चीनको वुहानमा पुनः लकडाउन
चीनको वुहानस्थित एक जिल्लामा पुनः लकडाउन गरिएको छ । चार जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुधबार लकडाउनको घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीन ‘जिरो–कोभिड पोलिसी’ का आधारमा लकडाउन गरेको हो । उसले संक्रमण फैलिन नदिन सो नीति अवलम्बन गर्दै आएको छ । सो नीतिका कारण तुलनात्मक रूपमा अन्य मुलुकमा भन्दा कम संक्रमितको ज्यान गएको बीबीसीले जनाएको छ ।
पछिल्लो लकडाउनसँगै करिब १० लाखको बसोबास रहेको जिल्लाका मानिस घरभित्रै रहन बाध्य भएका छन् । लकडाउन तीन दिनसम्म रहने बताइएको छ ।
सबै किसिमका मनोरञ्जन स्थल– बार, चलचित्र हल, साना क्लिनिकलगायत बन्द गरिएका छन् । त्यस्तै रेस्टुराँ, धेरै मानिस जम्मा हुने किसिमका कार्यक्रम पनि बन्द गराइएका छन् । सार्वजनिक यातायात समेत बन्द गरिएका छन् ।
अति आवश्यकबिना जिल्ला नछोड्न सर्वसाधारणलाई भनिएको छ ।
जोखिममा रहेका छिमेकी जिल्लाका स्थानीयलाई समेत आफू बसेको स्थान छोडेर बाहिर नजान भनिएको अधिकारीहरूले बताएका छन् ।
चीनको वुहानमा सबभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । संक्रमण नियन्त्रण गर्न पहिलो पटक त्यहाँ लकडाउन गरिएको थियो । त्यसयता विश्वभर करोडौँ मानिस संक्रमित भइसकेका छन् भने लाखौँले ज्यान गुमाइसकेका छन् ।
केही समय शिथिल भएको भाइरस पुनः सक्रिय हुन थालेको छ । विभिन्न मुलुकमा संक्रमण तीव्र हुन थालेसँगै सतर्कता अपनाउन अधिकारीहरूले बताउँदै आएका छन् ।
तपाईँको अभिमत