सरकारी अस्पतालमा पार्किङकै समस्या, लाठी लिएर बस्छन् सुरक्षा गार्ड
सरकारी अस्पतालमा सेवाग्राहीले गेटबाट छिरेदेखि नै झमेला व्यहोर्नुपर्ने हुन्छ। सवारी साधन नलिई गएका सेवाग्राहीले पार्किङको सास्ती खेप्नुपर्दैन नत्र प्रायजसो सबैले ओपिडीमा लाइन बस्नेदेखि ल्याब टेस्ट गर्ने बेलासम्म निकै झण्झट व्यहोनुपर्छ।
काठमाडौंमा उपत्यकामा रहेका कुनै अस्पतालमा क्षमताअनुसार पार्किङस्थल छैन। पार्किङस्थल भएका अस्पतालमा व्यवस्थापन गतिलो छैन। जसका कारण सेवाग्राहीले अस्पताल छिर्नासाथ झमेला व्यहोनुपर्छ।
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विहान ४ बजेदेखि नै ओपिडीको टोकन लिन सेवाग्राही लाइन लाग्ने गर्छन्।
सेवाग्राहीका लागि छुट्याइएको पार्किङस्थल बिहान ८ बज्दा नबज्दै भरिन्छ। अस्पतालमा ४ पांग्रेभन्दा २ पांग्रे सवारी धेरै आउँछन्। सेवाग्राहीका लागि यस अस्पतालमा २ पांग्रे सवारी साधनलाई गेटबाहिर २ र ४ पांग्रे सवारीका लागि गेटभित्र पार्किङ स्थल बनाइएको छ।
सुरक्षा गार्डका अनुसार २ वटा पार्किङ स्थलमा झण्डै २०० वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ। अस्पतालमा बिरामीको चाप बढ्दो छ। बिरामी र आफन्त गरी दिनमा करिब १५ सय सेवाग्राही अस्पताल पुग्ने गर्छन्।
पार्किङ गर्ने ठाउँ नपाएर आक्रोशित सेवाग्राही र सुरक्षागार्डबीच हरेक दिनजसो भनाभन हुन्छ।
अवस्थालाई साम्य पार्न सुरक्षागार्डले लाठी देखाएर भगाउनु पर्ने बाध्यता रहेको त्यहाँ कार्यरत एक सुरुक्षागार्डको भनाइ छ। गेटको कुनामा राखिएको लाठीे देखाउँदै सुरक्षा गार्ड भन्नुहुन्छ, ‘पार्किङमा ठाउँ नपाएर रिसाउनेहरु कहिले कहीँ जाइलाग्न आउँछन्। त्यही भएर यसरी लठ्ठी राख्नु परेको छ।’
अस्पताल आउँदा सवारी कहाँ राखेर आउनु ? भन्ने सेवाग्राहीको प्रश्न जायज नै भएपनि ठाउँ अभाव भएकाले आफूले केही गर्ने सक्ने अवस्था नभएको ती गार्डको भनाइ छ।
जेठ ३० गते दिउँसो करीब १ बजे हेल्थपाटीको टिम अस्पताल पुग्दा पार्किङ स्थल पूरै भरिएको थियो। ७ जना सेवाग्राही पार्किङ खाली हुने आशले १५ मिनेटदेखि कुरिरहेका थिए। अस्पतालना भर्ना रहेका आफन्तलाई भेट्न पुग्नुभएका राजेन्द्रमान डंगोलले मोटरसाइकल लिएर जानुभएको थियो।
बिरामीलाई भेट्न आतुरीमा रहनुभएका डंगोलले मोटरसाएकल पार्किङ गर्ने ठाउँ भेट्टाउनु भएन। पार्किङमा भद्रगोल तरिकाले राखिएका ४–५ वटा मोटरसाइकललाई मिलाएर आफ्नो मोटरसाइकल राख्नुभयो।
पार्किङ स्थल भएर पनि त्यसलाई व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले समस्या व्यहोर्नु परिरहेको उहाँको ठम्याइ छ।
शिक्षण अस्पतालमा उस्तै
