मस्तिष्क मृत्युपछि अंगदान : आफन्तलाई मनाउनै गाह्रो, पन्छिन खोन्छन् चिकित्सक पनि
मस्तिष्क मृत्युपछिको अंगलदानमा धेरै चुनौतीहरू रहेको सरोकारवालाले बताएका छन् । शनिबार ललितपुरमा आयोजित मस्तिष्क मृत्युपश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रममा यसबारे चर्चा भएको हो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा मस्तिष्क मृत्यु पछिको अंगदानले गति लिन नसक्नुका कारणबारे छलफल भएको हो ।
कार्यक्रममा काठमाडौं उपत्यका भित्रका विभिन्न अस्पतालका चिकित्सक तथा प्रत्यारोपण विज्ञ सहभागी हुनुहुन्थ्यो । न्यूरो सर्जन तथा अन्य सर्जन, सघन उपचार विशेषज्ञ, फरेन्सिक विशेषज्ञ, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार लगायतको उपस्थितिमा छलफल भएको हो।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपण सर्जन डा.पुकार चन्द्र श्रेष्ठले अंगदानको सवालमा नेपाल निकै पछाडि रहेको सुनाउनुभयो । नेपालमा नियमित रुपमा मिर्गाैला र कलेजो प्रत्यारोपण भइरहे पनि सबैजसो जीवित दाताबाट लिएर प्रत्यारोपण गरिएको डा.पुकारको भनाइ छ।
हालसम्म नेपालमा मस्तिष्क मृत्यु भएका ५ जनाबाट लिएर १० जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण भएको पनि उहाँले जानकारी दिनुभयो।
नेपालमा अंगलदानबारे चेतना नै कम भएको उहाँको भनाइ छ । एकै पटक आएर मृतकका परिवारलाई सम्झाउनु पर्दा समस्या हुने गरेको पनि डा.श्रेष्ठले बताउनुभयो ।
कतिपय अस्पतालमा मस्तिष्क मृत्युपछिको अंगदानमा चिकित्सकले नै सहयोग नगर्ने गरेको गुनासो पनि डा.पुकारको छ । नेपालमा यो अभ्यासमा नआएको र कानुनी झमेला आउने डरले पनि चिकित्सक नै पन्छिन खोज्ने प्रवृत्ति रहेको पनि डा.पुकारले सुनाउनुभयो ।
उहाँका अनुसार नेपालमा हरेक वर्ष सडक दुर्घटनाका कारण करिब ३ हजार जनाको मृत्यु हुने गरेको छ । यसमा करिब १ हजार जनाको मस्तिष्क मृत्यु हुन्छ । तर पनि नेपालमा ८ वर्षमा मस्तिष्क मृत्यु भएका ५ जनाबाट मात्रै अंग प्राप्त हुनु निकै निराशाजनक रहेको डा.पुकार बताउनुहुन्छ।
धार्मिक लगायत विभिन्न कारणले परिवारले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गर्न नचाहने समस्या रहेको उहाँको भनाइ छ ।
मरेपछि खेर जाने अंगले ८ जना व्यक्तिलाई बचाउन सकिने भएपनि अंगदानलाई व्यापकता दिन नसकिएको पनि उहाँको गुनासो छ ।
मस्तिष्क मृत्यु पछि केही घण्टाभित्रै अंग निकालेर प्रत्यारोपण गर्नुपर्ने भएकाले पनि परिवारलाई बुझाएर प्रक्रिया पुर्याएर प्रत्यारोपण गर्नु निकै चुनौती रहेको बारे पनि कार्यक्रममा चर्चा भयो ।
अंगदातालाई सहयोग रकम दिएर प्रोत्साहन गर्नु आवश्यक छकि छैन भन्ने बारेमा पनि छलफल भयो । यसमा प्रहरी प्रशासनको समेत भूमिका हुने भएकाले अंगदान सम्बन्धि कानुनबारे सबै प्रहरीलाई सुसूचित गर्न आवश्यक रहेको कुरा कार्यक्रममा उठ्यो ।
कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरुले दुर्घटनापछि प्रहरी दुर्घटनाका दोषी पत्ता लगाउने लगायतमा केन्द्रीत हुनु पर्ने भएकाले अंगदानको विषयमा चिकित्सकको नै विशेष जोड रहनु पर्ने बताए ।
विभिन्न अस्पतालका चिकित्सकहरुले एक–अर्काेमा समन्वय गरेर अघि बढ्नु पर्ने कुरा कार्यक्रममा उठाएका थिए ।
मुख्य गरी नेपालमा मस्तिष्क मृत्युपछि हुने अंगदानलाई सहज बनाउन अधिकांशलाई यो प्रावधानबारे सुसूििचत गराउने आवश्यक रहेको निष्कर्ष छलफलको थियो। यसलाई अभ्यासका रुपमा स्थापित गर्न सकेमा मस्तिष्क मृत्यु भइसकेपछि आफन्तलाई सबैकुरा आफन्तलाई बुझाइरहनु पर्ने झन्झट नहुने कुरा पनि ठहर पनि छलफलले गरेको छ ।
तपाईँको अभिमत