आधारभूत अस्पतालमा जीपी डाक्टर राखियो भने स्वास्थ्य क्षेत्रले ठूलो फड्को मार्छ (भिडियो)

स्नातकोत्तर तहमा एमडीजीपी अध्ययन गरेर विशेषज्ञता हासिल गर्ने चिकित्सकलाई जीपी डाक्टर, जनरल फिजिसियन, जनरल प्राक्टिसनर जस्ता नामले चिनिन्छ । जनरल प्राक्टिसनरले सबैखाले रोगको प्रारम्भिक उपचार गर्नेबारे विशेषज्ञता हासिल गरेको हुन्छ । यसो इमर्जेन्सीबाहेकका स्वास्थ्य समस्या हुँदा सुरुमा जनरल
प्राक्टिसनरलाई देखाउनुपर्ने जनरल प्राक्टिसनर डा.पुष्पमणि खराल बताउनुहुन्छ।
कुनै समस्या भएर सिधै कुनै विषयको विशेषज्ञको चिकित्सककहाँ जाँदा उपचार प्रक्रिया लम्बिने, खर्चिलो र बिरामीलाई हैरानी हुने उहाँको भनाइ छ ।
यदि नेपालमा सुरुमा जनरल प्राक्टिसनरलाई देखाएर उसले सिफारिस गरेपछि मात्रै ठूला अस्पताल जाने नीति आएमा अहिलेका ठूला अस्पतालको भीड आधा कम हुने दावी डा.खरालले गर्नुभयो ।
नेपाल सरकारले स्थानीय तहमा स्थापना गरेका आधारभूत अस्पतालमा जीपी डाक्टरको दरबन्दी सिर्जना गरेर त्यो अनुसार सेवा दिए नेपालको स्वास्थ्य सेवाले ठूलो फड्को मार्ने उहाँको विश्वास छ।
हेल्थपाटीसँगको कुराकानीमा डा.खरालले एमडीजीपी नेपालको सबैभन्दा पुरानो डिग्री भएपनि अहिले ओझेलमा परेको गुनासो गर्नुभयो ।
जनरल प्राक्टिसनर डाक्टरको भूमिका, महत्व र नेपालमा अहिलेको अवस्थाबारे हेल्थपाटीसँगको कुराकानीमा डा.पुष्पमणि खरालले दिनुभएको जानकारी तल प्रस्तुत छ ।
जनरल प्राक्टिसनरले कस्ता बिरामी हेर्ने हो ?
वृद्धदेखि बालकसम्मका सबै किसममा रोगहरु प्रारम्भिक रुपमा हेर्ने काम जनरल प्राक्टिसनरले गर्छ । स्वास्थ्यका कुनैपनि समस्या भएमा सबैभन्दा पहिला जनरल प्राक्टिसनरलाई देखाउनु उपयुक्त हुन्छ ।
इमर्जेन्सीमा जानुपर्ने कुनै केस छ भने इमर्जेन्सीमा गएर उपचार गराउनुपर्यो । इमर्जेन्सीबाहेकका स्वास्थ्य समस्यामा भने सुरुमा जनरल प्राक्टिसनरलाई देखाएर उपचार प्रक्रियामा लागियो भने त्यो सस्तो, सुलभ र भरपर्दाे पनि हुन्छ ।
जनरल प्राक्टिसनरको जिम्मेवारी के–के हो ?
सबैभन्दा पहिला बिरामीले आफ्नो समस्या बताउँछ । त्यसपछि उसलाई आवश्यकअनुसार परीक्षण गराउने हुन्छ । जस्तो:- ल्याब परीक्षण, एक्सरे वा अल्ट्रासाउण्ड यदि आवश्यकता छ भने त्यो गराएर रोगको जटिलता कति छ भनेर हेर्ने काम हुन्छ ।
रोग सामान्य अवस्थामै छ भने त्यहीँ उपचार हुन्छ । जटिलता देखियो भने जनरल प्राक्टिसनरले सम्बन्धित चिकित्सककोमा समयमै रिफर गर्ने गर्छ ।
जनरल प्राक्टिसनरलाई किन देखाउनु आवश्यक छ ?
स्वास्थ्य समस्याहरू विभिन्न कारणले देखिन्छ। जस्तो कसैलाई टाउको दुख्यो भने टाउको दुख्ने धेरै कारण हुन्छन् । प्रेसरले हुनसक्छ, माइग्रेनले हुनसक्छ, पिनासले हुन्छ, आँखाको समस्याले हुनसक्छ, घाँटीको हड्डी खिइएर हुनसक्छ, मानसिक तनावलगायत धेरै कारणले टाउको दुखेको हुन्छ । कहिले कहीँ त्यो मान्छे थाहा नभएर सिधै न्यूरो सर्जन कहाँ जान्छ तर त्यो केस न्यूरो सर्जनको नहुन सक्छ। कहिले कहीँ सिधै आँखाको डाक्टरकोमा जाँदा आँखको समस्या नहुनसक्छ । अन्य डाक्टरकोमा जाँदा उसको समस्या पनि नुहन सक्छ । यस्तो अवस्थामा यदि पहिले जनरल प्राक्टिसनर कहाँ गयो भने त्यो टाउको दुखाइको मुख्य कारणले उसले त्यहीँ पत्ता लगाउँछ । धेरै समस्या उहाँहरुले नै उपचार गर्नुहुन्छ । त्यहाँ समाधान नहुने समस्या छ भने कुन् डाक्टरकोमा पठाउँदा उपयुक्त हुन्छ त्यहाँ पठाउँछ।
सुरुमा जनरल प्राक्टिसनरलाई देखाउँदा हुने फाइदा के–के हुन् ?
