको देखिने प्रा.डा गिरीको भनाइ छ।
‘पहिले एमबीबीएस र पीजीमा १ करोडसम्म उठाउँथे अहिले एमबीबीएसमा ४०–४५ लाख, पीजीमा २५ लाखमा सीमित गरिएको छ त्यही हो उहाँहरूको घाटा’ प्रा.डा. गिरीले भन्नुभयो।
चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्छ भनेर कसैले भनेको वा आयोगमा डेलिगेसन आएको आफूले थाहा नभएको उपाध्यक्ष गिरीले बताउनुभयो।
तपाईँको अभिमत