अनिमा विगत ६ महिनादेखि गोदावरीदेखि लगातार शिक्षण अस्पताल महाराजगञ्ज धाइरहनुभएको छ। उहाँकी आमालाई स्तन क्यान्सर भएकाले अहिले किमो चलिरहेको छ। आमालाई उहाँले नै स्कुटरमा राखेर अस्पताल ल्याउने लाने गरिरहनुभएको छ।
उहाँलाई अस्पतालको गेट छिर्नेबित्तिकै पार्किङ खाली छ कि छैन भन्ने पीर पर्छ। जहिले पनि पार्किङकै लागि यताउता भौतारिनुपर्ने पीडा उहाँको छ।
सेवाग्राहीका लागि छुट्याइएका पार्किङमा ठाँउ नभएपछि अस्पताल कम्पाण्उण्ड भित्रका खाली ठाउँमा स्कुटर राख्न उहाँले पाउनुभएन। अस्पताल कर्मचारीका लागि छुट्याइएको भन्दै सुरक्षागार्डले उहाँलाई फर्काउनुभयो। बिरामी आमाको तनावले भौतारिँदै अस्पताल पुग्नुभएकी अनिमालाई पार्किङ समस्याले भाउन्न बनाउँछ।
‘हाम्लाई भनेर छुट्याएको ठाँउमा सुरक्षागार्ड हुँदैनन्, जहाँ मन लाग्यो, जस्तो पायो त्यस्तै अवस्थामा सवारी राखिएका हुन्छन्, त्यही ठाउँमा व्यवस्थित गरेर राखे अन्त भौतारिनु पर्दैन’ अनिमा भन्नुहुन्छ, ‘स्टाफका लागि भनेर राखिएको पार्किङस्थल खाली हुँदा सेवाग्राहीको पुर्जा हेरेर पार्किङ गर्न दिन किन आपत्ति ?’
तनावमा आएका बिरामी र आफन्तलाई सहज बनाउनुका साटो झन् तनाव थपिदिने गरेको उहाँको गुनासो छ। पार्किङका लागि आधा घण्टासम्म भौतारिरहनु भएकी अनिमाको निकै आक्रोश मुद्रामा हुनुहुन्थ्यो।
शिक्षण अस्पतालमा दिनमा ओपिडीमा मात्रै २ हजार बढी बिरामी आउने गर्छन्। अधिकांशले दुईपांग्रे सवारी लिएर आउछन्।
ड्युटीमा रहनुभएका सुरक्षा गार्डको आफ्नै मर्का छ। बिरामी जचाँउने बहानामा बाहिरका मानिसले दिनभर सवारी पार्किङ गरेर जाने सुरक्षा गार्डहरुको गुनासो छ। अमेरिकी दूतावास, राष्ट्रपति भवन क्षेत्रमा कामले आएका आएका व्यक्ति र पसलेहरुसमेत पार्किङलाई आउने गरेको दावी सुरक्षा गार्डहरुको छ।
बाहिर पार्किङको पैसा तिर्नुपर्छ, यहाँ पर्दैन बिरामी भेट्न आएको भन्दै दिनभर सवारी छाडेर जान्छन्’ एक सुरक्षा गार्ड भन्नुहुन्छ।
बिरामी पुर्जा देखाएर वा अस्पतालले नै पासको व्यवस्था गरिदिए सहज हुने ती गार्डको भनाइ छ।
कान्तिमा पनि असुविधा
कान्ति बालअस्पतालको गेट छिर्नेबित्तिकै एउटा पारकिङस्थल छ। साथै क्वाटर भएको भवनको कम्पाण्डभित्र अर्काे पार्किङस्थल छ। अगाडि पट्टीको पार्किङमा एकैपटक ३०० जति मोटरसाइकल, स्कुटर राख्न मिल्ने ठाउँ छ।
क्वाटर जान अलि घुम्नुपर्छ, धेरैलाई क्वार्टर भएतर्फ पनि पार्किङस्थल छ भन्ने पनि थाहा नभएको पाइयो। जेठ २९ गते दिउँसो हामी त्यहाँ पुग्दा सेवाग्राहीहरु अगाडि पार्किङ गर्ने ठाउँको खोजीमा देखिन्थ्यो। यता छैन, बाहिर निस्किएर पानी ट्यांकीको मुनितिर ठाउँ होला, त्यहाँ जानुस् भन्दै सुरक्षा गार्डले निर्देशन दिइरहनु भएको थियो।