जनरल प्राक्टिसनरलाई एउटा परिवारकै डाक्टरको रुपमा पनि लिन सकिन्छ । उसमा एक खालको विश्वास भइसकेको हुन्छ। निरन्तर बिरामीलाई आएर हेर्ने हुनाले त्यसको स्वास्थ्य समस्याबारे पनि राम्रो जानकारी भइसकेको हुन्छ । त्यसले गर्दा बिरामीहरुलाई सजिलो, विश्वासिलो हुन्छ । जनरल प्राक्टिसनरलाई नियमित देखाउँदा धेरै जटिलरोग समयै पत्ता लागेर उपचार हुने हुन्छ । बिरामीको समय पनि बच्छ । खर्च पनि कम हुन्छ । मुख्य कुरा चाहिँ कोही जीपी डाक्टरलाई पारिवारिक डाक्टर बनाउनुभयो भने एक किसिमको विश्वास पनि हुन्छ । एक जनालाई मात्रै नभएर परिवारका सबैको स्वास्थ्य समस्या उहाँले हेर्ने हुन्छ । सल्लाह, सुझाव तथा उपचारको व्यवस्थाका लागि पनि सहयोग गर्ने हुन्छ ।
अस्पताललाई पनि धेरै राम्रो हुन्छ । यदि जीपी डाक्टरलाई सुरुमा देखाएर बिरामीहरुले सेवा लिनुभयो भने, हामीले देख्दै आएको टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पतालको भीडलाई आधा कम गर्न सकिन्छ ।
अहिले के छ भने सामान्य स्वास्थ्य समस्या भएका बिरामी पनि ठूला-ठूला अस्पताल जाँदा साँच्चै ठूलो अस्पतालमा गएर सेवा लिनुपर्ने बिरामीले राम्रो सेवा पाउन सकिरहेको छैन। यदि सुरुमा जीपी डाक्टरलाई देखाएर साँच्चिकै ठूलो अस्पताल जानुपर्ने बिरामी मात्रै त्यहाँ जाने हो भने डाक्टरले समय बढी दिन पाउँछन् । उपचार राम्रो हुन्छ । यसो भएमा अस्पतालको गुणस्तर पनि बढ्छ ।
नेपालमा यसको अवस्था के छ ?
एमडीजीपी नेपालको सबैभन्दा पुरानो डिग्री हो । सन १९८२ मा क्यालिगरी युनिभर्सिटी क्यानडा र चिकित्सा शास्त्र अध्ययन संस्थान नेपालको संयुक्त प्रयासमा सुरु भएको डिग्री हो । एमबीबीएस गरिसकेपछि थप ३ वर्ष अध्ययन गरेर विशेषज्ञता हासिल गर्ने कोर्स हो ।
नेपालमा हाल ६०० को हाराहारीमा जीपी डाक्टर हुनुहुन्छ । यो निकै सानो संख्या हो । नेपालको जनसंख्या हेर्ने हो भने कम्तिमा पनि ५ हजार ६ हजार जीपी डाक्टर भयो भने हामीले सोचेको जस्तो प्रत्येक परिवारले आफ्नो जीपी डाक्टर राख्न सक्ने अवस्था हुन्थ्यो ।
यसमा नीतिगत सुधार गर्नुपर्ने हुन्छ । सरकारले स्नातकोत्तर तहमा जीपीको सिट एकदमै कम छुट्याएको छ । देशभर ३०–३५ वटा मात्रै सिट छन् । यो खास १००, २०० को संख्यामा हुनुपर्ने हो। अर्काे कुरा स्वास्थ्य सेवामा जीपी डाक्टरको दरबन्दी एकदमै कम छ । समग्र चिकित्सककै पनि दरबन्दी कम छ । दरबन्दी बढाउने कुरामा सरकारको उदासीनता छ । यसले गर्दा पनि स्वास्थ्य क्षेत्रमै समस्या भइरहेको छ ।
अहिले नेपाल सरकारले स्थानीय तहमा ५, १०, १५ बेडका आधारभूत अस्पतालहरु बनाइरहेको छ । जिल्ला अस्पताल त पहिलेदेखि नै छन् । यिनमा पनि जीपी डाक्टर राख्ने भन्ने कुरा उठिरहेको छ । यदि त्यो सफल भयो भने धेरै राम्रो हो । विश्व स्वास्थ्य संगठनले पनि जीपी डाक्टरलाई नेतृत्वदायी भूमिका दिएर प्राथमिक स्वास्थ्यलाई सबलीकरण गर्यो भने सर्वव्यापी स्वास्थ्यको पहुँच भन्ने जुन लक्ष्य राखिएको छ सन २०३० सम्म त्यो हासिल गर्न सकिन्छ भनेर भनेको छ।
ती आधारभूत अस्पतालमा जीपी डाक्टरको दरबन्दी सिर्जना गरेर अगाडि बढ्यो भने नेपालको स्वास्थ्य क्षेत्रमा निकै ठूलो फड्को मार्छ जस्तो लाग्छ ।
जीपी डाक्टरको हकमा गर्नुपर्ने सुधार के-के छन् ?
आधारभूत अस्पताल वा जिल्ला अस्पतालहरुमा सुरुमा जीपी डाक्टरलाई देखाएर उसका सिफारिसमा मात्रै अन्य अस्पताल जान पाउने नीति सुरुमा बनाउनुपर्छ ।
अर्काे भनेको दरबन्दी हो । पीजीको सिट हो । जीपीलाई देशमै वस्ने वातावरण बनाउन सेवा सुविधा वृद्धिमा पनि ध्यान दिनुपर्छ ।
डाक्टर खरालसँग हेल्थपाटीले गरेको कुराकानी भिडियोमा हेर्नसक्नुहुन्छ
तपाईँको अभिमत