तपाईँका लागि हामी छौँ, हाम्रा लागि तपाईँ घरमै बस्ने कि ?
आफ्नो मात्रै होइन अरुको पनि ज्यानको विचार गरौँ

पाँच बज्न लागेछ, बाहिर चोकतिर पुगेर फ्रेस भएर आउनुपर्यो । ऊ जुत्ता लगाएर गेट बाहिर निस्कनै लाग्दा भित्रबाट श्रीमती कराउँछिन्,
अँ.. अब पाँच बजेपछि कोरोना सोरोना लाग्दैन । दिनभरी मात्र लाग्ने जस्तो ! तिम्रो कारणले घरमा कोरोना छिर्यो भने.....। कोरोना आफैंले नखोजीकन उडेर घरभित्र आएर आक्रान्त पार्दैन । त्यसैले सचेत हुनुपर्छ । पछि पछुताउनुको कुनै अर्थ छैन । (वास्तविक कुराकानी)
तपाईँका लागि हामी छौँ, हाम्रा लागि तपाईँ घरभित्रै रहनू होला !
लेखक बुद्धिसागरले केही दिनअघि सामाजिक सञ्जालमा लकडाउनको समय सदुपयोगसम्बन्धी केही बूँदाहरु पोष्ट गरेका थिए । पुस्तक पढ्ने, सम्पर्क हुन छाडेका साथीहरुसँग पुनः सम्पर्क गर्ने, फिल्म हेर्ने, घरका कुनाकन्तराका पुकापुन्तुरा खोतल्ने, इत्यादि । उनको पोष्टमा एक जना महिला मित्रको जवाफ थियो—२४ घण्टामा आफ्ना लागि १ घण्टा पनि छुट्याउन नसक्नेले चाहिँ के गर्ने नि !
बन्दाबन्दीको समयमा सरकारले सकेसम्म घरबाहिर ननिस्कन अनुरोध गरेको छ । शरीर रहे अन्य काम त गर्दै गरौँला नि भन्नुपर्ने अवस्था आइसकेको छ ।
तपाईँका लागि हामी छौँ, हाम्रा लागि तपाईँ घरभित्रै रहनू होला ! यो वाक्याशं पछिल्लो समय स्वास्थ्यकर्मीको नारा नै बनेको छ । आफ्नो स्वास्थ्यको परवाह नगरी अहोरात्र बिरामीकै लागि खटिएका स्वास्थ्यकर्मीको मनमा चाहिँ के खेल्दो हो ? हाल देशभरी सयौँको संख्यामा स्वास्थ्यकर्मी नै संक्रमित भएको अवस्था छ ।
संक्रमितले अर्को संक्रमितको स्याहार र उपचारमा खटिनु परेका दृश्य र खबर हामीले देखिरहेका र पढिरहेका छौँ । सबैलाई डर लाग्न थालेको छ । तर केहीलाई डर मात्र लाग्छ । संयम बन्नु परको कुरा ! बिना काम लखर लखर हिड्नेलाई १ महिना जेल र धरौटी तिराएका समाचारहरुमा आइरहेका छन् पनि ।
पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । नयाँ भेरियन्टको कोरोना भाइरस समेत फैलिएपछि सरकारले यसको नियन्त्रण र रोकथामका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग विभिन्न आदेश जारी गरेको छ ।
सिनेमा हल, क्लब तथा पार्टी प्यालेसहरु बन्द गर्ने, सामाजिक तथा सांस्कृतिक चाडपर्व मनाउँदा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने लगायतका छन् । सबैले अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने लगायत जनस्वास्थ्यका दर्जनौँ नियमहरु छन् ।
कोरोनाको दोस्रो लहरमा लपेटिँदै जाँदा पहिले भन्दा बढी युवा तथा बालबालिकालाई संक्रमित गर्दै बिरामी बनाइरहेको छ ।
अन्तर्राष्ट्रिय उडान स्थगित भइसके, अत्यावश्यक सेवा बाहेकका अन्य काम रोकिइसकेका छन् । देशलाई नै स्वास्थ्य संकटकाल लगाउने विषयमाथि पनि छलफल र कुरा चल्न थालिसकेको छ । जबरजस्त नलादिकन अलिअलिमा वास्तै नगर्ने हाम्रो बानीले हामीलाई नै असुरक्षित बनाउँदै छ । छिमेकी देश भारतमा भयावह स्वास्थ्य संकटको अवस्थामा छ । आज आफूलाई सुरक्षित राख्नु चुनौती बनेको छ ।
आफैंलाई बचाउनु भनेको तपाईंको वरपरको अरूको रक्षा गर्नु पनि हो । कोभिड–१९ को पछिल्ला भेरियन्ट झन् घातक बन्दै गइरहेको चिकित्सकहरु बताउँदै आएका छन् । यसको मतलब यो छिटो फैलिन्छ र यसले यसअघिको भारसलेभन्दा गम्भीर संक्रमण पैदा गर्दछ ।
कोरोनाको दोस्रो लहरमा लपेटिँदै जाँदा पहिले भन्दा बढी युवा तथा बालबालिकालाई संक्रमित गर्दै बिरामी बनाइरहेको छ ।
स्वास्थ्य मापदण्डहरू लागू गर्ने काम सरकार र स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी होइन, यो सबैको कर्तव्य हो । कम्तिमा एक मिटर दूरी आफू र अरुबिच कायम राख्ने, घरभित्र हुँदा सकेसम्म आफू र अरू बीचको अझ ठूलो दूरी बनाउने, जति टाढा त्यत्ति राम्रो हो भन्ने कुरा सबैलाई अब सिकाइरहनु नपर्ला ।
महामारीका बेलामा रोगहरु व्यक्तिगत नरहने रहेछन् । मैले मास्क लगाउँदा मलाई होइन, अरुलाई क्षति हुन्छ, अरुले नलगाउँदा मलाई क्षति हुन्छ यो बुझ्नु जरुरी छ । हामी संयमित, अनुशासित भइयो भने क्षति कम हुन सक्छ ।
कोरोनाको यो दोस्रो लहर खतरनाक रहेकाले हाम्रै परिवारको कसैलाई आक्रान्त पार्न सक्छ, कसैको ज्यान जान सक्छ भनि बारम्बार सञ्चार माध्यमले पनि भनिरहेका छन् ।
अहिलेको अवस्थामा हामी कोरोनासँग डराएरभन्दा पनि यसको न्यूनीकरणका लागि ध्यान दिने समय हो । यसका लागि रोकथामका उपाय लागु गर्ने, सामूहिक जमघट सामेल नहुने, मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, स्यनिटाईजरको प्रयोग गर्ने, उचित आहारको साथ शरीरको प्रतिरक्षा प्रणालीको ख्याल गर्नुपर्दछ ।
तपाईँको अभिमत