कोटेश्वरका खगराज अधिकारीलाई सुरक्षा गार्डले पछाडि पछाडि भनिरहनुभएको थियो। गार्डले उहाँलाई पछाडि पट्टीको पार्किङथलमा जान भनिरहनुभएको थियो। तर खगराज त्यहाँ पार्किङक गर्ने ठाउँ नदेखेर फर्किएको भन्दै हुनुहुन्थ्यो। १० मिनेट कुरेपछि बल्लतल्ल साथ उहाँले पार्किङका लागि ठाउँ पाउनुभयो।
कान्ति बालअस्पतालमा दिनको करिब ८०० बढी बालबालिकाको ओपीडिमा जाँच हुने गरेको छ। भर्ना भएका बालबालिकालाई भेट्न जाने भिजिटरसहित दिनको २ हजारबढी मानिसको आवतजावत हुने गरेको अनुमान अस्पताल प्रशासनको छ।
पार्किङ गर्ने ठाउँ नहुँदा सेवाग्राहीहरु त्यसको रिस त्यहाँ खटिएका सुरक्षा गार्डमाथि पोख्छन्।
अस्पतालमा अपांगमैत्री पार्किङ हुनपर्ने अहिलेको मापदण्ड छ तर वषौँ अगाडि निर्माण गरिएका अस्पताल भवनमा पार्किङको सुविधा छैन।
डाक्टर शुल्क भन्दा पार्किङ शुल्क धेरै
देशकै जेठो अस्पताल वीर अस्पतालमा पनि सेवाग्राहीका लागि पार्किङको समस्या छ। वीर अस्पतालमा ओपीडी जाँचको टिकटका लागि २० रुपैयाँको तिर पुग्छ। पार्किङ गर्ने ठाउँ छैन। मोटरसाइकल लिएर वीरमा आउने सेवाग्राहीले बाहिर सडकमा शुल्क तिरेर पार्किङ गर्नुपर्ने हुन्छ। त्यहाँ घण्टाको २५ रुपैयाँ लाग्छ। वीरमा ओपीडीको टिकट लिएर परीक्षण गराउँदा कम्तिमा पनि ३ घण्टा समय लाग्छ। बाहिर मोटरसाइकल राखेर जानेले जचाएर निस्कँदा ७५, १०० रुपैयाँ तिर्नुपर्छ।
अस्पतालमा भर्ना भएका बिरामी कुर्न आउनेहरुले सवारी लिएर आए भने दिनभर रातभर बस्दा कति तिर्नुपर्ला त्यो त भनिसाध्ये छैन। गाडी पार्किङ गर्ने त कतै ठाउँ नै छैन। वीरको नयाँ भवनमा पार्किङ त छ तर कर्मचारीलाई बाहेक अरुले त्यहाँ छिर्न पाउँदैन। वीरमा कर्मचारीहरुकै सवारी अध्याधिक हुने भएकाले अरुलाई पार्किङको सुविधा दिन सम्भव नहुने पार्किङमा खटिएका सुरक्षा गार्डको भनाइ छ।
राष्ट्रिय ट्रमा सेन्टरमा दिउँसो ४ बजेसम्म अस्पतालका कर्मचारीको बाहेक सवारी पार्किङ गर्न पाइँदैन। ४० वटा जति गाडी त्यहीँका डाक्टर, कर्मचारीकै रहेको अस्पतालले जारी दिएको छ। सेवाग्राहीलाई गाडी पार्किङ गर्न दिन सक्ने अवस्था भने नभएको अस्पतालले जानकारी दिएको छ।
मोटरसाइकलमा आउने सेवाग्राहीलाई भने अवस्था हेरेर पार्किङ गर्न दिने गरेको एक सुरक्षा गार्डले जानकारी दिनुभयो। रगतको डिब्बा बोकेर आएका, वृद्ध-वृद्धा बिरामी लिएर आएका वा आपत्कालीन अवस्था भएकालाई भने पार्किङ गर्न दिने गरेको ती गार्डको भनाइ छ।
दिउँसो ४ बजेपछि भने सेवाग्राहीलाई पार्किङ गर्न रोक लगाइएको छैन ।
तपाईँको अभिमत